+
+

टी-२० श्रृंखलाको उपाधि : नेपाली युवा टिमको सुखद नतिजा

नमिता दाहाल नमिता दाहाल
२०७८ चैत २१ गते २०:१३

२१ चैत, काठमाडौं । नेपालले घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पारेको छ । र त्यो उपाधि हात पार्ने टोलीमा अधिकांश युवा छन् ।

अनुभवी र सिनियर खेलाडी नरहेको टिमले पनि ५ खेलमा अविजित रहँदै उपाधि उचाल्यो ।

कोरोना महामारीका कारण रोकिएको खेलकुद पुन सुरु भएपछि घरेलु मैदानमा पहिलो उपाधि उचाल्न पाएका कप्तान सन्दीपको सुखद सुरुवातको रुपमा यसलाई लिइएको छ ।

यो उपाधि नेपाली क्रिकेट भविष्यको राम्रो सुरुवात रहेको कप्तान लामिछाने तथा प्रशिक्षक पुबुदु दशनायकेले बताए । ‘नेपाली क्रिकेटले राम्रो दिशा लिँदै छ । यो एउटा सुरुवात मात्र हो’, प्रशिक्षक दशनायकेले भने।

कप्तान सन्दीपले यो उपाधिलाई नेपाली क्रिकेटको भविश्यमा आउने सफलताको प्रतिक भनेका छन् । ‘पूरै प्रतियोगिता राम्रो खेल्यौं भविष्यको सफलताको यो  राम्रो सुरुवात हो’,
खेलपछिको पत्रकार सम्मेलनमा उनले भने ।

सबै खेलाडीले मन लगाएर खेलेको कारण यो सम्भव भएको उनले बताए ।  ‘मैले मात्रै गरेर केही भएको होइन सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेकाले सहज भयो’, उनले भने ।

युवा टोलीको भविष्य

नेपालको अहिलेको टोली नयाँ छ । युवा पुस्ताले भरिपूर्ण यो टिमको भविष्य उज्वल रहेको  प्रशिक्षक दशनायकेले बताए ।

‘यो युवा टिम निकै मेहनती र लगनशील छ’, उनले भने ‘यो टिमको भविष्य  निकै नै उज्ज्वल छ, नयाँ  खेलाडी तर प्रदर्शन उत्कृष्ट रह्यो ।’

उनले देव खनाल र आदिल अन्सारीले कम उमेरमा निकै परिपक्व खेल प्रदर्शन गरेको बताए । उनले भने, ‘यी दुई खेलाडीले भविष्यमा नेपाली  क्रिकेटलाई धेरै माथि लैजान्छन् ।’

दिपेन्द्रको अलराउन्ड प्रदर्शन

त्रिकोणात्मक टी-२० श्रृंखलामा नेपाली ब्याटर दिपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनको निकै तारिफ भयो  ।

समर्थकको हुटिङ, कप्तान र प्रशिक्षकले गरेको तारिफले उनको अलराउन्ड प्रदर्शनको मुल्यांकन देखिन्थ्यो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गरेका उनी १ हजार रन पूरा गर्ने पहिलो खेलाडी पनि बने ।

श्रृंखलामा २५५ रन बनाएका उनले ७ विकेट लिएका उनलाई प्रशिक्षक दशनायकेले  ‘म्याच विनर’ को संज्ञा दिए ।

‘ नेपाली क्रिकेट टिममा दिपेन्द्र एकदमै महत्त्वपूर्ण खेलाडी हो’, उनले भने, ‘उसले यो श्रृंखलामा गरेको अलराउन्ड प्रदर्शन एकदमै सह्रानीय छ । दिपेन्द्रलाई कुन खेल कसरी खेल्ने राम्रोसँग थाहा छ ।’

कप्तान सन्दीप दिपेन्द्रको प्रदर्शनले नै उपाधि उचाल्न सकेको बताउँछन् । उले भने, ‘दिपेन्द्रको खेलले गर्दा आजको खेल हाम्रो हातमा आयो । करण र दिपेन्द्रको इनिङ्स् निकै भाग्यशाली सावित भयो ।’

उपाधि नेपाली समर्थकमा समर्पित

प्रशिक्षक दशनायकेले घरेलु मैदानमा जित हात पारेपछि, उपाधि समर्थकलाई समर्पित गरेका छन् । उनले जित पछिको पत्रकार सम्मेलनमा भने, ‘ हाम्रो राम्रो नराम्रोमा जहिले पनि हामीलाई साथ दिन आउने नेपाली समर्थकलाई यो उपाधि समर्पित गर्न चाहन्छु ।’

खेलको बेला हजारौंको संख्यामा आएका समर्थकलाई उनले विशेष धन्यवाद स्वरूप उपाधि समर्पित गरेका हुन् ।

उनले ओमानमा भएको विश्वकप छनोटको खेलबाट धेरै कुरा  सिकेर यो प्रतियोगितामा जित हात पारेको  बताए । विश्वकपाा छनोट हुन नसकेर निराश समर्थकलाई यो उपहार रहेको उनले बताए ।

खराब पिचका कारण कम रन

पिच बिग्रेकाले धेरै ठूलो लक्ष्यको आश भने कप्तान तथा प्रशिक्षक दुवैले राखेका थिएनन् ।

कप्तान सन्दीप लामिछानेले आफूहरुले १५० देखि १६० सम्मको रनको अपेक्षा गरेको बताए । ‘विकेट ड्राइ थियो  जसका कारण धेरै  रनको आशा हामीले राखेका थिएनौं’,  उनले भने, ‘१६० को टार्गेट पाएपछि हामीले यो रक्षा गर्न सक्छौ भन्ने भयो ।’

यसका साथै प्रशिक्षक पुबुदु दशनायकेले पनि अन्य दिनमा जस्तो धेरै रनको आश गरेका थिएनन् । लगातारको  खेलका कारण पिच बिग्रेकाले रन धेरै नबनेको उनले बताए ।

एद्यपी उनले अहिलेको  नेपाली मैदान र पिचलाई  २०१४ तिरको भन्दा धेरै राम्रो रहेको बताए । उनले भने, ‘अहिलेको पिचमा एकदमै सुधार भएको छ । यसले नेपाली क्रिकेटलाई अझ सहयोग गर्नेछ  ।’

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?