+
+

मिस नेपालका प्रतिस्पर्धी भन्छन्- अब ब्युटी मात्र होइन, क्षमता र आत्मविश्वास पनि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १३:३४

काठमाडौं । मिस नेपाल-२०२३ को ग्राण्ड फिनाले आयोजना हुन तीन साता बाँकी छ । ताज जित्नका लागि सुन्दरीहरु यतिबेला मेहनत गरिरहेका छन् । कोरियोग्राफर र प्रशिक्षकले व्यक्तित्व विकास, नृत्यदेखि शारीरिक सुगठनको कौशल सिकाइरहेका छन् । पेजेन्टका २४ सेमिफाइनलिस्ट सुन्दरीले अनलाइनखबरसँग तयारी, प्राथमिकता, योजना र रमाइला किस्साबारे गफगाफ गरे ।

ग्राण्ड फिनालेलाई लिएर कोही सुन्दरी उत्साहित सुनिए भने कोहीले दबाब महसुस गरेको पाइयो । यसपटकको मिस नेपालमा एउटा रोचक ट्रेन्ड के देखिएको छ भने अब सौन्दर्य प्रतियोगितामा भाग लिन राम्री मात्र हुनुपर्छ भन्ने मान्यता कायम रहेन । बरु ब्युटीसँगै कुनै क्षेत्रमा स्थापित भएर क्षमतालाई विस्तार गर्न र आवाज सुनाउन उनीहरु पेजेन्टमा आएको देखियो । यसपटक भाग लिएकामध्ये ९० प्रतिशत सुन्दरीहरु कुनै न कुनै क्षेत्रमा करिअर बनाइसकेका छन् ।

पाइलट, चिकित्सक, व्यवसायी, फेसन डिजाइनर, आइटी विज्ञ, वातावरण विज्ञानकर्मी, सञ्चारकर्मी सुन्दरीहरु ताज जित्ने होडमा छन् । धेरैको मत के पनि पाइयो भने सुन्दरी प्रतियोगिता अब शारीरिक रुपमा राम्री भएर मात्र नहुने रहेछ बरु अध्ययन, आत्मविश्वास पनि चाहिने रहेछ । यस भिडियोमा कुल प्रतिस्पर्धीमध्ये १२ जनालाई समावेश गरिएको छ भने बाँकीसँगको गफगाफ अर्को भिडियोमा प्रस्तुत हुनेछ । यस भिडियोमा कुराकानी गरेका अधिकांश सुन्दरीको सोच मिस नेपाल जितेर आफ्नो सपनालाई देश र विदेशमा सुनाउने र आवाज बुलन्द गर्नेछ ।

गत महिना बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा स्यास नम्बर (प्रतियोगी अंक) वितरण गर्ने समारोहमा भेटिएका यी सुन्दरीहरु केही नर्भस देखिन्थे । महिना लामो अन्तरालमा उनीहरुमा आत्मविश्वास र आशा भरिएको देखियो । गत साता पोखरामा सम्पन्न ट्यालेन्ट राउण्डमा पनि सुन्दरीले गीत, नृत्य, कवितासहितका प्रतिभा प्रस्तुत गरे । यतिबेला पपुलर च्वाइसको प्रतिस्पर्धा चलिरहेको छ । फिनालेअघि प्रतिस्पर्धीलाई पार्क भिलेज रिसोर्टमै क्लोज क्याम्पमा राखिनेछ ।

हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल-२०२३ को ग्राण्ड फिनाले आगामी जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?