 
																			२६ पुस, काठमाडौं । सोमबार नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसनलाई १६ अर्ब रुपैयाँ भुक्तानी दिदैछ । नेपालले डिजेल, मट्टितेल, पेट्रोल र खाना पकाउने ग्यास किनेपछि रकम तिर्नैपर्ने भएकाले यो सामान्य प्रक्रिया भएको निगमक प्रवक्ता नागेन्द्रप्रसाद साह बताउँछन् । तर यसले नेपाली अर्थतन्त्रमा पार्ने असर सानो छैन ।
लगानी योग्य रकम (तरलता) अभावसँग जुधिरहेका नेपाली बैंकिङ क्षेत्रलाई अहिलेको परिस्थितिमा युद्ध लडिरहेको सिपाहीको गोली खोसिदिएसरह भएको छ । बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल भन्छन्, ‘१६ अर्ब बैंकको निक्षेप घट्दा तरलतामा राम्रै असर गर्छ, यतिबेला अलि असहज अवस्था नै हो ।’ ऋणको अत्यधिक माग भएका बेला बैंकहरुलाई निक्षेप बढाउनुपर्ने बाध्यता छ, तर किनेको सामानको भुक्तानी गर्न बैंकबाट रकम झिकेर भारत पठाउँदा बैंकिङ क्षेत्र थप समस्यामा पर्छ ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो । गत वर्ष यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको थियो । आयातको तुलनामा अत्यन्तै कममात्रै निर्यात हुँदा भुक्तानी सन्तुलन बिग्रिएको छ । चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय अर्थतन्त्रलाई बाह्य क्षेत्रले दबाबमा पारेको बताउँछन् । आइतबार संसदको लेखा समितिमा उनले बढ्दो आयातका कारण अप्ठेरो अवस्था सिर्जना भएको बताए । शोधानान्तर घाटामा जानु पनि आयातको ठूलो भूमिका रहेको गभर्नर अधिकारीले बताएका छन् ।
एक देशले अर्को देशसँग गर्ने मुद्रा कारोबारको स्थिति भुक्तानी सन्तुलन हो । यसलाई शोधनान्तर स्थिति पनि भनिन्छ । आयातमुखी अर्थतन्त्र भएका मुलुकहरुमा शोधानान्तर घाटामा जान्छ । निर्यात धेरै गर्ने मुलुकहरुको भने शोधानान्तर बचतमा हुन्छ ।
चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँ बचतमा थियो । अघिल्लो वर्ष कोरोना महामारीका कारण आयात कम भएकाले शोधानान्तर स्थिति बचतमा थियो । गभर्नर अधिकारी चालु आर्थिक वर्षको पाँच महिनामा घाटा अझ बढ्न सक्ने बताउँछन् ।
‘बढ्दो आयात तत्कालै धेरै घटिहाल्ने अवस्था नरहेकाले भुक्तानी सन्तुलन ट्रयाकमा तत्कालै आइहाल्न सक्ने अवस्था छैन’, गभर्नर अधिकारी भन्छन्, ‘पछिल्ला तथ्यांकहरु हेर्दा पाँच महिनामा यो बढ्न सक्ने देखिएको छ ।’
भुक्तानी सन्तुलन बिग्रनुका कारण
पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भुक्तानी सन्तुलन दिनप्रतिदिन बिग्रदै गएको बताउँछन् । पछिल्लो २ वर्ष कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रलाई नराम्रो असर गर्यो । कोरोना महामारीको समयमा खासै समस्या नपरेको भुक्तानी सन्तुलन महामारीपछि धेरै बिग्रिएको पूर्व गभर्नर क्षेत्री बताउँछन् ।
अहिले भुक्तानी सन्ुतलन बिग्रनुको अपजस राज्यलाई मात्रै लगाउन नमिल्ने उनको भनाइ छ । व्यापार व्यवसाय गर्नेहरुकै कारण पनि भुक्तानी सन्तुलन बिग्रिएको उनी बताउँछन् । ‘कोभिड पछि सबैले आफ्नो उद्योग–व्यवसाय धेरै चलाउन सक्यौं भने बढी कमाउन सकिन्छ भन्ने सोच्न थालियो’ उनले भने, ‘व्यवसाय धेरै राम्रो चलाउने भन्दै आयातमा बढी नै केन्द्रित भएको हामीले पायौं । आयात गरेर गरिने व्यापारमा बढी केन्द्रित हुँदा भुक्तानी सन्तुलन बिग्रियो ।’
अहिले भुक्तानी सन्तुलन बिग्रनुको कारण वैध ढंगबाट हुने आयातमात्रै नभएर अवैध ढंगबाट भइरहेको कारोबारको पनि असर रहेको पूर्व गभर्नर क्षेत्रीको भनाइ छ । ‘वैध ढंगबाट प्रतितपत्र खोलेर ल्याउने कुरा एकातिर रह्यो, अर्को तर्फ अवैधको भूमिका उस्तै छ’ उनी भन्छन्, ‘अब त रेमिट्यान्स पनि सुनको रुपमा आउन थाल्यो, अवैध सुन समातिएका खबरहरु हामीले सुनिरहेका छौं ।’
