
१६ मंसिर, काठमाडौं । भक्तपुरमा बीबीएस पढ्दै गरेका दोलखाका २० वर्षीय सुमन कार्कीलाई साथीहरु देखेर राम्रो कपडा लगाउन र मोजमस्तीको जिन्दगी बिताउन मन लाग्यो । तर उनले यसका लागि जुन बाटो अपनाए, त्यसले उनलाई हिरासतमा पुर्याएको छ ।
पैसाको लोभमा उनले जिल्लाको गौरीशंकर गाउँपालिका–१, जुगुमा रहेको हिमचुली बहुउद्देश्यीय सहकारी लुट्ने योजना बनाए । मामा नाता पर्ने सुरक्षागार्ड ६७ वर्षीय पूर्णबहादुर खड्कालाई प्रयोग गर्न खोजे । नसकेपछि उनै खड्कालाई बन्धक बनाएर हत्या गरेको अभियोग कार्कीमाथि छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख धिरजप्रताप सिंहका अनुसार यो योजनामा कार्कीले गाउँकै २७ वर्षीय विक्रम कार्कीलाई पनि सामेल गराएका थिए । दुवैलाई ब्यूरोले बिहीबार पक्राउ गरेको सिंह बताउँछन् ।
जंगलमा बाँधर खोसे सहकारीको चाबी
प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंहका अनुसार १० कात्तिकमा सुमनले साथी बिरामी भएको भन्दै सुरक्षागार्ड पूर्णबहादुरलाई बोलाएका थिए । सामान्य झारफूकको पनि काम गर्ने भएकाले उनले उनलाई बोलाएका थिए । तर साथी भनिएका बिक्रम बिरामी चाहिँ थिएनन् ।
‘सहकारी लुटपाट गर्ने योजना अनुसार उनलाई बोलाइएको थियो’ सिंह भन्छन्, ‘चाबी भाग्दा नदिएपछि जंगलमा लगेर डोरीले उनको हात खुट्टा बँधेर खादाले मुख थुनेर चाबी चोरेर लगिएको पाइएको थियो ।’
प्रहरीले यसको दुई दिनपछि सुरक्षागार्डको शव बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय, दोलखाले गरेको अनुसन्धानका क्रममा उनीहरुले एक लाख ८५ हजार रुपैयाँ लुटपाट गरेको खुलेको थियो ।
प्रहरीका अनुसार लुटपाटपछि उनीहरु घुम्न मुस्ताङ गएको पाइएको छ । ‘चार दिन मुस्ताङ बसेर उनीहरु काठमाडौंमै लुकिरहेका रहेछन्’ सिंहले सुनाए, ‘हालै उनीहरु यहाँ रहेको सूचना पाएपछि खोजी गरेका थियौं र बिहीबार पक्राउ ग¥यौं ।’
दोलखा प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गर्नेछ ।
प्रतिक्रिया 4