+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
ब्लग :

रविको रेट्रोफिट बनेका स्वर्णिम

उपचुनाव अघि रास्वपा अध्यक्ष रविप्रति धेरै प्रश्न उठे। काण्डहरू जोडिए। उनी प्रश्नहरूले घेरिंदा उनीप्रतिको विश्वास डगमगाउन थालेको थियो। त्यति नै बेला रास्वपामा स्वर्णिमको प्रवेशले एउटा नयाँ विश्वासको सञ्चार भने भयो। सारतः स्वर्णिम रविको रेट्रोफिटिङ बनेर रास्वपा भित्रिए।

शालिक सुवेदी शालिक सुवेदी
२०८० वैशाख २९ गते १५:१२

पारि चितवन, वारि तनहुँ र बीचमा नदी। तर हालै सम्पन्न उपनिर्वाचनमा भने दुवै जिल्ला बिम्ब बन्न पुगे। बाराको एउटा क्षेत्रसहित चितवन-२ र तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन हुँदै थियो। भर्खरै नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्ले घण्टी चिह्न लिएर तनहुँबाट चुनाव लड्दै थिए। चितवनमा सोही पार्टीका रवि लामिछाने पुन: चुनावी मैदानमा भिड्दै थिए। दुवै जना निर्वाचन क्षेत्रका स्थानीय थिएनन् तर भूगोलको सामीप्यताका कारण एकअर्कालाई मज्जैले सघाउन पुगे।

पुराना दलप्रतिको आक्रोश र वितृष्णाबीच मतदाताले दुवै उम्मेदवारलाई आशा र भरोसाका आँखाले हेर्न पुगे। रवि आशाका प्रतीक थिए भने स्वर्णिम भरोसाका। जब आशा र भरोसा मिल्छ तब विश्वसनीयताको जन्म हुन्छ। अविश्वासको राजनीतिले थलिएको नेपाली समाजमा एउटा नयाँ विश्वासको जन्म भयो। दुवै उम्मेदवारले मतदाताको विश्वास जित्दै फराकिलो अन्तरले आफ्ना प्रतिस्पर्धीलाई हराए।

सामाजिक-वैचारिक जडताबाट उत्पन्न खिसीटिउरी निराशामा परिणत भयो। परम्परा र विरासत बोकेको दार्शनिक अहंकार पराजयमा परिणत भयो। वादका छद्म आलापहरू व्यवहारको स्फुटित आलोकका सामु क्षणभङ्गुर बने। परिवर्तनको उत्कट अभिलाषाले दुई निर्वाचन क्षेत्रको परिणामसँगै लक्ष्य भेद गर्‍यो। सार्थकता पायो।

परिवारवाद, कृपावाद, नातावाद, व्यक्तिवाद, आश्रयवाद र नागरिक भावनाप्रतिको हेपाहावाद पराजित भयो। नयाँ स्वप्नको सूत्रपात भयो। नयाँ भविष्यको पालुवा पल्लवित भयो। निजत्वको अन्त्य र सार्वजनिक महत्वको नयाँ उभार पलायो। यो आफैंमा एउटा नूतन यात्राको प्रारम्भ थियो।

शालिक सुवेदी

मानिसको सपना त्यतिबेला पूरा हुन्छ जतिबेला उसको सङ्घर्ष र समयको अनुकूलता एकठाउँमा आइपुग्छ। समय र सङ्घर्षको सामयिक मिलन नै सपनाको विपनामा हुने रूपान्तरण हो। मानिसले असम्भव विपना सपनामा पनि देख्दैन। स्वामी आनन्द अरुण भन्छन्, ‘गन्तव्य मलाई थाहा छैन तर सही गन्तव्यको सही यात्रा प्रारम्भ भने पक्कै भएको छ।’

उपनिर्वाचनको प्रचार-प्रसारका क्रममा डा. स्वर्णिमले चितवनको एक कार्यक्रममा सम्बोधन गर्दै भनेका थिए, ‘तुलनै गर्ने हो भने रविजी २०१५ सालको बीपी कोइरालाले नेतृत्व गरेको, त्यो भिजन भएको, ऊर्जा भएको, आदर्श बोकेको, यो देशलाई एउटा निश्चित समयसीमाभित्र यहाँ पुर्‍याउँछु भन्ने हुटहुटीका साथ त्यो तपाईं (रवि)को नेतृत्वमा त्यो ऊर्जा र भिजन देखिइराखेको छ नि, तुलना गर्न मिल्छ।’

