 
																			३ माघ, काठमाडौं । मंगलबार शितल निवासमा मन्त्रीहरुको शपथ समारोह सकिएको खबर पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरु गेटमा लामबद्ध भए ।
नवनियुक्त पर्यटनमन्त्री सुदन किराती शितल निवासमा शपथ लिएसँगै पार्टी कार्यालय पेरिस डाँडामा पुगे । उनी शहीदलाई माल्यार्पण गरेर मात्र मन्त्रालय आए । मन्त्रालयका सचिव सुरेश अधिकारी, सहसचिवहरु र मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरुले गेटमै स्वागत गरी मन्त्रीको कार्यकक्षमा पुर्याए ।
मन्त्री पुग्नासाथ कर्मचारीले उनलाई आसनका लागि कुर्सीतर्फ इशारा गरे । तर, मन्त्री किराती बसेनन् । उनी उभिएकै अवस्थामा सचिव अधिकारीले प्रस्तावित पहिलो निर्णयको मस्यौदाबारे जानकारी गराउन खोजे । कार्यकक्ष कर्मचारी र सञ्चारकर्मीहरुले खचाखच थियो ।
मन्त्री किरातीले सचिवसँग गोप्य कुरा गर्न चाहे । त्यसपछि मन्त्रीको आसन पछाडि रहेको गोप्य कोठामा मन्त्री किराती र सचिव अधिकारीबीच छलफल भयो । कोठाको ढोका बन्द गरियो ।
करिब ३ मिनेटपछि मन्त्री किराती र सचिव बाहिर आए । मन्त्री किरातीले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरे । त्यसपछि सचिव अधिकारीले पहिलो निर्णयबारे सञ्चारकर्मीलाई जानकारी गराए ।
तर, दुईबीच के कुरा भयो भन्ने कुरा खुलाएनन् । मन्त्री किरातीले गत आइतबार भएको जहाज दुर्घटनापछिको उत्पन्न परिस्थितिबारे केही निर्णय गर्न सकिन्छ कि भन्ने सम्बन्धमा सचिवसँग जिज्ञासा राखेको हुन सक्ने स्रोतको भनाइ छ ।
मन्त्री किरातीले पर्यटन मन्त्रालय र यस मातहतका निकायको १० प्रतिशत दरबन्दी कटौती गर्ने प्रस्तावमा हस्ताक्षर गरे । अब यो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।
‘मन्त्रालय जहाज हो, म ककपिटमा छु’
मन्त्री किरातीले मन्त्री हुनुको श्रेय जन्मदिने बुबाआमादेखि यो भूमिकामा पुर्याउने नेकपा माओवादी पार्टी रहेको स्मरण गरे। उनले पर्यटन मन्त्रालयलाई जहाजको संज्ञा दिए र आफू जहाजको ककपिटमा रहेको बताए । ‘जहाजको ककपिटमा म बस्ने भएपनि इन्जिनहरु त सचिवज्यू लगायत कर्मचारी नै हो,’ उनले भने, ‘हामीले जहाज एकैचोटी स्टार्ट गर्ने छैनौं, जहाज चेक गर्नेछौं, गन्तव्य निर्धारण गर्नेछौं र त्यसपछि मात्र जहाजलाई स्टार्ट गर्नेछौं ।’
मन्त्री किरातीले कर्मचारीलाई पहिलो सन्देश दिए, ‘नातागोता र सोर्सफोर्सबाट कोही व्यक्ति आउँछ भने त्यो मबाट हुँदैन ।’ जातीय, क्षेत्रीय र लैङ्गिक हिसाबले भेदभाव नगर्ने भन्दै उनले कार्य सम्पादनका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए ।
मन्त्री किरातीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाको छानबिन गर्न गठित जाँच आयोगलाई काम गर्न सहज वातावरण बनाउने बताए । हवाई सुरक्षामा कडाइ गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै यस क्षेत्रलाई जोखिममुक्त बनाउन पहल गर्ने पनि उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग नेपालको हवाई सुरक्षाका विषयमा आजैदेखि छलफल थाल्ने पनि मन्त्री किरातीले बताए । ‘के कारणले यति ठूलो दुर्घटना भयो, नेपाली आकाश किन सुरक्षित छैन, विश्वमा आज किन नेपालको आकाशप्रति शंका गर्छन्’, उनले भने, ‘मापदण्डलाई किन पुरा गर्न सकेका छैनौं, भन्नेबारे जानकारी लिदैछौं ।’
खादाको पैसा दान लिने
पर्यटनमन्त्री किरातीले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरे । त्यसको साटो अब मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा उनले गरे ।
‘खादा, माला, फूल किन्ने पैसालाई संकलन गर्न हामी एउटा सहयोग पेटिका बनाउँछौं,’ उनले भने, ‘यो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं, मेरो तर्फबाट एक महिनाको सुविधा यहाँ लगाउने छु, मेरो सचिवालयको तर्फबाट १५ दिनको सुविधा दिन लगाउने घोषणा गर्छु ।’
मन्त्रालयका कुनै पनि चिज (पर्दा, कुर्सी, कार्पेटतर्फ संकेत गर्दै) नफेर्न समेत उनले कर्मचारीसँग आग्रह गरे । मुलुकको अर्थतन्त्र दर्दनाक रहेको भन्दै जे छ, त्यसमै काम चलाउन समेत मन्त्री किरातीले आग्रह गरे ।
मन्त्री किरातीले पर्यटन मन्त्रालय, मातहतका निकाय र देशभरका सबै कार्यालयको शौचालय मन्त्रीको जस्तै बनाउन निर्देशन दिए । काम गर्ने वातावरण राम्रो हुनुपर्ने भन्दै उनले शौचालय सफा हुनुपर्ने बताए । मन्त्रालयका विसंगती हटाउने उनको प्रतिबद्धता छ ।
‘सम्पदालाई प्रकृतिसँग जोड्ने अभियान चलाउँछु’
मन्त्री किरातीले पर्यटन प्रबर्द्धनको अभियान चलाउने बताए । सम्पदालाई प्रकृतिसँग जोड्ने र प्रकृतिलाई मानवसँग जोड्ने गरी अभियान चलाउने उनको भनाइ छ ।
केही ठाउँमा पाइलट प्रोजेक्टका रुपमा यस्तो काम सुरु गर्ने उनले बताए । यो सांस्कृतिक पर्यटनको अवधारणा हुने उनको भनाइ छ । नेपालमा रहेका र विश्वले फोटोकपी गर्न नसक्ने तीनवटा सम्पदालाई सम्बर्द्धन र विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।
उनले पशुपतिनाथ, लुम्बिनी र सगरमाथालाई प्रबर्द्धन गर्न प्राथमिकता दिने पनि बताए ।
उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको गेमचेन्जर आयोजना भएको पनि बताए । ‘यो जरुरी छ, यसलाई तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सम्पूर्ण बल लगाउने छौं’ उनले भने ।
नेपाल वायुसेवा निगमबारे भने ठूलो चूनौती रहेको उनले स्वीकार गरे । नेपाल एयरलाइन्सको सुधारबारे सरोकारवालासँग सल्लाह गरेर निर्णय लिने उनले बताए ।
‘निगमको परिस्थिति हेर्दा हात्तीको घोडा धेरैले चढे, बाघको घोडा चढेजस्तै अनुभूति मैले गरेको छु, यसलाई हामी सम्पूर्ण शक्ति लगाएर नेपालको जहाज ध्वजाबाहकलाई गौरवमय बनाउने छौं’ किरातीले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4