२९ वैशाख, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहरहित ढंगले अनुसन्धान गर्नुपर्ने बताएका छन् । यसबाट नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले अनुसन्धानमा जो दोषी देखिए पनि तिनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै जसपा अध्यक्ष यादवले सरकारमा रहेका जिम्मेवार व्यक्तिले नै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको बताए । ‘यो घटनाको निष्पक्ष छानबिन पूरा हुनुपर्छ । छानबिन गरेर जो अभियुक्त देखापर्छ त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘पूर्वाग्रहरहित भएर छानबिन हुनुपर्छ ।’
यसबाट नेपालको साख, छवि अन्तर्राष्ट्रिय जगतमा धुमिल भएको भन्दै उनले यो खासगरी अमेरिका लगायतका देशका लागि ज्यादा चिन्ता र सरोकारको विषय बनेको बताए ।
अर्को एक प्रसंगमा उनले सरकारले निजामती सेवा ऐन, प्रहरी समायोजन लगायतका अति आवश्यक कानुनहरु छिटो जारी गर्नुपर्ने बताए । यी कानुन अभावमा प्रदेश सरकार पनि प्रभावित भएको बताउँदै उनले भने, ‘सरकारलाई प्रशासन चाहिन्छ, प्रहरी चाहिन्छ । केबल एउटा गाडीमा झण्डा हल्लाएरमात्र सरकार हुँदैन ।’
उनले संविधानमा भएका त्रुटीहरु पनि संशोधन गर्नुपर्ने दोहोर्याए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4