
१६ जेठ,काठमाडौं । सरकारले भन्सार एजेन्टको लाइसेनस भाडामा लगाउने प्रथाको अन्त्य गरेको छ । सोमबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले भाडामा प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज गरेको हो । नयाँ व्यवस्थाले भन्सार जाँच पासमा अनुमति नलिएका व्यक्तिहरुको प्रवेश निरुत्साहित गर्छ । आर्थिक विधेयक २०८०/८१ अनुसामा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरु हटाइएको हो ।
भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ ।’
तर सरकारले सो व्यवस्थालाई संशोधन गरी ‘निकासी वा पैठारी हुने मालबस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसंग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ ।
उपदफा १ को आधारमा भन्सार नियमावली २०६४ को नियम ३७ मा भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्थाको उपनियम ९ मा भन्सार एजेन्टले बढिमा २ जना व्यक्तिलाई आफ्नो प्रतिनिधिको रुपमा नियुक्त गर्न सक्ने व्यवस्था गरेको थियो । संशोधित भन्सार ऐन अनुसार अब भन्सार एजेन्ट स्वयम् भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँचपास गर्नुपर्ने भएको छ । र यो व्यवस्था आर्थिक विधयक सँगसँगै लागु भएको छ । साथै यसै आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले ६१८ जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको छ ।
यसअघि भन्सार एजेन्टको लाइसेन्स लिएका व्यक्तिले दुई जना प्रतिनिधि राख्न पाउने व्यवस्थालाई हटाएर लाईसेन्स बहाक मात्रै जाँचपासमा रहन पाउने व्यवस्था गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए ।
प्रतिक्रिया 4