 
																			२३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्काएको बताए ।
यसबारे आफ्नो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको भन्दै पनि आएको भन्दै उनले अर्थमन्त्रीलाई तीन प्रश्न गरे ।
पहिलो : यो वर्ष षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ?
दोस्रो : एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रक्रिया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ?
र, तेस्रो : ३ करोड जनसंख्या भएको देशमा ३०/३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एक जना वा दुई जना मात्र हुन् ? कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तराष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौं जनाको काडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?
कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरिएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4