अर्को चुनावी सभामा रविले भने, ‘बीपीका अधूरा सपना स्वर्णिमले पूरा गर्छन्।’ खासगरी डा. वाग्लेको यो सार्वजनिक अभिव्यक्तिले तात्कालिक शास्त्रीय राजनीतिमा तरङ्ग ल्यायो। रवि लामिछानेमा बीपीको गुण भेट्नु बीपीको अंशावतार ठान्नु पनि हो।

यसअघि स्वर्णिम नेपाली कांग्रेसभित्रका युवाहरूमा बीपीको अंशावतार भेट्न अनन्त यात्रा तय गरिरहेका थिए। उनले त्यो गुण रविमा भेटियो भन्दै बाटो बदले। नयाँ बाटो तर गन्तव्य उही ! सायद बीपीको सामाजिक चिन्तनको अभीष्ट बोकेको राजनीतिक भविष्य र परिणाममुखी परिवर्तन, रविको स्वतन्त्र अभय चरित्रमा देखे अनि बाटो फेरे। सपना फेरिएको छैन, उही छ- लोकतान्त्रिक समाजवाद। नेपाली माटो सुहाउँदो नवीन नेपाली बाटो अनि लोकतान्त्रिक समाजवादको सामयिक र व्यावहारिक प्रयोगको सपना बोकेर बाटो फेरे।

 रवि बीपीका अंश वा विकल्प ?

अब सुरु गरौं अंश वा विकल्पको कुरा। शिवको क्रोधाग्निबाट जालन्धरको जन्म भयो। शिवको क्रोधबाट नै हनुमानको जन्म भयो। शिवपुराण यही भन्छ। शिव जस्तै हो जालन्धर पनि। उही रूप, जीउडाल, शक्ति र सामर्थ्य पनि उस्तै।

शुक्राचार्यको प्रतिशोध कवच बने जालन्धर। एउटा अबोधलाई शुक्राचार्यले आश्रय दिए। आश्रय दिए वा प्रतिशोधको षड्यन्त्र? धर्मगुरुले बोलेकै होलान्। महादेवको अंश भएर पनि आसुर शक्ति प्रवर्धन गर्न गरिएको षड्यन्त्र बन्यो जालन्धर। दैत्यराज बन्यो। स्वर्ग, मर्त्य र पाताल तीनै लोकको विजेता बन्यो। त्रिलोकपति बन्यो।

अभीष्ट थपियो। ब्रह्मलोक र विष्णुलोक पनि अधिपति बन्न खोज्यो। पार्वतीमाथि कुदृष्टि राख्यो। आफ्नै मूल शिवमाथि हमला बोल्यो। शिवको विकल्प बन्न खोज्यो। अन्तत: नाश भयो। जब अंश विकल्प बन्न खोज्छ तब अंश विनाश हुन्छ। अंश मूलको सानो रूप हो। अंश नै मूल हो।

अग्निको सानो कण ज्वालाको अंश हो। पानीको एक थोपा समुद्रको अंश हो। विकल्प होइन। थोपा-थोपा पानीको निरन्तरको सङ्ग्रह नै समुद्र हो।

महाबली हनुमान पनि भगवान शिवको अंशावतार हुन्। महाबलशाली, लंका दहन गर्ने, भयङ्कर दानवी सुरसाको अन्त्य गर्ने हनुमान, सुमेरु पर्वत सिङ्गै उठाउन सक्ने हनुमान आफ्नो बलको कहिल्यै घमण्ड गरेनन्। सदैव सत्य र धर्मको पक्षमा रहे। अनुशासन र न्यायको पृष्ठपोषण गरे। सिद्धान्त र आदर्शमा अविचलित रहे। तसर्थ चिरञ्जीवी रहिरहे। यस युगमा पनि जीवित छन् भन्ने धार्मिक विश्वास छ। जीवन्त छन् भनिन्छ। भगवान श्रीकृष्णका आफ्नै छोरा साम्ब अहंकारी र कुल शत्रु बने। श्रीकृष्णको विकल्प बन्न खोजे र अन्तत: अकालमै मृत्यु भयो।

