+
+

एउटै गाउँमा सवा करोडभन्दा बढीको सुन्तला उत्पादन

रासस रासस
२०७८ माघ १२ गते १६:३९

१२ माघ, स्याङ्जा । यहाँको एउटै गाउँबाट यसपटक एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका-७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।

सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरूको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरू दुईवटा समूहमा आबद्ध छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् ।

समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट १७ लाख आम्दानी गरेका छन् । ‘गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै हुनुहुन्छ,’ उनले भने, ‘६/७ जनाले चार लाखदेखि १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।’

भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गरेका थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौं र नारायणगढ बजारमा खपत भएको हो ।

यहाँका अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट रु नौ लाख आम्दानी गरेका छन् । उहाँहरूजस्तै व्यावसायिक किसानहरूले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै यहाँ सुन्तला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउन किसानहरू आकर्षित भएका छन् ।

सुन्तलाका नयाँ बोट लगाउने र बगैँचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ-७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुन्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?