+
+

एजेन्ट परीक्षामा भन्सार विभागको गोलमाल !

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ माघ ७ गते १६:०३

७ पुस, काठमाडौं । शुक्रबार भन्सार विभागले फैलिँदो कोरोना संक्रमणलाई मध्यनजर गर्दै भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको जानकारी दियो । तर, अचम्म चाहिँ के छ भने भन्सार विभागले भन्सार एजेन्ट लिखित परीक्षाको मिति र समय नै किटान गरेको थिएन ।

झण्डै ९ हजार आवेदकहरु अहिले परीक्षा मिति र समय कुरेर बसेका छन् । गत वर्ष चैतमा आवेदन दिएका उनीहरुले एक वर्षसम्म पनि परीक्षा नगराएको भन्दै पुस ११ गते विभाग परिसरमा धर्ना दिएका थिए ।

परीक्षाबारे कुनै सार्वजनिक सूचना नै नदिएको विभागले परीक्षा स्थगन गरेको सूचना प्रकाशित गरेको एक परीक्षार्थीले बताइन् । भन्सार विभाग जसरी पनि यो परीक्षा नगराउन लागिपरेको र यसमा महानिर्देशक पुराना एजेन्टको प्रलोभनमा परेको ती परीक्षार्थीको आरोप छ ।

‘साढे ९ हजार जना परीक्षा कुरेर बसेका छन्, हामीले धर्ना दिंदा पनि परीक्षाबारे केही नबोलेको विभाग एक्कासी परीक्षा स्थगनको सूचना दिन्छ,’ ती परीक्षार्थी थप्छिन, ‘२०६७ सालमा पनि पुराना एजेन्टको दबावमा परीक्षा नै भएन, यस पटक पनि विभागा र त्यहाँको नेतृत्व प्रलोभनमा पर्‍यो कि ।’

बाहाना खोज्दै परीक्षा स्थन गर्न अर्थ मन्त्रालय र विभाग लागेको आरोप परीक्षार्थीहरुको आरोप छ । परीक्षा सञ्चालन गर्न सकिने समयमा चुपचाप बस्ने र बहाना पाउने वित्तिकै रोक्न हतारिने प्रवृत्ति गलत भएको ती परीक्षार्थीले बताए । परीक्षा मिति र समय नै नतोकी के को आधारमा स्थगनको सूचना आयो भन्नेमा परीक्षार्थीहरु नै अन्योलमा छन् ।

सूचनामा किर्ते !

भन्सार एजेन्टको २९ माघमा हुन लागेको परीक्षा स्थगन भएको शुक्रबारको गोरखापत्र र विभागको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ । तर, परीक्षा मिति तोकिएको सूचना कुनै अभिलेखमा पाइन्न । परीक्षा नगराउने होकि भन्दै विभागमाथि आंशका गरिरहेका परीक्षार्थीलाई बल पुग्ने गरी बिहीबार विभागले सूचना निकालेको छ ।

शुक्रबार परीक्षा स्थगनको सूचना निकाल्न विभागले बिहीबार साँझ आफ्नो वेबसाइटमा माघ २९ को परीक्षा मिति र सेन्टरसहितको सूचना प्रकाशित गरेको थियो । तर, राति नै सो सूचना अभिलेखबाट हटाइएको छ ।

अनलाइनखबरलाई प्राप्त उक्त सूचनामा ‘माघ ७’ को मिति छ । जबकी सूचना सार्वजनिक भएको दिन माघ ६ गते थियो । परीक्षा मिति र सेन्टरबारे शुक्रबार वेबसाइटमा राखिएको सूचना हटाएर विभागले शुक्रबार परीक्षा स्थगनको नयाँ सूचना सार्वजनिक गरेको हो ।

बिहीबार प्रकाशित सूचनाबारे अहिले विभाग औपचारिक रुपमा बोलेको छैन । ‘किर्ते गरेर भोलिपल्टको मितिमा सूचना निकाल्नु, त्यो सूचना लुकाउनु र फेरि स्थगनको सूचना हाल्नुले हाम्रो आंशका थप बलियो भएको छ,’ एक परीक्षार्थीले अनलाइनखबरसँग भने ।

विभागले भने सूचनामा कुनै किर्ते नभएको दाबी गरेको छ । विभागको परीक्षा समितिले तयारी सकेको तर, लोकसेवाको परीक्षा पनि कोरोनाका कारण रोकिएकाले रोक्नु परेको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले दाबी गरे ।

‘लोकसेवाको सहयोगमा गर्ने गरी परीक्षाको सबै तयारी सकिएको थियो, लोकसेवाकै सबै परीक्षा रोकिए पछि हामीले पनि स्थगन गर्‍यौं,’ महानिर्देशक सापकोटाले थपे, ‘परीक्षा सूचना सम्बन्धमा भने विभागबाट गल्ती भयो झुक्किएर सूचना बाहिरिएछ, परीक्षा नगर्ने कुनै नियत छैन ।’ कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै परीक्षा सञ्चालन गरिने पनि उनले बताए ।

परीक्षा नहुने आंशका

वैदेशिक व्यापारको ग्राफ २० वर्षमा कयौं गुृणाले बढे पनि त्यो वस्तुको जाँचपासको चाँजोपाँजो मिलाउने भन्सार एजेन्टको संख्या २० वर्ष देखि थपिएको छैन । अहिले देशभर अनुमति प्राप्त १६९ मात्रै भन्सार एजेन्ट छन् ।

२०६७ सालमा खुलाइएको आवेदन पनि परीक्षा नै नगरी टारिएको थियो । यसपटक पनि एजेन्ट लाइसेन्सको परीक्षा रोक्न पुराना एजेन्ट लागेको आशंका परीक्षार्थीहरुको छ ।

भन्सार एजेन्टको परीक्षा भाँड्न लागि एजेन्टहरुले परीक्षा रोक्न सार्वेच्चमा रिट हालेका थिए । नयाँ एजेन्टको परीक्षामा आफूहरुलाई सहभागी हुनबाट बञ्चित गराइएको भन्दै परीक्षा रोक्न रिटमार्फत माग गरेका थिए । तर, सर्वोच्चमा रिट हालेकाहरु नै परीक्षामा सहभागी हुन आवेदन फारम भरेको लिखित प्रमाण भेटिएपछि त्यो प्रयास तुहिएको थियो ।

तीन हजार रुपैयाँसहित आवेदन भरेका ९ हजार बढी आवेदकले जसरी पनि परीक्षा गराउन दबाव दिँदै हिंडेका छन् । जेठमा कोभिडका कारण परीक्षा रोकिएपछि विभागले गत साउनमै परीक्षा गर्ने तयारी गरेको थियो । तर, परीक्षाका लागि अझै पनि बाहानाबाजी खोजिएको उनीहरुको आरोप छ ।

१६९ जनाको संख्यामा रहेका पुराना भन्सार एजेन्टले मासिक एक करोडसम्म आम्दानी गर्छन्, थप ६६० भन्सार एजेन्टले लाइसेन्स पाउन लागेकाले विभिन्न नाममा बखेडा झिक्न खोजिएको आशंका परीक्षर्थीहरुलाई छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?