 
																			७ मंसिर, वीरगञ्ज । पर्सा–४ मा नेकपा एमालेका जालिम मियाँ मन्सुरलाई हराउँदै नेपाली कांग्रेसका रमेश रिजालले जितेका छन् । मियालाई ५ हजार बढी अन्तरले हराउँदा रिजालले ३१ हजार १४२ मत ल्याए । मिया भने २५ हजार ६१२ मत पाएर निकटतम प्रतिद्वन्द्वीमा सीमित रहे ।
रिजाल सत्ता गठबन्धनका उम्मेदवार थिए भने एमालेका मियाँलाई जनता समाजवादी पार्टी (जसपा) को समर्थन थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले यो क्षेत्रमा जित्नकै लागि माओवादी केन्द्रबाट मियाँलाई पार्टी प्रवेश गराएका थिए । मियालाई एमाले प्रवेश गराउन ८ पुस २०७८ मा ओली जगरनाथपुर पुगेको समाचार चर्चाकै विषय बन्यो ।
माओवादी केन्द्रबाट ०७४ मा जगरनाथपुर गाउँपालिकाको अध्यक्ष जितेका मियाँलाई प्रवेश गराउन दुई वटा हेलिकोप्टरमा ओलीसहित एमाले नेताहरु त्यहाँ पुगेका थिए । मियाले ओलीलाई ५१ किलोको माला लगाइदिएर स्वागत गरेको तस्वीर सामाजिक सञ्जालभर छायो । स्थानीय राजनीतिमा ओलीलाई हेलिकोप्टरबाट जगरनाथपुर लैजान मियाँले नै खर्च व्यहोरेका थिए । ओलीले पनि तिनै मियाँलाई प्रतिनिधिसभा सदस्यको टिकट दिए ।
जिल्ला कमिटीबाट एमाले जिल्ला अध्यक्ष रहेका संविधानसभा सदस्य जयप्रकाश थारु र अर्का नेता खगेन्द्र श्रेष्ठको नाम पनि मियाँसँगै सिफारिस भएको थियो । तर टिकट दिने सर्तमै पार्टी प्रवेश गरेका ७५ वर्षीय मिया उम्मेदवार बने । तराई–मधेशका १४ जिल्लामा जसपासँग तालमेल गर्ने क्रममा यो क्षेत्र एमालेकै भागमा पारियो ।
तर प्रदेशसभातर्फ जसपाका सिंगासन सा कलवारले जित्दा एमालेका जयप्रकाश थारु पनि मियाँसँगै पराजित भए । मियाँको हारलाई कतिपयले ‘हेड हन्ट’ बाट चुनाव जित्ने ओली रणनीति नै असफल भएको टिप्पणी गरेका छन् । एमाले पर्सा अध्यक्ष थारु भने पार्टीको बैठक बसेर यसबारे समीक्षा हुने बताउँछन् । केही नेताहरुले भने जसपाले अन्तर्घात गर्दा मियाले हार्नु परेको निष्कर्ष निकालेका छन् ।
‘एमालेको यत्रो मत आउनु ठूलो कुरा हो, तर जसपाबाट अन्तर्घात भयो,’ एमाले पर्सा जिल्ला सचिव गुप्ता जालिम भन्छन्, ‘जसपाले पाएको मत एमालेले पाएन ।’ पार्टीमा विश्वास नगरी अरुमा भर पर्दा पराजित हुनु परेको उनी बताउँछन् ।
जालिमको धुमिल विगत
चुनाव जित्ने विश्वाससहित एमाले उम्मेदवार बनेका मियाँसँग शक्ति केन्द्र रिझाउन सक्ने खुबी रहेको स्थानीय नेताहरु बताउँछन् । औपचारिक अध्ययन कक्षा ८ सम्म गरेका मियाँ माओवादीमा हुँदा पनि पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला पात्र थिए । पाँच दशकदेखि राजनीतिमा रहेका उनको अर्को विशेषता विवादमा आइरहनु पनि हो ।
चुनावी सभाबाटै पहाडी समुदायविरुद्ध दिएको अभिव्यक्ति, कोरोना महामारीका उनको गतिविधि लगायत पछिल्ला विवादमा आएका घटना हुन् । बाहुबली छवीको आरोप खेप्ने मियाँ चुनावी सन्दर्भमा अनुभवी खेलाडी हुन् । १९ वर्षकै उमेरमा ०२९ सालमा उनी जगरनाथपुर गाउँपञ्चायत वडानम्बर एकका अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि ०३५ सालमा विजवनिया–जगरनाथपुर गाउँ पञ्चायतका प्रधानापञ्च भए । जगरनाथपुर, पिडारी र विजवनिया गाउँ मिलाएर त्यो गाउँपञ्चायत बनेको थियो ।
त्यही पृष्ठभूमिका कारणले मियाँलाई स्थानीयले ‘जालिम मुखिया’ भनेर चिन्छन् । तराई मधेसमा त्यतिबेला प्रधानपञ्चलाई ‘मुखिया’ भन्ने गरिन्थ्यो । बहुदल आएपछि मियाँ कांग्रेस बने । ०४८ मा कांग्रेसाबाटै इलाका सदस्य जिते । उनी कांग्रेसको महासमिति सदस्यसम्म भए ।
त्यही बेला उनीविरुद्ध वन फडानीको मुद्दा लाग्यो । त्यो मुद्दामा ०६२/६३ को आन्दोलनताका एक महिना जेल बसे । त्यसपछि मियाँ कांग्रेसमा बसेनन्, माओेवादी प्रवेश गरे । माओवादी प्रवेश गर्न पनि मियाँले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई नै लगेका थिए । माओवादीमा उनी सल्लाहकार रहे । त्यही अवधिमा उनी वीरगञ्जमा मुस्लिम हकहित संघर्ष समिति बनाएर सक्रिय भए । माओवादी बनेको १० वर्षभित्रै उनी जगरनाथ गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।
केपी ओलीले पर्सा–४ मा चुनाव जित्न पनि तिनै मियाँ रोजेका थिए । तर कांग्रेसका रमेश रिजालले ०७४ को जितलाई निरन्तर दिंदा ओलीको प्रयत्न सफल हुन सकेन । वाम गठबन्धन भएको ०७४ को चुनावमा भने यो क्षेत्र माओवादी केन्द्रको भागमा परेको थियो । माओवादीले एमाले त्यागेकी उर्मिला अर्याललाई नै टिकट दिएको थियो । तर ०७० मा चुनाव जितेकी अर्यालले जित्न सकेकी थिइनन् ।
यसपटक त्यो क्षेत्रमा एमाले जिल्ला अध्यक्षलाई पञ्छ्याएर मियाँलाई टिकट दिंदा पनि रिजाललाई रोक्न सकेन । पार्टी प्रवेश गराएर जित्ने ओलीको यो नीत गएको स्थानीय चुनावमा पनि सफल हुन सकेको थिएन । जसपाबाटै विजय सरावगीलाई एमाले प्रवेश गराएर वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार बनाएको थियो । तर छोडेकै पार्टी जसपाका राजेशमान सिंहले मेयर जितेका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4