१५ फागुन, काठमाडाैं । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा विधान बिपरितका मतदाता राखिएको भन्दै संघका पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् ।
संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधान बिपरित चयन भएका १ हजार बढि मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि बढाउन नहुने बताएका छन् ।
घले संघले हालै गठन गरेको विवाद समाधान उच्चस्तरीय समितिका संयोजकसमेत हुन् । मतदाता सूचीका बिषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो ।
विवाद समाधान उच्चस्तरीय समितिले कुल ३ हजार ६ सय मतदातामध्ये करिव एक हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो । झण्डै एक हजार मतदाताको वैधानिकतामाथि प्रश्न उठिरहेको बेला संघको अन्तराष्ट्रिय समन्वय परिषद्ले समितिको प्रतिबेदन आउनु अगाडि नै एकतर्फी रुपमा निर्वाचन तालिका प्रकाशन गरेको थियो ।
निर्वाचन समितिले जारी गरेको दावी बिरोधको सूचनामा जवाफ लेख्दै पूर्व अध्यक्ष घलेले परिमार्जित सूचीअनुसार मात्र निर्वाचन अगाडि बढ्न सक्ने उल्लेख गरेका छन् ।
३ हजार ६ सय जना मतदाता कायम गर्ने संघको निणर्यको वैधानिकता पुष्टि हुन नसक्ने भन्दै उनले विवाद समाधान उच्चस्तरीय समितिले सचिवालयमा उपलब्ध तथ्यका आधारमा तय गरेको परिमार्जित सूचीअनुसार चुनाव हुनुपर्ने बताएका छन् ।
संस्थापन पक्षले बिधान बितपरित एकपक्षीय रुपमा मतादाता छनौट गरी अन्याय गरेको भन्दै असन्तुष्ट समूहले निर्वाचन प्रकृया बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ । अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायत बहुसंख्यक देशका गैरआवासीय नेपाली संघले एनआरएनए नेतृत्वबाट अन्याय भएको भन्दै बिरोध जनाउँदै आएका छन् । विवाद बाहिर आएसँगै परराष्ट्र मन्त्रालयले निष्पक्षरुपमा निर्वाचन गर्न लिखित निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया 4