 
																			दाङ । सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पा फिल्म छायांकनका लागि उपयुक्त स्थल बन्न सक्ने फिल्मकर्मीहरुले बताएका छन् ।
चलचित्र पत्रकार संघ नेपाल दाङले शनिबार रोल्पाको परिवर्तन गाउँपालिका-२, राङ्सीको डाँडागाउँमा गरेको ‘बृहत चलचित्र बहस’मा उनीहरुले रोल्पा राजनीतिक, सांस्कृतिक र प्राकृतिक सुन्दरताले प्रशस्त सम्भावना बोकेको ठाउँ भएकाले छायांकनको पनि उपयुक्त थलो बन्न सक्ने बताए ।
निर्देशक ऋषिराज आचार्यले रोल्पा छायांकनका लागि उपयुक्त ठाउँ भए पनि भौगोलिक विकटताले फिल्मकर्मीको नजरमा नपरेको उल्लेख गरे । ‘रोल्पामा छायांकनस्थल निकै सुन्दर छ । चलचित्र छायांकनका लागि प्रशस्त सम्भावना बोकेको छ,’ उनले भने, ‘तर चलचित्रकर्मीको नजर यहाँ परेको छैन ।’
चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष शान्तिप्रियले फिल्मका निर्माता निर्देशकले फिल्मको कथावस्तुका लागि छायांकनस्थल खोजी भइरहेको बेला रोल्पा उपयुक्त ठाउँ हुने बताए । ‘फिल्मको कथावस्तु अनुसारका छायांकनस्थल भेटिएका छैनन्,’ उनले भने, ‘रोल्पा जस्तो सुन्दर ठाउँ अब फिल्मकर्मीको नजरमा पर्नुपर्छ ।’

अभिनेता रमित ढुंगानाले पनि रोल्पा फिल्म छायांकनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताए ।
परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढा मगरले रोल्पालाई फिल्म छायांकनस्थलको रुपमा विकास गराउन सके जिल्लाको पर्यटन विकासमा पनि सहयोग पुग्ने विश्वास राखे । उनले रोल्पालाई युद्ध पर्यटनसँग जोड्न सके थुप्रै पर्यटकीय सम्भावना पनि बोकेको बताए । उनले त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारको आवश्यकता रहेको औंल्याए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार, साहित्यकार, समाजसेवी, बुद्धिजीवी र सर्वसाधारणको सहभागिता रहेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4