+

शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

२०७९ चैत  १६ गते १३:०९ २०७९ चैत १६ गते १३:०९
शतप्रतिशत निको हुन सक्दैन शरीरमा देखिने सेतो धर्सा

काठमाडौं । ‘स्ट्रेच मार्क’ अर्थात् सेतो धर्सा एकपटक आइसकेपछि जान मुश्किल हुन्छ । कतिपयले यसलाई हटाउन विभिन्न घरेलु उपाय अपनाउँछन् भने कतिपयले बजारमा पाइने विभिन्न क्रिम समेत प्रयोग गर्छन् । तर पनि स्ट्रेच मार्क सजिलै जाँदैन, जसले महिलाले चाहेको जस्तो लुगा लगाउन पाउँदैनन् ।

त्यसो भए यसको समाधान नै छैन त ? स्ट्रेच मार्र्क एकपटक आइसकेपछि पूर्ण रुपमा नगएपनि उपचारले केही हदसम्म समाधान निकाल्न सकिने छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्ट बताउँछन् ।

‘कुनै पनि बजारमा पाउने औषधि वा क्रिमले यसलाई ठीक पार्न सक्दैन ।  यसलाई उपचारबाट  ८० प्रतिशत जति समाधान गर्न सकिन्छ,’ उनी भन्छन् ।

स्ट्रेच मार्क देखिने कारण

स्ट्रेच मार्क एक प्रकारको सेतो दाग हो, यो शरीरको जुन भागमा मासु बढी हुन्छ, त्यही भाथमा बढी देखा पर्छ । शरीरको भागमा मासु बढ्दा त्यहाँ भएको छालाको माथिल्लो तहमा केही नभएपनि छालाको डर्मिस भन्ने भित्री तहमा लास्टिन, कोलाजेन जस्ता पदार्थ ड्यामेज भएपछि बिस्तारै सेतो दर्सा देखिने डा. भट्ट बताउँछन् ।

सबैभन्दा बढी घुँडा, पाखुरा, थाइ, कम्मर र पेटमा सेतो धर्सा देखिन्छ । यसले जुनसुकै उमेरका व्यक्तिलाई सताउन सक्छ । ‘सन्तान जन्माएपछि महिलाहरुको पेटमा मात्र स्ट्रेच मार्क आउँछ भन्ने धारणा छ । तर जिम गर्ने र अत्यधिक मोटोपन भएका व्यक्तिको पनि छाला तन्किएर आउँछ,’ डा. भट्ट भन्छन् ।

उपचार

छाला तन्किसकेपछि सेतो धर्सा आउने भएकाले प्राकृतिक रूपमा पूर्ण रुपमा निको हुन सक्दैन त्यसको समाधान लेजर विधिबाट गर्न सकिने डा. भट्ट बताउँछन् ।

‘लेजरबाट ड्यामेज भएको छालाको लेयरलाई फालिन्छ । लेजर थेरापीपछि त्यहाँबाट बिस्तारै नरम छाला पलाउँदै आउँछ,’ उनी भन्छन्, ‘थेरापीले  झोल्लिएको छाला पनि बिस्तारै टाइट हुँदै आउँछ । उपचारबाट ८० प्रतिशत निको हुन्छ ।’

लेजर थेरापी कम्तीमा पनि ६ चरणसम्म गर्नुपर्छ । यसको शुल्क पाँच हजार रुपैयाँबाट सुरु हुने र सेता धर्साको अवस्था अनुसार बढ्दै जाने डा. भट्ट बताउँछन् ।

स्ट्रेच मार्कको रोकथाम

स्ट्रेच मार्क रोक्नका शरीरको वजन नियन्त्रण गर्न जरुरी छ । जंकफुड, बढी चिल्लो र क्यालोरी हुने खानेकुरा कम खाने र फाइबरयुक्त खानेकुरामा जोड दिनुपर्छ । गर्भवती महिला, जिम गर्ने व्यक्तिले सेतो धर्सा आउन नदिन पहिले नै सकेसम्म नियमित छालामा नरिवलको तेल, मोइस्चाइजर क्रिम र लोसन लगाउनुपर्छ ।

(डा. भट्ट छाला तथा सौन्दर्यरोग विशेषज्ञ हुन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. अनिलकुमार भट्ट सेतो धर्सा स्ट्रेच मार्क
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय