
काठमाडौं । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा जारी अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को दोस्रो दिन शुक्रबार १३ फिल्म प्रिमियर हुँदैछन् । सम्भवतः यो नेपालको कुनै फेस्टिभलमा एकै दिन प्रिमियर हुने फिल्मको उच्च संख्या हो ।
केसाङ छेतेन निर्देशित ‘अ माइग्रेन्ट स्पिक्स’, नोर्बु पुनेलको ‘लिगेसी’, ऐश्वर्या बैदारको ‘ह्वेयर वाटर हाइसिनथ्स ग्रो’, दीपा श्रेष्ठ निर्देशित ‘ड्रिफ्टिङ क्लाउड’ र टिना मिरकारिमी निर्देशित ‘फ्रम सार्भेस्टान टु ओसन’को विश्व प्रिमियर हुँदैछ ।
पाँच फिल्मको एसिया प्रिमियर हुँदैछ । जसमा सोभित जैनको ‘बन्धुआ’, स्पेनी निर्देशक अलेजान्द्रो फेर्लिनीको ‘एल अलिजिबे’, इरानी निर्देशक अर्मन दास्टाकीको ‘जारी’ र ‘चामन’ र बेलायती निर्देशक मोहम्मद रजा मोहम्मदीको ‘रोया’ छन् ।
तीन फिल्म नेपाल प्रिमियर हुनेछन् । जसमा निग्मागेलु शेर्पा निर्देशित ‘काठमाडौं मनसुन’ र सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ छन् । चर्चित नेपाली डकुमेन्ट्री फिल्ममेकर केसाङ छेतेनको ‘अ माइग्रन्ट स्पिक्स’ले आप्रवासी कवि र युट्युबरले परिवारको जीवन चलाउन गरेको संघर्षको कथा भन्छ ।
‘ड्रिफ्टिङ क्लाउड’ले संखुवासभाको कथा भन्छ । २० वर्षअघि छुटेका साथीहरुले बाल्यकाल र यादहरुलाई कसरी पुनः स्मरण गर्छन् भन्ने कथा भन्छ ।
‘फ्रम सार्भेस्टान टु ओसन’ले रचेल नामक महिला पात्रको कथा भन्छ जो प्रशस्तै चुनौतीको सामना गरेर आफ्नो क्षेत्रमा जलसेनाको क्याप्टेन बन्छिन् । उनले यो पद कसरी प्राप्त गरिन् भन्ने कथा यसमा छ ।
शुक्रबारै निर्देशक फ्रान्सिसजेक बर्बेकाको उपस्थितिमा फिल्म ‘द डिजपिअरेन्स अफ जानुज क्लार्नर’, अनिल बुढा मगरको ‘आइरन डिगर’, गोपाल आचार्यको ‘आखत’, नेपाली निर्देशकद्वय भावना अधिकारी र डिम्पल राजथलाको ‘खुल्ला आकाश’, लिसा रुज्ली निर्देशित ‘सोफी लाभाड’ पनि प्रदर्शन हुँदैछन् ।
आजै जापानी फिल्म ‘अदामियानी’ र इटालीको फिल्म ‘गेम अफ द हाइड एण्ड सिक’ पनि स्क्रिनिङ हुनेछन् ।
बिहीबारदेखि सुरु भएको फेस्टिभलमा बलिउड अभिनेता प्रकाश झाको फिल्म ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन गरिएको थियो । फेस्टिभल ओपनिङ कमलकुमार र विद्या चापागाईंको ‘बाघको बंगारा’बाट सुरु भएको थियो ।
पाँच दिन चल्ने फेस्टिभलमा ३० देशका ६० फिल्म प्रदर्शन गर्ने तालिका छ । हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरपालिकाको सहआयोजनामा किम्फ भइरहेको हो ।
प्रतिक्रिया 4