
१६ माघ, धनगढी । भारतीय पक्षले पूर्व जानकारी बिना शारदा ब्यारेजका ढोका खोलेपछि महाकाली नदीमा फसेका मजदुर अप्रिय दुर्घटनाबाट जोगिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहकाअनुसार सोमबार बिहान ११ बजे महाकाली नदीमा एक्कासी पानीको बहाव बढेको थियो ।
पानीको बहाव बढेपछि महाकाली नदीमा वालुवा निकाल्न गएका आठ वटा ट्रयाक्टरसहित २० जना मजदुर फसेका थिए ।
उनीहरुलाई एक घण्टापछि डोजरको प्रयोग गरेर दिउँसो १२ बजे उद्दार गरिएको थियो । प्रहरीकाअनुसार भारतले पूर्व जानकारी बिना शारदा ब्यारेजका नेपालतर्फका ढोका खोलेपछि नदीमा एक्कासी पानीको बहाव बढेको थियो ।
मजदुर फसेको सूचना पाएपछि प्रहरी चौकी गड्डाचौकीको टोली शारदा ब्यारेजमा पुगेर ढोका बन्द गरिदिन आग्रह गरेको प्रहरी नाबय उपरीक्षक शाहले बताए । उनकाअनुसार भारतीय पक्षले शारदा ब्यारेजका ढोका एकाएक किन खोलेको हो भन्ने कुरा खुलेको छैन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले शारदा ब्यारेजको ढोका खोल्नुपूर्व भारतीय पक्षले कुनै जानकारी नदिएको बताए ।
‘भारतीय पक्षले हामीले ब्यारेजका ढोका खोल्नु पूर्व कुनै जानकारी दिएको थिएन । हामीले महाकालीमा पानीको बहाव बढेपछि मात्र थाहा पाएका हौं,’ प्रजिअ अर्यालले अनलाइनखबरसँग भने, ‘यस्ता गतिविधिले दुर्घटनाको जोखिम रहन्छ । यो विषयमा भारतीय पक्षसँग कुराकानी गर्छौं ।’
प्रतिक्रिया 4