स्वर्णिम रविको रेट्रोफिटिङ बनेर रास्वपा भित्रिए। एकआपसको सहयोगमा दुवैले चुनाव जिते। नागरिकको विश्वास जिते। उनीहरू एकअर्काका सहयोगी बनून्। आम अभ्यासमा जस्तो कृतघ्न सम्बन्ध नबनोस्।

अब कुरा गरौं बीपी कोइरालाको। उनी तत्कालीन समाजका प्रतिष्ठित पिताका छोरा थिए। शानसौकत राम्रै थियो। आर्थिक र सामाजिक प्रतिष्ठा नपुगेका मानिस थिएनन्। राजकाजसँग निकट नै थिए। आफ्नो र आफ्नो परिवारका लागि मनग्ये गर्न सक्थे। उनका पिता कृष्णप्रसाद कोइराला सामाजिक विभेद, कुरीति, पछौटेपन र तत्कालीन राजा–रजौटाको अन्याय र उत्पीडन असह्य भएर त्यसको विरोधमा उत्रेका थिए।

कृष्णप्रसादले उपहारमार्फत आफ्नो असहमति जाहेर गरेका थिए। चन्द्रशमशेरलाई दिएको उपहार विरोधको प्रतीक थियो। उनी जहानियाँ राणाशासन विरुद्ध बीउ रोप्ने क्रान्तिकारी सपुत थिए। छोरा बीपीले तिनै पिताको स्वतन्त्रता र समानताको क्रान्तिलाई सामाजिक सिद्धान्तमार्फत सफल बनाउन चाहन्थे। अनि उनले लोकतान्त्रिक समाजवादको दार्शनिक मोडेल तयार पारे र सोही आधारमा नेपाली कांग्रेस बन्यो।

स्वतन्त्रता र सामाजिक न्यायको वकालत गर्ने बीपीले राष्ट्रियता, प्रजा(लोक)तन्त्र र समाजवादको माध्यमबाट असमानता तथा शोषणको अन्त्य गर्न पहिला जहानियाँ शासनको निरंकुशता अन्त्य गर्न लागे। आम नागरिकको मुक्तिका लागि उनले सुरु गरेको अभियान कति सफल भयो वा भएन, त्यो आफ्नो ठाउँमा छ। तर उनले कति पीडा भोगे भन्ने कुराको साक्षी इतिहास आफैं छ।

चुनावी प्रसंगले रविले स्वर्णिमको र स्वर्णिमले रविको प्रशंसा गरे। स्वर्णिमको प्रशंसा त एक हदसम्म सामाजिक सञ्जालमा ट्रोल पनि बन्यो। तर पनि रवि बीपीको अंश भन्दा कांग्रेसको अंश वा विकल्प रास्वपा बन्ला ? प्रश्न जन्मिएको छ। समयले तुलना गर्नुपर्ने अवस्था ल्याएको छ किनकि रविको पार्टीमा अधिकांश मानिस कांग्रेसबाट आएका छन् र कांग्रेसको आबद्धतासँग साइनो छ।

अर्को सत्य कुरा के हो भने उपचुनाव अघि रास्वपा अध्यक्ष रविप्रति धेरै प्रश्न उठे। काण्डहरू जोडिए। उनी प्रश्नहरूले घेरिंदा उनीप्रतिको विश्वास डगमगाउन थालेको थियो। त्यति नै बेला रास्वपामा स्वर्णिमको प्रवेशले एउटा नयाँ विश्वासको सञ्चार भने भयो।

स्वर्णिम रविको रेट्रोफिट बनेर रास्वपा भित्रिए। एकआपसको सहयोगमा दुवैले चुनाव जिते। नागरिकको विश्वास जिते। उनीहरू एकअर्काका सहयोगी बनून्। आम अभ्यासमा जस्तो कृतघ्न सम्बन्ध नबनोस्। शुभकामना।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?