यसरी आएका सुन भारततर्फ तस्करी हुने गरेको छ । सुन खरिदका लागि करौडौ रुपैयाँ नदेखिने गरी आउने गरेकोले यो पनि समस्याको विषय रहेको उनी बताउँछन् ।
अवैध कारोबारले भुक्तानी सन्तुलन बिगार्नमा राम्रै भूमिका खेलेको छ । कारबाही गर्ने निकायहरुले भने यसतर्फ चासो नदिएको पूर्वगभर्नर क्षेत्री बताउँछन् । हेर्ने निकायहरु स्वार्थ केन्द्रित भएको उनको आरोप छ ।
‘मोटरसाइकलको ट्यांकीभित्रै ५० लाख बोकेको समाचार पनि आइरहेको छ, अवैध कारोबार कसरी भइरहेको छ भनेर हेर्न टाढा जानै पर्दैन नि’ उनले भने, ‘यसरी अवैध रुपमा भइरहेका कारोबारहरु वैध ढंगले आउने हो भने शोधानान्तर बचतमा जानसक्ने थियो ।’
बढ्दो आयातका कारण भुक्तानी सन्तुलन सही ट्रयाकमा आइहाल्ने सम्भावना तत्कालै नरहेको उनले बताए । चाँडो सही ट्रयाकमा ल्याउन कानून कार्यान्वयमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
‘नैतिक र अनैतिक के हो भनेर हेक्का राख्ने र राख्न लगाउने, अवैध आयातलाई निरुत्साहित गर्ने र निर्यातलाई जोडबल गर्ने’ उनले भने, ‘यति कुरामा ध्यान दिने हो भने भुक्तानी सन्तुलन सुधार आउँछ ।’
यस्ता विषयमा जनता पनि जिम्मेवार हुनुपर्ने पूर्वगभर्नर क्षेत्री बताउँछन् । ‘एक दिनमा ३ सय मेगावाट भन्दा बढी विद्युत् भारतबाट आयात गरेर बजारमा छोडेका छौं, विद्युत छ भन्दैमा रातभरमात्रै होइन विहान घाम लाग्दा समेत बत्ती बाल्छन्’ उनले भने, ‘मेरो के जान्छ र ? गए राज्यको जान्छ भन्ने सोच हटाएर आयात निरुत्साहित गर्नुपर्छ ।’
‘आयात निरुत्साहित गर्नुको विकल्प छैन’
उद्योगी पवनकुमार गोल्यान सरकारले समयमा नै आयातमा कडाइ गरेको भए अहिलेको जस्तो अवस्था भोग्नुनपर्ने बताउँछन् । ढिलै भएपनि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ यसले सकारात्मक असर गर्ने उनले बताए । अहिले अर्थतन्त्रलाई असर गर्ने मुख्य विषय भनेको नै आयात भएको उनले बताए ।
आयात निरुत्साहित गर्ने र आन्तरिक उत्पादन बढाउनेतर्फ सबैले ध्यान दिने हो भने अर्थतन्त्र ट्रयाकमा आउने नत्र झन् समस्यामा फस्ने उनको भनाइ छ ।
‘आयात ठप्पै पार्न त सम्भव हुदैन, तर व्यापार र उद्योगका फरक नीति चाहिन्छ’ अनलाइनखबरसँग उनले भनेका छन्, ‘पहिले व्यापारलाई ब्याजदर १७ प्रतिशत हुँदा उद्योगलाई १३ प्रतिशत थियो । त्यो नीति फेरि ल्याउनुपर्छ ।’
भारतबाट एक लाख वा २ लाखभन्दा बढीको आयात हुने सामानको लागि एलसीबाहेकका अरु आयात हुन बन्द हुनुपर्ने उनको धारणा छ । ‘यसले राजस्व पनि बढ्छ, तरकारी फलफूलहरु आयात बन्द हुन्छ र हाम्रो उत्पादन बढ्छ’ गोल्यानले भने, ‘बेलैमा समाधान गरिएन भने समस्या झन् बढेर अझ गाह्रो पर्छ ।’
राष्ट्र बैंकको तथ्यांकले पनि पछिल्लो समय बैंकको लगानी उपभोग (कन्जम्प्सन) मा धेरै भएको देखाउँछ । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाह आयात बढिरहँदा कन्जम्प्सनमा धेरै ऋण लगानी भएको बताउँछन् ।
‘उत्पादनमूलक क्षेत्रलाई तन्दुरुस्त भएर उठ्न समय लाग्छ’ उनले भने, ‘सरकार र राष्ट्र बैंकले चालेका पछिल्ला कदमहरु ठीक छन्, यसले अर्थतन्त्रलाई उकास्छ ।’
आयातको अत्यास–१
आयातको अत्यास–२
आयातको अत्यास–३
आयातको अत्यास–४
आयातको अत्यास–५
आयातको अत्यास–६
 
                









 
                     
                                     
                                 
 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4