२६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणको खेल सकिँदासम्म साविक विजेता मछिन्द्र फुटबल क्लब, साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब र सर्वाधिक ८ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब अपराजित रहे ।
मछिन्द्र र मनाङले ३ जित र १ बराबरीबाट समान १० अंक जोडेको छ । गोल अन्तरमा मछिन्द्र अघि रहँदै शीर्ष स्थानमा छ । यस्तै दुई जित र दुई बराबरीपछि आर्मी ८ अंकसहित तेस्रो स्थानमा छ ।
चौथो चरणको पहिलो खेलमा शुक्रबार मनाङले फ्रेण्ड्सलाई २-० ले हरायो । यस्तै आर्मीले पनि शुक्रबारै च्यासल युथ क्लबलाई समान २-० को स्कोरले हरायो । शनिबार भएको खेलमा साविक विजेता मछिन्द्रले भने हिमालयन शेर्पामाथि ३-० ले प्रभावशाली जित हात पार्यो ।
मनाङले सुरुवाती दुई खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबलाई समान २-० ले पारजित गर्दै दुई जित हात पारेको थियो । तेस्रो खेलमा भने संकटा विरुद्ध अन्तिम समयमा गोल गर्दै २-२ को बराबरी खेल्दै १ अंक जोडेको थियो ।
मनाङका नाइजेरियाली प्रशिक्षक फुजा तोपेले चौथो खेलमा आएर टिम सम्हाले । उनले पहिलो खेलमै जित हात पार्दा खुशी व्यक्त गरे । लिग उपाधिको होडमा रहेको क्लबले अंक गुमाउनु नहुने उनको तर्क छ ।
उता आर्मीले लगातार दोस्रो जित हात पार्दा अग्रपंक्तिका खेलाडीले गोल गरे । जसलाई प्रशिक्षक नवीन न्यौपानेले सकारात्मक रुपमा लिएका छन् । पहिलो हाफमै फरवार्ड जर्ज प्रिन्स कार्की र मिडफिल्डर जगजित श्रेष्ठले गोल गरेपछि आर्मीले जित हात पारेको थियो ।
पहिलो खेलमा नेपाल पुलिस क्लबसंग १-१ को बराबरी खेल्दै लिग सुरु गरेको आर्मीले त्यसयता लगातार तीन खेलमा क्लिनसिट राखेको छ । आर्मीले दोस्रो खेलमा मछिन्द्रसंग गोलरहित बराबरी खेल्दा तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १-० ले पारजित गरेको थियो ।
यस्तै मछिन्द्रले एनआरटीलाई २-१ ले पराजित गर्दै लिग सुरुवात गरेको थियो । दोस्रो खेलमा आर्मीसंग बराबरी खेलेयता मछिन्द्रले पनि लगातार तेस्रो खेलमा गोल खाएको छैन । मछिन्द्रले तेस्रो खेलमा जावलाखेललाई २-० ले हराउँदै फेरि जितमा फर्केको थियो ।
मछिन्द्र र मनाङ धेरै गोल गर्नेमा पनि अघि छ । मछिन्द्रले चार खेलमा ७ गोल गरेको छ भने जम्मा १ गोल मात्र खाएको छ । यस्तै मनाङले पनि ६ गोल गरिसकेको थियो । तीन खेलमा क्लिनसिट राखेको मनाङले संङ्कटा विरुद्ध २ गोल बेहोरेको थियो । आर्मीले भने ४ गोल गर्दा जम्मा १ गोल बेहोरेको छ ।
उपाधिको प्रमुख दाबेदार रहेका मछिन्द्र, मनाङ र आर्मीको प्रभावशाली जितले तीन क्लबलाई शीर्ष तीन स्थानमा पुर्याएको छ । नवप्रवेशी सातदोबाटोको लगातार तीन खेलको अपराजित यात्रा चौथो खेलमा टुङ्गिएपछि चौथो स्थानमा झरेको छ । सातदोबाटो शनिबार एनआरटीसंग १-० ले पराजित हुँदा शीर्ष तीन क्लबलाई फाइदा पुगेको छ ।
पाँचौं स्थानमा रहेको संकटा क्लब र छैटौं स्थानमा रहेको नेपाल पुलिस क्लबको समान ५ अंक छ । यी दुई टोली सोमबार भिड्दैछन् । जित्ने क्लब शीर्ष चारमा पुग्नेछ । मछिन्द्र, मनाङ र आर्मीसंगै संकटा र पुलिस पनि यस सिजन अपराजित छन् ।
एएफसी कप छनोट कसले खेल्ला ?
उपाधिसम्म पुग्नुअघि नै यी तीन क्लबका लागि लिगको मध्यभागमा पनि अर्को अवसर छ । मछिन्द्र, मनाङ र आर्मीसहित एपीएफ फुटबल क्लबले यस पटक एएफसी क्लब लाइसेन्स पाएका छन् ।
२०२२ को एएफसी कपका लागि नेपालबाट यस सिजन चार क्लबले एएफसी क्लब लाइसेन्स पाएका हुन् । चार मध्ये जारी लिगको सातौं चरणसम्म शीर्ष स्थानमा रहने वा धेरै अंक जोड्ने क्लब एएफसी क्लब छनोटका लागि छानिनेछ । जसमा मछिन्द्र, आर्मी र मनाङ त्यो रेसमा अघि रहँदा एपीएफ भने लगातार ३ खेल हार्दै अंकविहीन छ । एपीएफको सम्भावना झिनो रहेकोले बाँकी तीन क्लब भने प्रतिस्पर्धामा छन् ।
अबको तीन चरणको खेलपछि तीन क्लबमध्ये जसले धेरै अंक जोड्छ त्यही क्लबले एएफसी कप छनोट खेल्छ । एएफसी कप छनोट २०२२ फेब्रुअरीमा सुरु हुनेछ । पछिल्लो पटक मछिन्द्रले लिग जितेपनि एएफसी क्लब लाइसेन्स आर्मीले पाएको थियो र एएफसी कप छनोट खेलेको थियो ।
यस पटक नेपालमा लिग ढिला शुरु हुनु र टिमको टिम चाँडै पठाउनुपर्ने भएकोले सातौं चरणको समाप्तिपछि एएफसी क्लब लाइसेन्स पाएकामध्ये धेरै अंक जोड्ने क्लब नै एएफसी कप छनोट खेल्न जाने भएको हो ।
प्रतिक्रिया 4