+
+

५१ वर्षअघिको चर्चित गीत ‘टिकुली ट्याक’ नयाँ भर्सनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १२:२८

काठमाडौं । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले २०२८ सालमा ल्याएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक भएको छ । ५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतलाई काठमाडौंमा सोमबार प्रिमियर गरियो । प्रसाईंले स्वर भरेको गीतमा राईकै शब्द र संगीत छ ।

गीत निर्माणको जिम्मा भिडियो निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले लिएका हुन् । गायक राईसँग अनुमति लिएर प्रसाईंको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले जानकारी दिए । जीवनकालमा सयभन्दा बढी गीत गाएका राईको ‘टिकुली ट्याक’ पहिलो गीत हो । कार्यक्रममा राईले आफू अहिले ८० वर्ष पुगेको र ३० वर्षअघि नै गीत गाउन छाडेको जानकारी दिए । उनले स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए ।

‘दीपकजीको टिम आउनुभयो, दाई हामीले यो गीत रेकर्ड गछौं, भिडियो बनाउँछौं भन्नुभयो । मलाई खुसी लाग्यो । आज यसरी सबैले सुन्न हेर्न मिल्ने बनाइदिनुभयो,’ गायक राईले भने, ‘मिहिनेत गरेर भिडियो पनि बनाउनुभएको छ । हेर्दा आनन्द लाग्यो ।’

राईले आफ्नो स्वरमा ‘टिकुली ट्याक’ त्यो समयमा नै रत्न रेकर्डिङ संस्थानको माध्यमबाट रेडियो नेपालमा रेकर्ड भएको तर अहिलेको इन्टरनेटका कुनैपनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोताले सुन्न नपाएको बताए । उनले रमेश प्रसाईंले आफ्नो गीतलाई न्याय दिएको भन्दै धन्यवाद व्यक्त गरे । गीतलाई विपिन आचार्यले एरेन्ज गरेका हुन् ।

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ जना अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई दिइने निर्देशक आचार्यले जानकारी गराए । उक्त संस्थालाई नन्दा सिंह र गीता बस्नेतले सञ्चालन गर्दै आएका छन् । निर्देशक आचार्यले पुराना स्रष्टाका गीत अहिलेको पुस्ताले सुन्नुपर्ने र त्यस्ता गीतबाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए ।

कार्यक्रममा अन्तर्दृष्टि नेपालका लागि नेपाल सिलाइ तथा कपडा व्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीले व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ सहयोग गरे । बागबजारमा सुटमाला सञ्चालन गर्दै आएका कार्कीले निःस्वार्थ भावनाले सहयोग गरेको जानकारी गराए । यस्तै गायक राईले आफ्नो व्यक्तिगत तर्फबाट भन्दै पाँच हजार एक सय, यस्तै प्रोडक्सन कम्पनीको तर्फबाट १० हजार र गायक राईका बहिनीद्वय यशोधा राई र रीना राईको तर्फबाट चार हजार २०० रुपैयाँ रकम हस्तान्तरण गरियो ।

भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे र गरिमा शर्माको अभिनय छ । सुबोल थापाको कोरियोग्राफी रहेको भिडियो पवन सुस्लिङले खिचेका हुन् । यस गीतको निर्माताको रुपमा सुष्मा गुरागाईं छिन् । निर्देशनको पाटो काकुले सम्हालेका छन् । भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?