 
																			२९ कात्तिक, उदयपुर । उदयपुर–२ बाट प्रतिनिधि सभामा २ स्वतन्त्रसहित १२ उम्मेदवार छन् । हिजोआज घरदैलोमा रहेका उम्मेदवारले मत माग्न गर्ने वाचा भने उस्तै छन् । लालपूर्जा दिने, सडक बनाउने, नदी नियन्त्रण गर्ने आदि ।
सत्तारुढ गठबन्धनका तर्फबाट यहाँ एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र नेकपा एमालेबाटत अम्बरबहादुर रायमाझी उम्मेदवार छन् । सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा ऐलानी जग्गा हुनेलाई लालपुर्जा दिने, सिद्धिचरण राजमार्गको स्तरोन्नती गर्ने, तावा, ककरु, वैद्यनाथ, सुनकोसी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्ने उल्लेख छ ।
उम्मेदवार खतिवडा आफूहरुले चुनाव जिते अव्यवस्थित बसोबासको समस्या समाधान हुने बताउँछन् । उनी भन्छन्, ‘जसको हातमा लालपुर्जा छैन उसलाई लालपूर्जा दिने गठबन्धनको पहिलो काम हुन्छ ।’
एमालेका उम्मेदवार रायमाझीको पनि यही आश्वासन छ । ‘हाम्रो पार्टीले लालपूर्जा दिने काम नै थालिसकेको थियो तर यो सरकारले काममा बाधा पुर्यायो’, रायमाझी भन्छन्, ‘एमालेको सरकारले सबैलाई लालपूर्जा दिन्छ ।’
कटारी नगरपालिका–३ का मानशेर राई विगतमा निर्वाचनमा पनि यस्ता आश्वासन सुनेको बताउँछन् । भन्छन्, ‘सबैले उस्तै विकास गर्छु भन्छन् तर कहिले गरेका छैनन् ।’
यही क्षेत्रबाट कांग्रेसका पुराना नेता रामकुमार राईले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसका क्षेत्रीय सभापति, कटारी गाविसका पूर्व अध्यक्षसमेत रहेका राईले विगतमा जितेर जानेले केही गर्न नसकेको र आफूले केही गर्ने बताइरहेका छन् ।
‘काम उस्तै हो तर आजसम्म जितेर गएकाले गर्न सकेनन्’, राई भन्छन्, ‘मैले जिते भनें यस क्षेत्रलाई अघि बढाउन विकासका कामहरु गर्छु ।’
आफ्नैबाट चिन्ता
उदयपुर–२ का प्रतिनिधि सभातर्फका मुख्य प्रतिस्पर्धी उम्मेदवारलाई आफ्नै समर्थकबाट धोका हुने चिन्ता छ । गठबन्धनबाट उम्मेदवार बनेका खतिवडालाई कांग्रेसका बागी राईको सँगै माओवादी केन्द्रको पनि मत नआउने हो कि भन्ने चिन्ता छ ।

गएको स्थानीय तहको निर्वाचनमा कटारी नगरपालिकाको मेयरमा माओवादीका बागी उम्मेदवार केपी बराललाई खतिवडाको दल एकीकृत समाजवादीले समर्थन गरेको थियो । यद्यपि मेयरमा कांग्रेसकै उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भए ।
स्थानीय चुनावमा गठबन्धनविरुद्ध उभिएको भन्दै खतिवडाको आलोचनासमेत हुने गरेको छ । तर खतिवडा विगतका कुरा सकिएको भन्दै माओवादीलाई फकाउन लागि परेका छन् । उनी भन्छन्, ‘कतिपय स्थानीय तहको चुनावको व्यवहारले चोट पुगेको होला तर यो सामान्य राजनीतिक धक्कामुक्की मात्रै हो, यसले खेलको नियमलाई परिवर्तन गरेको छैन ।’
