+
+

चितवनमा प्रचण्डको दौडधुप : घर सर्नेदेखि कार्यकर्ता फकाउनेसम्म

सुवास पण्डित सुवास पण्डित
२०७९ असोज ९ गते २२:०३

९ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलि दिन बस्ने गरी चितवन आएका छन् ।लामो समयदेखि बिरामी रहेकी श्रीमती सीता दाहाललाई समेत लिएर सडकमार्ग हुँदै प्रचण्ड चितवन आएका उनी अन्य केही दिन जिल्लामा बस्ने योजनामा छन् ।

४ मंसिरको चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका प्रचण्डको यसपटकको कार्यतालिका असन्तुष्ट कार्यकर्ता फकाउनेदेखि शिवनगरमा बनेको घरमा सर्नेसम्म छ ।

पाँचपटकसम्म माओवादी केन्द्रको चितवन जिल्ला अध्यक्ष भइसकेका जिल्ला सहइन्चार्ज यमबहादुर परियारसहितका नेता कार्यकर्ता ३० भदौमा नेकपा एमाले प्रवेश गरेपछि प्रचण्ड दबावमा छन् । परियारको पहलकदमीमा अन्य माओवादी नेता कार्यकर्तालाई पनि एमाले प्रवेश गराउने तयारी भएसँगै प्रचण्डले जिल्लाका असन्तुष्ट नेता कार्यकर्तालाई थामथुम पार्ने प्रयास थालेका छन् ।

आइतबार विहान भरतपुरको एक पार्टी प्यालेसमा आयोजित तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाहरुको भेलालाई प्रचण्डले सम्बोधन गरे ।

दिउँसो जिल्ला पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रचण्डले विभिन्न पार्टी तथा क्षेत्रका व्यक्तिहरूलाई पार्टी प्रवेश गराए । चितवनमा अहिले नमूना विकासको काम भइरहेको दाबी गरेका उनले विकास र सम्वृद्धिको मोडल चितवनमा स्थापित गर्ने बताए ।

प्रचण्डले जिल्लाका मस्त्य व्यवसायीहरुले प्रचण्डलाई भेटे । भारतबाट विषादि राखेर भन्सार छलेर माछा ल्याउँदा आफूहरुलाई मर्का परेको भनेर मस्त्य व्यवसायीहरुले प्रचण्डलाई ज्ञापन बुझाए । नेपाल मत्स्य व्यवसायी चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले जनताको स्वास्थ्य र स्वदेशी उत्पादनमा असर गर्ने गरी माछा आएको भन्दै यसलाई रोक्न गम्भिरतापूर्वक लाग्न अनुरोध गरे ।

प्रचण्डले पनि गठबन्धन सरकारमा यो कुरा राखेर चाँडोभन्दा चाँडो सम्बोधन गर्ने वातावरण सिर्जना गर्ने आश्वासन दिए ।

दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहेका प्रचण्ड साँझ ६ बजे नारायणगढको इन्द्रदेव हलमा दलबलसहित प्रर्दशनमा आइरहेको चलचित्र ‘प्रेम गीत ३’ हेर्न पुगे ।

पुरै समय बसेर चलचित्र हेरेका प्रचण्डले चलचित्रको कथावस्तु र छायांकन राम्रो रहेको बताए । नेपाली चलचित्रको बजारलाई विस्तार गर्न तथा नेपालको पर्यटन क्षेत्रमा समेत टेवा दिन चलचित्र सफल हुने विश्वास ब्यक्त गरे ।

प्रचण्डले जिल्लाका कांग्रेसका नेतासँग भने भेटघाट गरेका छैनन् । कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालले प्रचण्ड चितवन आएको कुरा थाहा पाएको, तर अहिलेसम्म भेटघाट गर्ने तय नभएको बताए । ‘भोलि प्रेस सेन्टरको कार्यक्रममा बोलाएका छन् त्यहाँ भेट होला’, सभापति खनालले भने, ‘उहाँको आफ्नै पार्टीको काममा आउँदा हामीले धेरै चासो दिने कुरा पनि भएन ।’

भोलि विहान घर सर्ने

२०७४ को चुनावमा भरतपुर महानगरपालिका वडा नं. १४ शिवनगरमा घर भाडामा लिएर केही महिना बसेका प्रचण्डले त्यही वडामा घर बनाएका छन् । शिवनगरमा रहेको प्रचण्ड टोल नजिकै बनेको घरमा सोमबार ११ बजेतिर सर्ने तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

पत्नी सीता दाहाललाई पनि सोही घरमा केही दिन राख्ने सोचमा प्रचण्ड रहेको स्रोतले जनाएको छ । ‘महत्वपूर्ण बैठकहरु नभए आमासँगै नयाँ घरमा बस्नुहुन्छ’ पारिवारिक स्रोतले भन्यो, ‘काठमाडौं जानै पर्ने भए, आमालाई यहीँ छाडेर जानुहुन्छ, केही दिन पछि आउनुहुन्छ ।’

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?