
काठमाडौं । चलचित्र पत्रकार संघको नयाँ नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संघका १८ जना साधारण सदस्यले सामूहिक राजीनामा दिएका छन् । संघको अनामनगरस्थित कार्यालयमा विहिबार हस्ताक्षरसहितको राजीनामा पत्र बुझाउँदै उनीहरुले संस्थामा नरहेको जनाएका छन् ।
राजीनामा दिनेहरुमा पुष्प थपलिया, संगीता गिरी, सुशील पौडेल, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवि सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन् ।
बुधबार सम्पन्न संस्थाको २३ औं साधारण सभाले नयाँ कार्यसमिति निर्वाचित गरेको एकदिनपछि यी सदस्यको राजीनामा आएको हो । उक्त सभाबाट समीर बलामी अध्यक्षमा निर्वाचित भएका थिए ।
तर, संस्थाकी एक साधारण सदस्यविरुद्ध यौन दुव्र्यवहारको मुद्दामा संघ आफैले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व आफूहरुलाई स्वीकार्य नभएको ती सदस्यको पत्रमा उल्लेख छ । अध्यक्षको उम्मेदवारी दिँदा समेत यसबारे विरोध गरेको उनीहरुले जनाएका छन् ।
यौन दुव्र्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बस्न असुरक्षित, असहज र नैतिकरुपमा सकसको अवस्था भएकाले राजीनामा पेश गरेको उनीहरुले जनाएका छन् ।
प्रतिक्रिया 4