१३ वैशाख, पोखरा । ठूलो दलको हैसियतमा नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले अडान र कसरत गर्दा नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिनेसम्मको चेतावनी दिन भ्याए ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते शनिबार ढलेपछि कांग्रेस उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त हुनुपर्ने तर्क गर्दै काठमाडौंसम्म पुगेको छ ।
दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आहृवान गर्दा शीर्ष तहमै गण्डकीमा आलोपालो गर्ने समझदारी गराएको माओवादीले दाबी गर्न सक्ने भय कांग्रेसमा थियो । त्यसैले माओवादीलाई पहिलो चरणमा मुख्यमन्त्री हुन रोक्नकै लागि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेसहित सबैजसो कांग्रेस सांसद सभापति शेरबहादुर देउवादेखि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसम्मलाई भेट्न काठमाडौं पुगे । ११ गते सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले गण्डकीमा कांग्रेसलाई पहिलो चरणमा मुख्यमन्त्री दिने आश्वासन दिएपछि सुरेन्द्रसहित अधिकांश कांग्रेस सांसद फर्किइसकेका छन् ।
उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नका लागि आहृवान गर्ने कि ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्ने भन्नेमा स्वयं प्रदेश प्रमुख पृथ्वीमान गुरुङ पनि अन्योलमा थिए ।
९ गते सरकार ढाल्ने अगावै यही परामर्शका लागि काठमाडौं पुगेका प्रदेश प्रमुख गुरुङले पोखरा फर्केर पनि कानुनी परामर्श गरे र मंगलबार बल्ल नयाँ सरकार गठनका लागि आहृवान गरेका छन् । उपधारा २ बमोजिम बहुमतको सरकार बनाउन बिहीबार दिनको ४ बजेसम्मको समय दिएर प्रदेश प्रमुखले आह्वान गरेका छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीबीच भने अझै गाँठो फुकिसकेको छैन ।
तनहुँ-१ को चुनावलाई देखाउँदै गत वैशाख ३ गते माओवादी नेता हरिबहादुर चुमानको नेतृत्वमा काठमाडौं पुगेको टोलीले कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र प्रधानमन्त्री प्रचण्ड, माओवादी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेसहितको छलफलमा सौदाबाजी गरेको थियो ।
चुनावको मुखमा दबावमा परेको कांग्रेसले त्यही बेला औपचारिक रुपमा गण्डकीमा कांग्रेस-माओवादी आलोपालो गर्ने समझदारी गरेको हो । तर, गण्डकीको सरकार ढलेलगत्तै तनहुँ-१ को निर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले हारेपछि प्रधानमन्त्री प्रचण्ड स्वयंले गण्डकीमा पहिलो चरणमा कांग्रेसले नेतृत्व गर्ने बताएका थिए ।
शीर्ष नेतृत्वले नै मुख्यमन्त्री कांग्रेसको बन्ने बाटो खोलिदिएपछि कांग्रेस सांसदहरु फर्किंदै गर्दा मंगलबार नै प्रदेश प्रमुखले बहुमतको सरकार गठनका निम्ति आह्वान गरेपछि माओवादीको समेत हस्ताक्षर लिएर दाबी गर्न जाने कांग्रेसको तयारी थियो । तर, मुख्यमन्त्री दाबी गरिरहेका माओवादी संसदीय दलका नेता चुमान भने प्रचण्डलाई नै भेटेर निर्णय बुझ्ने भन्दै मंगलबार नै काठमाडौं पुगेका छन् ।
‘शीर्ष तहमा भएको नेतृत्व के हो, हामीले कति समय पाउने हो र त्यसको ग्यारेन्टी के हो ? नेतृत्वसँग भेटेरै प्रस्ट हुनका लागि काठमाडौंमै छु,’ माओवादी नेता चुमानले अनलाइनखबरसँग भने, ‘कांग्रेसले हामीले पायौं त भनेको छ तर नेतृत्वले यसो-यसो हो भनेर अझै भनेको छैन ।’
