+

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

२०७९ कात्तिक  ४ गते १२:३१ २०७९ कात्तिक ४ गते १२:३१
छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

अनुहारलाई कसरी सफा, चमकदार र मुलायम बनाउने ? कसरी आँखीभौंलाई चिरिच्याट्ट मिलाउने ? कसरी ओठलाई रसिलो बनाउने ? कसरी कपाललाई सुहाउँदो बनाउने ? यिनै खोजहरुले सौन्दर्य प्रसाधनको बजारलाई सधैं चलायमान बनाइरहन्छ ।

रुपरंगप्रति महिलाहरु थप सजग छन् । उनीहरु आफूलाई सकेसम्म आकर्षक देखाउने प्रयत्नमा हुन्छन् । उनीहरु अनुहार, कपालको स्याहारका लागि कुनै झन्झट मान्दैनन् । सौन्दर्य प्रसाधनका लागि खर्च गर्न कञ्जुस गर्दैनन् । यसैले त आज सौन्दर्य प्रसाधनको बजार फैलिंदो छ ।

तर सौन्दर्य प्रसाधनले वास्तवमै कसैलाई सुन्दर बनाउँछ ? अनुहारको चाउरीपन हटाउन, दागधब्बा लुकाउन, चायापोतो हटाउन दिगो र प्रभावकारी भूमिका खेल्छ ?

सौन्दर्य प्रसाधनको प्रभाव

कस्मेटिक उत्पादनले छालाको चाउरीपन, चाया पोतो दाग हटाउन सकिंदैन । किनकि छालाको चाउरीपन चाया पोतो र दाग विभिन्न कारणले आएको हुन्छ । यसको एउटा मात्र कारण हुँदैन । प्रत्येक व्यक्तिमा यो समस्याको कारण छुट्टै हुने भएकोले सबैमा कस्मेटिक उत्पादनले यस्ता समस्या हटाउन सक्दैन । यस्ता उपाय दिगो पनि हुँदैन ।

कुनै प्रकारको क्रिम प्रयोग गरेर सौन्दर्य बढ्ने छालाको प्रकार नै परिवर्तन हुने कालो मान्छे गोरो हुने होइन । छालाको रंग र छालाको बनावट वंशानुगत रूपमा नै तय हुने कुरा हो । तर मोइस्चराइजर, सनस्क्रिन जस्ता क्रिमको प्रयोग गरेर छालालाई बचाउन र छालाको स्वास्थ्यलाई राम्रो बनाउन भने सकिन्छ ।

स्किन केयर रुटिन

पछिल्लो समय यस्ता क्लिनिक नै सञ्चालनमा छन्, जसले सुन्दरताका लागि उपचारात्मक विधि अपनाउने गरेका छन् । उनीहरुले स्किन केयर रुटिन बनाइदिने गरेका छन् । छालाको सौन्दर्यको लागि यो प्रभावकारी हो ।

किनकि आफ्नो छाला कस्तो प्रकारको छ यसको लागि कस्तो खालको केयर गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । त्यसैले विशेषज्ञको सल्लाह लिएर स्किन केयर रुटिन अपनाउँदा छालाको सौन्दर्य भन्दा पनि छालाको स्वास्थ्य राम्रो हुन्छ । स्किन केयर गरेको मान्छे र नगरेको मान्छेको छालामा केही न केही फरक पक्कै हुन्छ ।

कुनै पनि व्यक्तिलाई सन एलर्जी हुन्छ भने औषधिको प्रयोग गर्दा यो कम हुन्छ । तर सन प्रोटेक्सन गरेन भने एलर्जी बारम्बार हुन्छ । त्यसैले एलर्जी कम गर्न सनप्रोटेक्सन क्रिम लगाउन सकिन्छ ।

अनुहारमा चाउरीपनको कारण 

अनुहारमा चाउरी पर्ने केही भित्री कारणले हुन्छ भने केही बाहिरी । भित्री कारण भनेको एउटा जेनेटिक र अर्को उमेर हो । चाउरीपनको बाहिरी कारण सूर्यको किरण हो । घाममा  काम गर्ने र अनुहारमा घामको किरण डाइरेक्ट पर्ने मान्छेमा छिटो चाउरी पर्छ, जसलाई ‘फोटो एजिङ’ भनिन्छ । भित्री कारणको लागि त खासै केही उपचार हुँदैन ।

एउटा निश्चित उमेरदेखि राम्ररी सनप्रोटेक्सन ग¥यो भने त्यो फोटो एजिङ हुने सम्भावनालाई कम गर्न सकिन्छ । अहिले चाउरीपनको उपचारको रूपमा ‘बुटोक्स’ पनि प्रचलनमा छ ।

चायापोतो हटाउने दिगो विधि छैन

अनुहारमा आउने चायापोतो, दाग आदि हटाउने दिगो तरिका त खासै केही पनि छैन । त्यसलाई केही कम गर्ने औषधि भए पनि पूरै निको पार्ने दिगो तरिका छैन ।

सौन्दर्य प्रसाधनले अनुहार बिगार्न सक्छ

अहिले बजारमा विभिन्न प्रकारका सौन्दर्य प्रसाधन उपलब्ध छन् । केही त नाम नै राम्ररी उल्लेख नगरिएका पनि छन् । त्यस्ता सौन्दर्य प्रसाधनको प्रयोगले अनुहारको चमक बढाउने भन्दा पनि अनुहारको छालालाई नै बिगार्न सक्छ ।

केही सौन्दर्य प्रसाधनले भने अनुहारको चमक बढाउन, मुलायम बनाउन भन्दा पनि भएको चमकलाई कायम राख्न र त्यसलाई बिग्रिनबाट बचाउँछ ।

अनुहारको समस्या

अनुहारमा देखिने मुख्य समस्या डन्डीफोर, चाउरीपन, चायापोतो, दाग र एलर्जी आदि हुन् ।

यी समस्या हुने मुख्य कारण जेनेटिक नै हो । धेरै समस्या उमेर हर्मोनल कारणले पनि देखा पर्छन् । छालाको राम्रो सरसफाइ नगर्ने, धेरै सूर्यको किरण र धुँवाधुलोको सम्पर्कमा आउने र छालाको हेरचाह नगर्ने कारण पनि यस्ता समस्या देखा पर्छन् ।

समाधान के ?

अनुहारमा देखापर्ने विभिन्न समस्याको कारण फरक-फरक हुने भएकाले । यसको समाधानको उपाय पनि फरक–फरक नै हुन्छ । चाउरीपनको उपचार बुटक्स भएजस्तै केही समस्याको समाधान लेजर, औषधिको सेवन तथा मलमको प्रयोगबाट पनि हुन्छ ।

(डा. लामासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

अनुहार सौन्दर्य प्रसाधन
लेखक
डा. लैला लामा, वरिष्ठ छालारोग विशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय