
३० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व अध्यक्ष कमल थापाले नेकपा एमालेसँग गरेको गठबन्धनको सहमतिलाई एमालेमा बिलय हुने प्रक्रियाको सुरुवात भएको टिप्पणी गरेका छन् ।
‘एमालेमा जाने पूर्व सहमति हो यो,’ लिङ्देनले अनलाइनखबरसँग भने, ‘एउटै चिह्न लिएर लडेपछि त्यो एमालेकै मान्छे हुन्छ नि । एमालेको चुनाव चिह्न लिएर उहाँ एमालेमा विलय हुने प्रक्रियामा जानुभयो । यसले राप्रपालाई नोक्सानी भन्दा फाइदा गरेको छ ।’
बुधबार नेकपा एमाले र थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तहको चुनावमा गठबन्धन गर्ने र एमालेकै चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको थियो ।
लिङ्देनले आफूहरुले भने अन्य दलसँगको तालमेललाई प्राथमिकतामा नराखेको बताए । ‘हामीले तालमेललाई प्राथमिकता राखेका छैनौं,’ उनले भने, ‘कुनै राजनीतिक दलले पनि हामीसँग कुरा गरेको छैन । हामी आफैं अघि सरेर कुरा गर्ने पक्षमा छैनौं ।’
यद्यपि सम्मानजनक प्रस्ताव आएमा भने स्थानीय कमिटीले तालमेलको निर्णय गर्न सक्ने लिङ्देन बताउँछन् । ‘स्थानीय तहमा साथीहरुले आवश्यकता अनुसार, हाम्रो इज्जत अनुसारको भयो भने गर्नुहोला तर हामीले तालमेलको कुनै रणनीति बनाएका छैनौं,’ उनले भने ।
स्थानीय चुनावमा आफूहरुले राम्रो गर्ने दाबी लिङ्देनको छ । ‘स्थानीय चुनावमा हामी राम्रो गर्छौं, त्यसमा कुनै शंका छैन,’ उनले भने, ‘तर, हामी पहिलो, दोस्रो हुन्छौं भन्ने खालको गफ हाँक्दैनौं ।’
प्रतिक्रिया 4