
१४ कात्तिक, काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ । काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरे ।
बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।
सूर्योदयकालमा अर्घ दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न गर्ने परम्परा छ ।
व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला-पुरुषले पति-पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर-वधु प्राप्तिको कामनाका लागि गर्छन् ।
छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको थियो । मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।
विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।
वि.सं. २०६३ पछि भने काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पपछि भने रानीपोखरीमा छठ हुन छोडेको छ ।
छठका लागि बागमती किनारका गुह्येश्वरी र थापाथली तथा कमलपोखरी लगायत स्थानमा निर्माण भएको छठ घाटलाई सिँगारिएको छ । धेरै व्रतालु रातभर जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।
प्रतिक्रिया 4