
२७ जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीलाई अफ्ठ्यारो पार्ने नियत नभएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पूर्वका उद्योगी, व्यवसायीसँगकाे भेटमा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताए । ‘बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन,’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन, सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’
आम महिला वर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि उनले जानकारी गराए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनले बताए ।
बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उनले प्रष्ट पारे । ‘बजेट तपाईंहरु (व्यवसायी)का लागि पनि हो, देशका लागि पनि हो,’ अर्थमन्त्री शर्माले भने, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका छौं ।’
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घ्यूतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राखेका थिए ।
प्रतिक्रिया 4