+
+

२७ वर्षपछि लगानी विस्तार गर्दै होटल क्लब हिमालय

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन ९ गते ८:४०

९ साउन, काठमाडौं । भक्तपुरको नगरकोटमा २७ वर्षदेखि सञ्चालनमा रहेको होटल क्लब हिमालयले लगानी बिस्तार गर्ने भएको छ ।

अहिले कुल ७१ कोठामा १ सय शैय्याको होटल चलाइरहेको व्यवस्थापनले होटलमा २० करोड रुपैयाँ थप लगानीको योजना बनाएको छ । सो प्रयोजनका लागि कम्पनीले तयारी पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस भएको छ ।

उक्त प्रतिवेदन अनुसार होटल क्लब हिमालयले अब ४८ वटा कोठा थप गर्दैछ । ती कोठामा ९० शैय्या रहने छन् । लगानी बिस्तारपछि होटलको क्षमता ११९ कोठा र १९० शैय्या बराबरको हुने छ ।

होटल क्लब हिमालयमा अहिले कूल ४ वटा भवनको संरचना रहेको छ । होटलले थप दुई भवनमा ती कोठा र शैय्या बिस्तार गर्न लागेको हो । होटलले अहिले हेलिप्याडका रुपमा प्रयोग गरिरहेको खाली जग्गामा भवन निर्माण गरी कोठा र शैय्या थप गर्न लागेको हो । होटलमा थप हुन लागेका दुई भवन तीन/तीन तलाका हुने छन् ।

क्लब हिमालय नगरकोटको पहिलो होटल हो । २०५२ सालमा स्थापना भएको यो होटलमा स्पा, स्विमिङ पुल, ज्याकुजीजस्ता सुविधा छन् ।

होटल २६ रोपनी जग्गामा फैलिएको छ । जसमध्ये १७.७ प्रतिशत जग्गामा संरचना बन्नेछन् । त्यसबाट बचेकोमध्ये २०.३ प्रतिशतमा पार्किङ, ४५ प्रतिशतमा हरियाली र १७ प्रतिशत खुला क्षेत्रका रुपमा रहने प्रतिवेदनमा उल्लेख छ ।

अहिले १४ जना महिलासहित ५० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको होटलले थप लगानीपछि कूल ९० जनालाई प्रत्यक्ष रोजगारी दिन थाल्ने प्रतिवेदनले देखाएको छ ।

नेपालकै पुरानो पर्यटकीय क्षेत्र भएको र अहिले यस क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको भन्दै प्रतिवेदनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय पाहुनालाई गुणस्तरीय सुविधा दिने उद्देश्यले लगानी थप गर्न लागिएको उल्लेख छ । यसले होटेल आसपास बसोबास गर्नेहरुलाई समेत फाइदा पुग्ने प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत स्वीकृतिका लागि वन मन्त्रालयमा पेस भएको छ ।

यो होटलबाट दैनिक १५० किलो कुहिने फोहोर उत्पादन हुन्छ । जसलाई कम्पोष्ट मल बनाएर होटलको बगैंचामा प्रयोग गर्ने गरिएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?