२९ पुस, काठमाडौं । विभागीय टोली एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार गण्डकी प्रदेशमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ ।
समूह बी अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ९३ रनको लक्ष्य पछ्याएको गण्डकीलाई एपीएफले ९० रनमै रोक्दै जित निकालेको हो ।
९३ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ९० रन बनाउन सक्यो ।
लगातार तेस्रो जितपछि ६ अंक जोडेको एपीएफ सेमिफाइनल नजिक पुगेको छ । गण्डकीको भने तीन खेलमा यो दोस्रो हार हो । गण्डकीका लागि कप्तान विपिन खत्रीले सर्वाधिक ३६ र र विधान श्रेष्ठले २९ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । एपीएफका कमल ऐरीले ३ तथा किशोर महतोले २ विकेट लिए । अविनाश बोहराले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ १८.४ ओभरमा ९२ रनमै अलआउट भएको थियो । एपीएफका लागि प्रदिप ऐरीले १७ र आसिफ शेखले १६ रन बनाए । दिपक बोहराले १५ रन जोडे ।
गण्डकीका कमल परियारले सर्वाधिक ३ र विशाल पौडेलले २ विकेट लिए । यस्तै कृष्ण पौडेल, सुवाश भण्डारी र चन्द्र पौडेलले १/१ विकेट लिए ।
प्रतिक्रिया 4