 
																						२४ चैत, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गत शुक्रबार मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिए ।
प्रदेश सभाको नवौं बैठकबाट राप्रपा बाहेक कांग्रेस, एमाले, एकीकृत समाजवादी र एक स्वतन्त सहित ३८ सांसदले विश्वासको मत दिए । ४० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री शर्माले सर्वाधिक ९७ प्रतिशत बढी मत पाए ।
सोही दिन प्रदेश सभाबाट बाहिरिँदै गर्दा मुख्यमन्त्री शर्माले कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीलाई भने, ‘जीवन जी, कांग्रेस, एमाले दुवैलाई मिलाएर सरकारमा लैजाने व्यवस्था छैन ?’ जवाफमा जीवनले भने, ‘त्यस्तो व्यवस्था छ, छैन थाहा भएन । तर त्यसरी कांग्रेस सरकारमा पनि जाँदैन ।’ दुई नेताले ठट्टा गरे, बाहिरीए ।
त्यसयता मुख्यमन्त्री शर्मासँग सरकारबारे छलफल नभएको शाही बताउँछन् । ‘केन्द्रीय सहमति अनुसार विश्वासको मत माग्नु भयो, हामीले दियौं । सरकारमा जाने–नजाने विषयमा मुख्यमन्त्रीसँग कुनैपनि छलफल भएको छैन,’ नेता शाहीले अनलाइनखबरसँग भने ।
केन्द्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न सत्ता समीकरण परिवर्तन गरेपछि १० पुसको समीकरण अनुसार कर्णालीमा एमाले र राप्रपाको समर्थनमा २७ पुसमा माओवादी संसदीय दलका नेता शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपतिको निर्वाचनपछि प्रचण्ड पुरानै गठबन्धनमा फर्किएपछि कर्णालीमा पनि केन्द्रीय समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने नेताहरु बताउँछन् । १० पुसको सहमतिअनुसार एमाले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित कर्णाली सरकारमै छ ।
कांग्रेस कहिले सत्तामा जाने र एमाले कहिले सरकारबाट बाहिरिने भन्ने विषय अन्योल देखिन्छ । यसो हुनुको कारण सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र नै अलमलमा रहनु हो ।

माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइरहे पनि मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिन सकेका छैनन् । शुक्रबार विश्वासको मत लिनु अगाडि बसेको माओवादी संसदीय दलको बैठकले एमालेसँग विश्वासको मत माग्ने तर सत्ता सहकार्य गरेर अगाडि बढ्न नसकिने निर्णय गरेको माओवादीका प्रमुख सचेतक रणसिंह परियार बताउँछन् । ‘केन्द्रीय गठबन्धन अनुसार नै हामी अगाडि बढ्छौँ । एमाले ढिलोचाँडो सरकारबाट बाहिरिन्छ । एमालेकै भूमिकामा कांग्रेस सरकारमा जान्छ,’ प्रमुख सचेतक परियारले भने, ‘नेताहरुबीच छलफल चलिरहेको छ । केही दिनमा निषकर्ष निस्किन्छ ।’
प्रदेश सरकारबारे एमाले–कांग्रेस दुवै दल माओवादीमा निर्भर छन् । तर मुख्यमन्त्री शर्माले भने अहिलेसम्म प्रष्ट निर्णय गर्न सकिरहेका छैनन् । ‘पार्टीको प्रदेश कमिटीले पनि केन्द्रीय सहमतीअनुसार अगाडि बढ्न मुख्यमन्त्रीलाई निर्देशन दिइसकेको छ । तर मुख्यमन्त्री किन अल्झिनुभएको छ । हामी पनि अच्चमित छौं’ माओवादीका एक सांसदले भने, ‘चाँडो निर्णय गरेर सरकारलाई निकास दिँदा उपयुक्त हुन्थ्यो ।’
केन्द्रीय सहमती अनुसार अगाडि बढ्नुको विकल्प नरहेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले बताइन् । ‘केन्द्र जता, त्यतै हामी हो । केन्द्रीय सहमति अनुसार नै एमालेसँग सहकार्य गरेका थियौं,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भनिन्, ‘अहिले केन्द्रमा समीकरण बदलिएको छ । सोही अनुसार अगाडि बढ्नुको विकल्प छैन ।’
कांग्रेसलाई सरकारमा ल्याउँदा सत्ता गुम्ने डर
कांग्रेस सत्तामा जाने–नजाने कुरा माओवादीमै निर्भर भएको कांग्रेस संसदीय दलका नेता शाहीले बताए । सरकारमा गए नेतृत्व आफूले पाउनुपर्ने कांग्रेसको अडान छ ।
चुनाव अगाडि माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र आफूबीच भएको सहमति अनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने नेता शाहीले दावी गर्दै आएका छन् । निर्वाचन अघि कांग्रेसले जुम्ला र हुम्ला निर्वाचन क्षेत्र छाड्ने र प्रदेशको मुख्यमन्त्रीमा आफू नै दोहोरिने सहमति भएको शाहीले बताउँदै आएका छन् ।
कांग्रेसलाई सरकारमा ल्याउँदा सत्ता गुम्ने डर मुख्यमन्त्री शर्मालाई छ । त्यसैले एमालेसँगै सहकार्य गरेर अगाडि बढ्ने दाउँमा माओवादी रहेको अनुमान कांग्रेस नेताहरुले गरेका छन् ।
शाही निकट कांग्रेसका अर्का एक सांसदले केन्द्रीय समीकरण अनुसार नै कांग्रेसलाई सरकारमा लैजानुपर्नेमा मुख्यमन्त्री मौन बसेको बताए । ती सांसदले भने, ‘यो त मुख्यमन्त्री आफैंले पहल लिने कुरा हो । हामीलाई सरकारमा लगिदिनुपर्यो भनेर हामी मुख्यमन्त्रीकोमा गएका छैनौं ।’
एमाले भन्छ- मुख्यमन्त्रीसँग सौहार्दपूर्ण सम्बन्ध छ

उता, एमाले पनि सरकारबाट बाहिरिन चाहिरहेको छैन ।
एमाले प्रदेश अध्यक्ष समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण सम्बन्ध रहेको र तत्कालै सरकार छोडिहाल्नुपर्ने स्थिति नरहेको बताए । ‘अहिलेसम्म मुख्यमन्त्री ज्यूसँग सौहार्दपूर्ण वातावरण नै छ । उहाँले सरकार छाड् भने हामी छादिउँला,’ मन्त्री शाहले भने, ‘तर मुख्यमन्त्रीज्यूले त्यस्तो भन्नु भएको छैन । बरु तीनवटै दल मिलेर कसरी जान सकिन्छ भनेर छलफल भइरहेको छ ।’
४० सदस्यी प्रदेश सभामा नेपाली कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका ९, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र गरी एक/एकजना सांसद छन् ।
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4