
२५ वैशाख, चितवन । चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ । एमाले उम्मेदवार दानबहादुर गुरूङ र सत्ता गठबन्धनबाट कांग्रेसकी गीता गुरूङमध्ये गाउँपालिकाको अध्यक्ष को बन्ला भन्ने व्यग्रता इच्छाकामनामा छ । यहाँ सत्ता गठबन्धनबाट उपाध्यक्षमा माओवादीका प्रताप गुरूङ उपाध्यक्ष उम्मेदवार छन्, एमालेबाट माया सिलवाल उपाध्यक्ष उठेकी छन् ।
एमालेबाट उम्मेदवार बनेका दानबहादुर शिक्षक हुन् भने गीता यसअघि गाउँपालिका अध्यक्ष बनेर दोस्रो इनिङको सुरुवात गर्ने तयारीका लागि उम्मेदवार बनेकी छिन् । दुवै गुरुङ समुदायका भएकाले यहाँको निर्वाचन रोचक बन्ने अनुमान छ ।
मुग्लिन, कुरिनटार र फिस्लिङजस्ता बढी मतदाता भएको पृथ्वी राजमार्गको क्षेत्र यही गाउँपालिकामा पर्दछ । ७ वटा वडा रहेको गाउँपालिकामा वडा नं. ४ र ५ बजार क्षेत्रमा पर्दछ । बाँकी वडाहरु ग्रामिण भेगमा छन् ।
कसले जित्ला चुनाव ?
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो । त्यति बेला कांग्रेस एक्लै चुनाव लडेको थियो । अहिले कांग्रेसलाई गठबन्धनका अन्य दलको साथ छ भने एमाले एक्लै प्रतिस्पर्धामा छ ।
२०७४ को चुनावमा गाउँपालिका अध्यक्षमा कांग्रेेसबाट उम्मेदवार बनेकी गीता गुरूङले ३ हजार २५४ मत ल्याएर जित निकालेकी थिइन् । एमालेबाट उम्मेदवार बनेका नारायणप्रसाद अधिकारी ३ हजार ६१ मतसहित दोस्रो भएका थिए । वडा नं. १ देखि ६ सम्मको गणनामा अगाडि रहेका अधिकारी वडा नं. ७ को गणनामा पछाडि परेर हार व्यहोरेका थिए ।
माओवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका प्रताप गुरूङले २ हजार ३९९ मत ल्याएका थिए । २०७४ मा अध्यक्ष उम्मेदवार बनिसकेका प्रताप गुरूङ अहिले सत्ता गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनेका छन् ।
७ वडा रहेको गाउँपालिकामा अघिल्लो चुनावमा एमालेले वडा नं. १, २ र ६ गरी तीनवटा वडा जित्यो भने, कांग्रेसले वडा नं. ४, ५ र ७ जित्यो । माओवादी केन्द्रले वडा नं. ३ जित्यो । गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिकामा ११ हजार ६ सय ५४ मतदाता रहेका थिए । यसपटक४ हजार मतदाता संख्या बढेर १५ हजार ६ सय ३४ पुगेको छ । पुरुष मतदाताको संख्या ८ हजार २ सय ४२ र महिला मतदाताको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । बढेको मतदाता निणर्ायक मानिएको छ ।
अघिल्लो चुनावको मतपरिणाम जोड्दा गठबन्धन सहज अवस्था छ तर त्यही भित्रको अन्तद्वन्द्वबाट मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने रणनीतिमा एमाले देखिन्छ । एमालेले भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकामा सर्वसम्मत उम्मेदवार चयन गरेको थियो । एमालेमा उम्मेदवारका विषयलाई लिएर कुनै विवाद देखिएन तर कांग्रेस भित्र भने असन्तुष्टि छ ।
कांग्रेसलाई बागीको डर
कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष जितेका कृतिकुमार श्रेष्ठ अध्यक्षको उम्मेदवार बन्न चाहन्थे तर अन्तिम समयमा गीता गुरूङले नै टिकट पाइन् । गीतालाई फेरि पनि टिकट दिइएको भन्दै श्रेष्ठ असन्तुष्ट छन् । गठबन्धनको नीति अनुसार जसले जहाँ जितेको छ उसले त्यहाँ लिने सहमति अनुसार कांग्रेसले नै उपाध्यक्ष पाउनुपर्नेमा माओवादीलाई दिइएको भन्दै इच्छाकामना कांग्रेस नेता कार्यकर्ता असन्तुष्ट छन् । गाउँपालिका अध्यक्षमा विक्रम श्रेष्ठले कांग्रेसबाट बागी उम्मेदवारी दिएका छन् ।
वडा नं. ५ मा पनि कांग्रेसका बागी उम्मेदवार छन् । माओवादीले अन्तिमसम्म पनि अध्यक्ष पाउनुपर्ने भन्दै दाबी नछाडेका कारण जिल्ला गठवन्धनमा यो विषय टुंगो लाग्न पनि समस्या भएको थियो । उपाध्यक्षको टिकट नपाएर कांग्रेसले दुखाएको चित्त बुझाउन वडा बाँडफाँटमा केही बढी कांग्रेसको भागमा पारिएको छ । काग्रेसले वडा नं. ४, ५, ६ र ७ नम्बर र माओवादी केन्द्रले १, २ र ३ नम्बर वडाको अध्यक्ष पाउने गरी भागबण्डा गरिएको छ ।
इच्छाकामना जातीय रुपमा चेपाङ जातिको बहुल्य क्षेत्र हो । चेपाङ पछि गुरूङ जातिको प्रभाव छ । गाउँपालिकाका अध्यक्षमा गठबन्धन र एमाले दुवैले गुरूङ उम्मेदवार नै उठाएकाले मत बाँडिने अवस्था छ । अर्कोतिर बजार क्षेत्रको मत कता बढी जान्छ उसैले जित्ने सम्भावना रहन्छ । मुग्लिन, कुरिनटार र फिस्लिङ जस्ता बजार क्षेत्रमा बढी मतदाता छन् ।
को हुन गीता र दानबहादुर ?
इच्छाकामना गाउँपालिका ३ घर भएकी गीता गुरूङ यसअघि गाउँपालिका अध्यक्ष भएर पाँच वर्ष काम गरिसकेकी छिन् । उनी कांग्रेसको क्रियाशील महिला नेतृको रूपमा परिचित छन् ।
कांग्रेस महासमिति सदस्य रहेकी गीता राजनीतिमा आउनुअघि शिक्षक थिइन् । उनले फिस्लिङमा रहेको विद्यालयमा पढाउँथिन् । अघिल्लो पटकको स्थानीय तहको निर्वाचन आउनु अगाडि शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा आएकी हुन् ।
सरकारी विद्यालयलाई अंग्रेजी माध्यममा लैजाने, युवाहरुलाई गाउँपालिकामा नै रोजगारीको अवसर दिलाउने, अधुरा विकास निर्माणका कामलाई पूर्णता दिने, किसानको आर्थिक र सामाजिक अवस्थालाई उचाइमा पुर्याउने जस्ता नारा गीताले चुनावका दिएकी छन् ।
एमालेबाट उम्मेदवार बनेका दानबहादुर गुरूङ इच्छाकामना गाउँपालिका ६ का बासिन्दा हुन् । राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक दानबहादुर सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी छँदा पदबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।
एउटा विद्यालयको प्राध्यानाध्यापक मात्रै हुनुभन्दा गाउँपालिकाका सबै विद्यालयको समेत अवस्था सुधार्न जरुरी ठानेर उनले शिक्षण पेशाबाट राजीनामा दिएको उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन चितवन जिल्ला अध्यक्ष भैसकेका दानबहादुरले इच्छाकामना-६ स्थित राष्ट्रिय आधारभूत विद्यालय पैरेनीमा २०५२ सालबाट पढाउन थालेका थिए । अहिले उनी एमाले इच्छाकामना गाउँपालिकाका इन्चार्ज पनि हुन् ।
गुरूङले गाउँपालिकाको अध्यक्षमा विजयी भए गरिबीको रेखामुनि रहेका चेपाङ, दलित समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याउने, सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने, इच्छाकामनाका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने, सडक सञ्जालको विस्तार गर्नेलगायतका योजना रहेको बताए ।
इच्छाकामनाका ग्रामीण क्षेत्रका सडकको अवस्था दयनीय रहेकाले ती सडकको स्तरोन्नति गर्ने, भौतिक पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।
प्रतिक्रिया 4