
१० चैत, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति आक्रामक बनेका छन् ।
बिहीवार पर्साको वीरगञ्जमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले यादवप्रति कटाक्ष गर्दै मधेसवाद र मधेसी जनताको नाममा सिँढी चढेर सत्तामा रमाउने गरेको र मधेसको मुद्दा छोड्ने गरेको आरोप लगाए ।
‘जनताले देखिरहेको छ, बुझिरहेको छ, मधेसी जनलाई श्री बनाउने, साधन बनाउने, अनि मधेसवाद छैन, मधेस छैन, यो चाहीँ सुहाएन । बेइमानी भयो । यो गर्नुहुँदैन,’ महतोले भने, ‘हिजोसम्म म मधेशवादी भनेर उफ्रि उफ्रि भाषण गर्ने, आज मधेशवाद थाहै छैन भन्ने । मधेशवाद थाहा छैन भन्नुको मतलव मधेश थाहा छैन भन्नु हो ।’
वरिष्ठ नेता महतोले मधेसमा विभिन्न तहमा समस्यामा परेका जनतालाई हक अधिकार दिलाउन पार्टी लड्दै गरेकाले हकअधिकारका मुख्य एजेण्डा रहेको पनि बताए ।
मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न फेरि आन्दोलन गर्नुपर्ने
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनमा उठाइएको मुद्दा पुरा गर्न फेरि आन्दोलन गर्नुपर्ने बताए ।
मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै ऐतिहासिक रुपमा स्थापित गराउन सकिए पनि पूरा हुन नसकेको बताए । उनले मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको पनि स्पष्ट पारे ।
अध्यक्ष ठाकुरले विभिन्न किसिमको मुद्दामा लगाईएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्न नेताहरुलाई निर्देशन दिए ।
‘मधेस आन्दोलनमा पीडित भएकाहरुको मुद्दा, मधेस आन्दोलनकै कारण ऐतिहासिक रुपमा बहिर्गमनमा परेको छ, मधेस आन्दोलनमा उठाइएको केही मुद्दा सम्बोधन भएको र केही हुन बाँकी रहेकाले संषर्घ गर्नुपरेको छ,’ उनले भने, ‘विभिन्न किसिमको मुद्दामा लगाइएका नेताहरु अहिले अदालतमा तारिखमा, थुनुवा र कार्यकर्ताहरु जेलमा रहेकाले अब उनीहरुलाई छोड्ने गरी संषर्घ गर्नुपर्छ ।’
प्रतिक्रिया 4