युक्रेनलाई रुससँगको युद्धमा सहयोग गर्नका लागि अहिलेसम्म अज्ञात दाताहरूले झण्डै पौने दुई अर्ब रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी सहयोग गरेका छन् ।
क्रिप्टोकरेन्सी विशेषज्ञहरूका अनुसार युक्रेनलाई अहिलेसम्म अज्ञात बिटक्वाइन दानको माध्यमबाट कम्तिमा एक करोड ३७ लाख अमेरिकी डलर रकम प्राप्त भएको छ ।
ब्लकचेन विश्लेषण कम्पनी एलिस्टिकका शोधकर्ताहरूका अनुसार युक्रेनको सरकार, त्यहाँ कार्यरत गैरसरकारी संगठन तथा स्वयंसेवक समूहहरूले आफ्नो बिटक्वाइन वालेटको अनलाइन प्रचारका माध्यमबाट सहयोग जुटाइरहेका छन् ।
शोधकर्ताका अनुसार हालसम्म ४ हजार भन्दा धेरै मानिसहरूले युक्रेनलाई रुसविरुद्धको युद्धमा सहयोग गर्न दान गरिसकेका छन् । एकजना दाता एक्लैले एउटा गैरसरकारी संस्थामार्फत् ३० लाख डलर मूल्य बराबरको बिटक्वाइन दान गरेका छन् । दाताहरुले औसतमा ९५ डलर प्रतिव्यक्ति बिटक्वाइन सहयोग गरेका छन् ।
शनिबार दिउँसो युक्रेन सरकारले आफ्नो आधिकारिक सरकारी ट्वीटर अकाउन्टमा एक सन्देश जारी गर्दै युक्रेनका जनताहरूलाई साथ दिन अपिल गर्दै सरकारले क्रिप्टोकरेन्सीमा समेत दान स्विकार गरिरहेको भन्दै बिटक्वाइन, इथेरियम तथा अमेरिकी डलरमा दान दिन आग्रह गरेको थियो ।
सरकारले दुईवटा क्रिप्टोकरेन्सी वालेटको ठेगाना बताएकोमा ५४ लाख डलरभन्दा धेरै चन्दा आइसकेको छ । आठ घण्टाभित्रैमा बिटक्वाइन, इथेरियम तथा अन्य क्रिप्टोकरेन्सीमा उक्त चन्दा युक्रेनलाई प्राप्त भएको हो ।
युक्रेनको डिजिटल मन्त्रालयका अनुसार उक्त दान युक्रेनको प्रतिरोध अभियानमा सहयोग गर्नका लागि हो । यद्यपि उक्त रकमको प्रयोग कसरी गर्ने भन्ने विषयमा मन्त्रालयले बताएको छैन ।
एलिप्टिकका संस्थापक टम रोबिन्सनका अनुसार कतिपय क्राउड फन्डिंग प्लाटर्फम तथा पेमेन्ट कम्पनीहरूले युक्रेनको समर्थन गर्ने समूहहरूका लागि दान गर्नेहरूलाई रोकिदिएका छन् । त्यस्तो अवस्थामा बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सी नै युक्रेनका लागि दान प्राप्त गर्ने ससक्त माध्यम बनेको छ ।
शुक्रबार मात्र पैसा जुटाउने प्लाटर्फम पेट्रियोनले कम ब्याक अलाइभ अभियानको फण्डलाई रोक्का गरेको घोषणा गरेको थियो । युक्रेनको उक्त गैर सरकारी संस्थाले सन् २०१४ देखि युक्रेनको सैन्यबलका लागि कोष जम्मा गर्ने ग्रेको छ ।
तर पेट्रियोनमा आफ्नो विज्ञप्तीमा आफ्नो प्लाटर्फमको प्रयोग सैन्य गतिविधिहरुका लागि कोष जुटाउनका लागि गर्न नदिने बताएको छ ।
संसारभर चलिरहेका संघर्षमा त्रिप्टोकरेन्सी सहयोग जुटाउने एक लोकप्रिय माध्यम बनिरहेको छ । उता स्क्याम गर्ने गिरोहहरूले समेत युक्रेनको विद्यमान संकटको फाइदा उठाउने कोसिस गरिरहेका छन् र आफ्नो डिजिटल वालेटमा रकम सहयोग गर्न मानिसहरुलाई उक्साइरहेका छन् ।
बीबीसी
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4