+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

पाल्पाको निस्दी खोलामा बालुवाको चोरी निकासी बढ्यो

रासस रासस
२०७८ पुष ८ गते १३:३८
फाइल तस्वीर

८ पुस, पाल्पा । जिल्लाका विभिन्न भागमा अवैध रूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो ।

राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्लो महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ ।

स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैधरूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ।

जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले तीन ट्र्याक्टरलाई अवैधरूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो ।

रामपुर नगरपालिका-१ छम्केस्थित निस्दी खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।

निस्दी गाउँपालिका-१ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैधरूपमा थुपारेर राखी गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नंको ट्र्याक्टरलाई पनि प्रहरीले नियन्त्रण लिएको थियो ।

दुवै ट्र्याक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्र्याक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ ।

रामपुर नगरपालिका-१० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैधरूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए ।

नम्बर नखुलेको सो ट्र्याक्टरका चालकलाई हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उनको भनाइ थियो । अवैधरूपमा गिट्टी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेको छैनन् ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि सरकारी संरचना निर्माणमा समेत जथाभावीरूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?