माओवादी नेता चुमान पनि सुरुको चरणमा आफूले मुख्यमन्त्री नपाउनेमा ढुक्कै छन् तर दोस्रो चरणमा कति समय भन्ने ग्यारेन्टी होस् र सरकारमा माओवादीले कम्तिमा ३ मन्त्रालय पाओस् भन्ने चाहन्छन् । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमै आन्तरिक मामिला तथा कानुनमन्त्री भएका चुमान खगराज नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री बने ।
यदि मुख्यमन्त्री हुने हो भने अबको सरकारमा उनलाई मन्त्री नदिने मत माओवादीभित्र छ । चुमान भने मुख्यमन्त्री नै ग्यारेन्टी गर्न, भागबण्डामा ३ मन्त्रालयको माग गरेर सकेसम्म अझै पनि आफैं मन्त्री हुन चाहेको एक माओवादी सांसदले बताए । तर माओवादीले भने खगराज नेतृत्वको सरकारमा पर्यटन मन्त्रीबाट राजीनामा दिएका रेशमबहादुर जुग्जाली र प्रमुख सचेतक अर्का सांसदलाई जिम्मेवारी दिएर गोरखाकी सुशीला सिम्खडालाई मन्त्री बनाउने तयारी पनि छ । ३ मन्त्रालय पाउँदा माओवादीको चुनाव चिह्न लिएर जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि मन्त्री हुने मौका पाउने सम्भावना छ ।
माओवादी र कांग्रेसबीचमै भागबण्डा र सत्ताको गाँठो फुकिसकेको छैन भने कांग्रेसभित्रै मन्त्रीको भागबण्डा मिलाउनै सकस छ । २७ सदस्य रहेको कांग्रेसमा मन्त्रीको आकांक्षा राख्ने काठमाडौंमा शीर्ष तहमै कसरत गर्नेहरु धेरै छन् । सुरेन्द्रराज मुख्यमन्त्री बन्दा लमजुङबाट चुनाव जितेका डा. टकराज गुरुङ अर्थमन्त्री बन्न सक्ने सम्भावना बढी रहेको कांग्रेसभित्रको चर्चा छ ।
प्रदेशमा चुनाव लड्ने बेलादेखि नै डा. टकराजले सुरेन्द्रलाई साथ दिने बताएका थिए भने दलको नेताको चुनावमा पनि सघाएका थिए र उनी देउवा समूहकै हुन् । यसअघि नै गण्डकीको कानुन मन्त्री भइसकेको र कांग्रेसबाट दोस्रो पटक प्रदेशमा चुनाव जितेर आएका विन्दुकुमार थापालाई मन्त्री हुन रोक्न कांग्रेसभित्रैका सांसदहरु सक्रिय देखिएका छन् ।
यसअघिकै सरकारमा अनुभव बटुलेको र दोस्रो पटक कांग्रेसबाट गण्डकीमा चुनाव जित्ने एकमात्र सांसद भएका कारण पनि महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने थापाको अडान छ । तर, सबै प्रदेशमा दोहोर्याएर दिन नहुने मत केन्द्रसम्मै पुग्दा थापा मन्त्री नै हुन नपाउने सम्भावना पनि देखिएको एक कांग्रेस सांसदले बताए ।
गुटगत विचार समूह र भूगोल पनि मिलाउनुपर्ने भएकाले संविधान सभा सदस्यसमेत भइसकेका शेखर-गगन समूहका नवलपुरका महेन्द्रध्वज जिसी बन्न सक्ने चर्चा छ । आफ्नो विचार समूहबाट संसदीय दलको नेता नै उठाएकाले स्याङ्जाका भोजराज अर्याललाई मन्त्री बनाउनुपर्ने शेखर कोइरालाले नै बताएको सांसदहरु बताउँछन् । स्याङ्जाबाटै महिलामा सरस्वती अर्याल, संघमा राज्यमन्त्रीसमेत भइसकेकी चम्पादेवी खड्काले पनि दाबी गरिरहेकी छन् ।
शेखर-गगन समूहबाट युवा नेता डिल्लीराम सुवेदी पनि मन्त्री हुने कसरतमा छन् । धेरै जना आकांक्षी तर थोरै मन्त्रालय हुँदा मुख्यमन्त्री नियुक्तिका कारण दाबी पेश गर्ने तयारीमा रहेका सुरेन्द्रराजलाई सकस छ । सुरुको चरणमा २ मन्त्रीसहित ३ जनाले सपथ लिने गरी भोलिको अन्तिम समयसम्म दाबी पेश हुन सक्ने एक सांसदले बताए । खगराज अधिकारीले गण्डकीमा १२ मन्त्रालयबाट घटाएर ७ मा झारेका छन् । मन्त्रालय बढाउँदा चौतर्फी आलोचना हुने भएकाले यो पक्षमा पनि कांग्रेस छैन ।
कांग्रेस नेता सुरेन्द्रराज र माओवादी गण्डकी अध्यक्ष गायत्री गुरुङ मंगलबार छलफलमा बसेका थिए । तर, दलका नेता नै काठमाडौं भएकाले सामान्य छलफलमात्र भएको अध्यक्ष गुरुङले बताइन् । संयुक्त बैठक बसेर दाबी पेश गर्न जाने तयारी कांग्रेसको छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4