२९ साउन, विराटनगर । भारत निकासी भइसकेको अवस्थामा फर्काइएको आठ ट्रक सुपारीको विवाद उच्च अदालत पुगेको छ ।
सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरे ट्रक छुटाउन अन्तरिम आदेश माग गर्दै उच्च अदालत पुगेका हुन् । उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
विराटनगर भन्सार हुँदै जोगवनी नाका पार भएको आठ ट्रक सुपारी भारतीय प्रहरीको सहयोगमा साउन ५ गते मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो । साउन ८ गते प्रहरीले ट्रकसहित सुपारी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो ।
भारतको जोगवनी भन्सार कार्यालयले लगाएको शिल राजश्व अनुसन्धान कार्यालयले खोल्न सकेको छैन । सुपारीसहितको आठ वटा ट्रकको शिल के गर्ने भन्ने अन्योल भइरहेका बेला अदालतले जोगवनी भन्सार कार्यालय भारतबाट लागेको शिल पनि नतोड्न पनि आदेश दिएको छ ।
अदालतले दुवै पक्षलाई साउन ३१ गते छलफलका लागि बोलाएको छ ।
‘यसमा अन्तरिम आदेशसमेत माग गरेतर्फ विचार गर्दा, यस सम्बन्धमा दुवै पक्षलाई छलफलमा राखेर उचित निष्कर्षमा पुग्न मनासिब हुने देखिएकाले साउन ३१ गते अन्तरिम आदेश छलफलका लागि उपस्थित हुन विपक्षीहरूलाई जानकारी दिई नियमानुसार पेस गर्नू’ न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार गरेको आदेशमा भनिएको छ, ‘साथै उक्त अवधिसम्म निवेदनमा उल्लेखित ८ वटा ट्रकमा जोगबनी भन्सार कार्यालय भारतबाट लागेका सिलबन्दीलाई यथास्थितिमा राख्नू ।’
राजस्वमा बुझाएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरको भारतीय ट्रकमा दुई लाख १९ हजार पाँच सय ९६ किलो सुपारी रहेको मोरङ प्रहरीले जनाएको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीमा राखिएको सुपारी फिर्ताका लागि भन्सार कार्यालय जोगवनीले ताकेता गरिरहेको छ । आधिकारिक पत्र भने नआएको कार्यालय स्रोतले बताएको छ । अर्के देशको भन्सारले लगाएको शिल भएका कारण अहिले शिल खोल्न नसकिएको कार्यालयको भनाइ छ ।
अनुसन्धान कार्यालयमा ट्रक थन्किएपछि विराटनगर– ९ को मनकामना ट्रेडर्सका सञ्चालक घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै साउन २६ गते उच्च अदालतमा रिट दायर गरेका थिए ।
मनकामना ट्रेडर्सका सञ्चालक घिमिरे सुपारी कारोबारी दीपक पोखरेलका सालो हुन् । पोखरेलको समूहले इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई नेपालमा उत्पादन गरिएको प्रमाणपत्र तयार गरेर भारत पठाएको स्रोतको दाबी छ ।
सौर्य एयरलाइन्सका अध्यक्षसमेत रहेका पोखरेल गत पुसमा वायुसेवाका कर्मचारीबाट ५० लाख रुपैयाँ बरामद भएपछि विवादमा परेका थिए । विराटनगर विमानस्थलबाट चाउचाउको कार्टुनमा हालेर काठमाडौं पठाएको ५० लाख रुपैयाँ काठमाडौं विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4