२०७४ को चुनावमा एमालेसँग गठबन्धन हुँदा माओवादीले जितेकोले यो क्षेत्रमा माओवादीकै दाबी थियो । माओवादीका निवर्तमान सांसद सुरेश राई आफू नै उम्मेदवार हुने भन्दै मतदाताको घर घरमा पुगेका थिए । तर अन्तिममा यो क्षेत्र एकीकृत समाजवादीले पाएपछि सुरेश राई चुनाव प्रचारमा देखिएका छैनन् ।
एमालेभित्र पनि उम्मेदवारी चयनको विषयलाई लिएर विवाद देखिएको थियो । मनोनयनको अघिल्लो दिनसम्म ज्ञानेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार थालेका थिए । कटारी नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले पनि सामाजिक सञ्जालमा श्रेष्ठलाई भोट मागिसकेका थिए । तर मनोनयनको दिन एमालेबाट अम्बरबहादुर रायमाझीले टिकट पाएपछि श्रेष्ठ समूहले असहयोग गर्ने पो हो कि भन्ने डर एमालेलाई छ ।
श्रेष्ठ अहिले रायमाझीको लागि चुनावी मैदानमा खटिएर कार्यकर्तामा रहेको आशंका हटाउने प्रयासमा छन् । तर रौतामाई गाउँपालिकाका रायमाझीसँग कटारी क्षेत्रमा परिचित नभएको एमालेकै कार्यकर्ताहरु बताउँछन् ।
सबै प्रतिस्पर्धी एउटै लयमा पहाडी भेगका गाउँगाउँमा घरदैलो सकेर अहिले कटारी बजार केन्द्रित भएका छन् । घरदैलोमा पुग्ने, भोट दिन आग्रह गर्ने र आफ्ना एजेण्डा सुनाउने गरेर उम्मेदवारहरु अन्तिममा बढी मतदाता भएका बजारमा केन्द्रित भएका हुन् ।

उदयपुर–२ बाट प्रतिनिधि सभामा राजनीतिक दलका १० जना र स्वतन्त्र २ गरी १२ उम्मेदवार छन् ।
उदयपुर–२ मा ताप्ली, रौतामाई, लिम्चुङ्बुङ, उदयपुृरगढी गाउँपालिका र कटारी नगरपालिका गरी ५ स्थानीय तह छन् । ४८ हजार ७४७ पुरुष र ४४ हजार ६७४ महिला गरी जम्मा ९३ हजार ४२१ मतदाता छन् ।
प्रदेशसभाका एजेण्डा पनि उही
संघीय संसदका प्रत्यासी मात्र होइन, प्रदेश सभाका उम्मेदवारका एजेण्डा पनि उही हुन् । प्रदेश सभा–२ का एमालेका उम्मेदवार जीवनाथ दाहालले घरदैलोमा सम्बोधन गर्दै लालपूर्जा वितरण, सडक, खानेपानी, शिक्षा, स्वास्थ्यलाई नै एजेण्डाका रुपमा प्रस्तुत गरेका छन् ।
‘लालपूर्जा दिने काम त हामीले थालेका थियौं त्यसैलाई निरन्तरता दिन्छौं’, दाहाल भन्छन्, ‘यस क्षेत्रको मुख्य समस्या नै यहि हो यो समाधान गर्नका लागि पनि एमाले सरकारका पुग्नु पर्छ ।’
३० वर्षीय उम्मेदवार दाहालले युवा पुस्तालाई अघि बढाउने, रोजगारी दिने जस्ता युवामैत्री एजेण्डालाई भने अन्य उम्मेदवार भन्दा बढी प्राथमिकतामा राखेका छन् ।
प्रदेश सभामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका रामकुमार खत्रीका एजेण्डा पनि बेरोजगारीको समस्या समाधान गर्ने, जलस्रोत, स्वच्छ खानेपानी, सडक निर्माण नै छन् । उनी भन्छन्, ‘यहाँको विकास गरेर समृद्धि ल्याउन चाहन्छौं ।’
प्रदेश सभाका जनता समाजवादी पार्टीका उम्मेदवार केशवबहादुर मगरको पनि एजेण्डा उही हुन् । उनी भन्छन्, ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्यकै समस्या समाधान गर्नुपर्ने देखिन्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4