 
																			२२ असार, विराटनगर । प्रदेश १ प्रदेश सभाको अन्तिम तथा दसौं अधिवेशनबाट बजेट पारित भएपछि दलहरू नामकरणको गृहकार्यमा जुटेका छन् । सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चित कालका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । दलहरुलाई नामका विषयमा छलफलका लागि उनले बजेट पारितपछि बैठकको मिति नतोकेका हुन् ।
अन्तिम अधिवेशनबाट नाम राख्ने गृहकार्यमा जुटेका दलहरु पहिचान की भूगोलका आधारमा अगाडि बढ्ने भन्ने टुङ्गोमा पुगेका छैनन् ।
नेकपा एमाले भूगोललाई आधार मान्नुपर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पहिचान जोड्नुपर्ने पक्षमा छ । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला कांग्रेस पहिचान र भूगोल दुवै पक्ष स्वीकार गर्ने बताउँछन् ।
नामका लागि सहजीकरण गर्ने बताउँदै उनले भने, ‘हामी कुनै अडानमा छैनौं, जुनसुकै नाममा भएपनि सहमति गर्ने पक्षमा छौं, यही अधिवेशनबाट नाम टुङ्गो लगाउने पक्षमा छौं ।’
असार २४ गतेबाट नामका विषयमा थप छलफल हुने उनको भनाइ छ । ‘असार २४ गते सरकारले बनाएको कार्यालयले बैठक बोलाएको छ, त्यहाँ नामका विषयहरु आउँछन्,’ उनले भने, ‘हामी सबैसँग सर्वसहमतिको वातावरण बनाउने पक्षमा छौं ।’
पहिचान र भूगोलका आधारमा नाम राख्नुपर्ने भन्दै दुई खाले मत बाहिर आएको बताउँदै उनले कांग्रेसले सहमतिको बिन्दु खोजिरहेको बताए ।
नेकपा एमाले प्रदेश १ का सांसद तथा पूर्वमन्त्री हिक्मत कार्की आफ्नो पार्टी सहमतिका आधारमा नभए मतदानबाट नाम टुङ्गो लगाउनुपर्ने पक्षमा रहेको बताउँछन् । नेकपा एमाले भूगोललाई आधार मानेर नाम राख्नुपर्ने पक्षमा रहेको उनले बताए । ‘भूगोल पनि पहिचान र सभ्यतासँग जोडिएको छ,’ उनले भने, ‘एमाले सबै विषयमा छलफल गर्न खुला छ ।’
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्तापक्ष र प्रतिपक्षबीच चालु अधिवेशनबाटै नाम टुङ्गो लगाउने सहमति भएको बताउँछन् ।
‘विगतमा पक्ष प्रतिपक्ष टाढा जस्तो भएर राम्रोसँग छलफल हुन सकेको थिएन्,’ उनले भने, ‘अब चाहिं छलफलको बातावरण बनेको छ, यही अधिवेशनबाट नाम टुङ्गो लगाउने साझा सहमति छ ।’
पार्टीको आधरणहरु आ-आफ्नो भएको बताउँदै उनी सबै दलबीच मध्यमार्गीबाटोमा जानुपर्ने बताउँछन् । आफ्नो पार्टी भूगोल र पहिचानलाई जोडेर नाम राख्नेपक्षमा रहेको बताउँछन् ।
सगरमाथाको च्याप्टर क्लोज
प्रदेश १ मा कोसी, सगरमाथा, कोसी किराँत, विराट, लिम्बूवान, विजयपुरलगायत नाम चर्चामा छन् । ती मध्ये भूगोलको पक्षमा रहेको नेकपा एमालेले कोसीलाई प्राथमिकता दिएको छ । सगरमाथाको नाम चर्चामा पछिल्लो समय सेलाएको छ ।
‘सगरमाथा अन्तर्राष्ट्रिय पहिचान हो, यसको आधारमा प्रदेशको नामकरण गर्न उपयुक्त हुन्न्,’ एमालेका एक सांसदले भने, ‘भोलि प्रदेशको नक्साङ्कन हेरफेर हुँदा सगरमाथा प्रदेश १ मा नरहन सक्छ ।’
एमाले नेता कार्की पनि नक्साङ्कन हेरफेर हुँदा सगरमाथा प्रदेश १ मा नपर्ने अवस्था आउन सक्ने बताउँछन् ।
प्रदेश १ मा रहेको सगरमाथा रहेको जिल्ला सोलुखुम्बुबाट प्रदेश १ को राजधानी विराटनगर आउँदा मधेश प्रदेशको बाटो प्रयोग गर्नुपर्ने अवस्था छ ।
‘भोलि सिमाङ्कन हेरफेर हुनसक्ने भएकाले सगरमाथा उपयुक्त होइन्,’ ती नेताले भने,’हाम्रो जोडबल कोशी राख्नुपर्ने पक्षमा छ ।’
एमाले नेता कार्की कोशी नदीले प्रदेश १ को १२ वटा जिल्ला छुने र किराँतको पहिचान पनि जोडिएकाले कोशी नाम उपयुक्त नाम हुने बताउँछन् । ‘हामीले औपचारिक निर्णय गरेको छैन, आन्तरिक छलफलमा नामहरु आइरहेका छन्,’ उनले भने, ‘सहमति भएन भने छलफल गरेर एउटा नाम प्रस्ताव गर्छाै ।’
प्रदेश १ ले २०७६ वैशाख २३ गते प्रदेशको स्थायी राजधानी पाएको थियो । तत्कालिन समयमा पहिचान की भूगोलका आधारमा नाम राख्ने भन्ने विषयमा विवाद भएपछि नामाङ्कनको मुद्दा थाती राखियो ।
९० जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग एक-एक सांसद छन् । नामका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4