 
																			२६ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलका नेताको प्रतिवाद गर्दै चालु आर्थिक वर्षको बजेटको बचाउ गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चालु आबको बजेट फेल भएको मात्र होइन, शून्य अंक दिने बताएका छन् ।
मााओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री शर्माले ओलीको प्रतिवाद गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै शर्माले आफ्नो बजेटलाई शून्य अंक दिने ओलीको मूल्यांकन सत्ताबाट विमुख हुनु पर्दाको पूर्वाग्रह र प्रतिशोधयुक्त मात्र भएको बताए । उनले उच्चस्तरीय आयोग नै बनाएर विगत १० वर्षको बजेटका समीक्षा गर्न समेत चुनौती दिएका छन् ।
चुनावी वर्ष भएकाले निर्वाचन आचार संहिता लगायतका कारण सुरुवातमै बजेट कार्यान्वयमा केही समस्या भएको र राजनीतिक समीकरणमा आएको हेरफेरले पनि असर गरेको उनले बताए । १० पुसमा नयाँ सरकार बनेपछि नयाँ अर्थमन्त्री (एमाले उपाध्यक्ष विष्णु पौडेल)ले त बजेटमा नराम्रोसँग छेडछाड गरेको उनको दाबी छ । ‘देशको होइन, आफ्नो हित खोज्नुभयो’, भेरी कर्णाली कोरिडोर लगायतका थुप्रै योजनाको टेण्डर अहिलेसम्म नभएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री शर्माले भने, ‘बजेट कार्यान्वयन नगर्न निर्देशन दिने, टेण्डर प्रक्रिया अवरुद्ध गर्ने क्रियाकलाप गर्नुभयो ।’
यद्यपि आफूले ल्याएको बजेट समृद्ध देश बनाउने योजनाका साथ आएको उनको दाबी छ । समृद्ध देश बन्नलाई जीडीपी बढ्नुपर्ने र उत्पादनले मात्र जीडीपी बढ्ने भन्दै उनले आफूले ल्याएको चालु अबको बजेटका केही योजनाको स्मरण समेत गरेका छन् ।
स्टील उद्योग, अटोमोबाइल एसेम्बलिङ प्लान्ट, एक्सपोर्ट रीबेट, उद्योगलाई बिजुलीमा सहुलियत, पर्यटन पूर्वाधारका लागि सुविधा, मोटरसाइकल र गाडीमा निम्न वर्गलाई कम दर र विलासी गाडीमा बढी कर, आईटी सेवा र उत्पादन निर्यातमा कर छुट, कमर्सियल कृषि फार्मिङमा कर छुट, उद्योगका कच्चा पदार्थमा कर छुट, फिनिस्ड गुड्समा कर वृद्धि, रुग्ण तथा बन्द उद्योगको पुनः संचालन र कर वृद्धि गरी सुपारी तस्करीको अन्त्य आफूले ल्याएको बजेटको आधारभूत सिद्धान्त र मान्यता भएको उनले बताए ।
बजेटमा लिइएको स्लिटसम्बन्धी नीतिले करिब २८०० करोड नयाँ लगानी आएको र ३ हजार प्रत्यक्ष रोजगारी सृजना भएको भन्दै उनले भने, ‘खेर जाने ५०० मेगावाट थप विद्युत खपत गरेर आम्दानी गर्यौं । २४ घण्टा सञ्चालनमा रहँदा विद्युतको मूल्य ४२ अर्ब पुग्छ ।’ बिलेट स्वदेशमै उत्पादन भएर आयात रोकिँँदा ३० अर्ब हाराहारी विदेशी मुद्रा संचिती भएको उनको दाबी छ ।
यो प्रक्रियामा धौवाडी फलाम खानी उत्खननसँगै नेपाल पूर्णरुपमा फलाममा आत्मनिर्भर हुने भन्दै पूर्वअर्थमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई प्रश्न गरे, ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउने प्रक्रिया यही होइन ?’
आटोमाबाइल एसेम्बलिङ प्लान्टलाई प्रोत्साहित गर्ने आफ्नो नीतिलाई ओलीले सीमा पारी चार पांग्रा खोलेर नेपालमा ल्याएर नटबोल्ट कस्ने काम मात्र भएको भनेर टिप्पणी गरेको भन्दै उनले असन्तुष्टि जनाए । विकसित देशहरुले औद्योगिकीकरणको सुरुवात यसरी नै गरेको भन्दै यो व्यंग्य र मनोरञ्जन गर्ने विषय नभएको बताए ।
शर्माले अघि भने, ‘मैले प्रोत्साहन नीति सुरु गर्दा २ वटा एसेम्बलिङ उद्योग थिए । ६ वटा नयाँ थपिएर आज ८ वटा सञ्चालनमा छन् । ६/७ अर्बको लगानी र १२०० रोजगारी थपिएको छ ।’
निर्यातमा ८ प्रतिशत अनुदान दिने आफ्नो नीतिका कारण प्लाइउड एक्सपोर्ट ३०/३५ करोडबाट ८०० करोड पुगेको उनले दाबी गरे । ‘सेनेटरी प्याडबारे पनि हंगामा भयो । तर आज गर्व साथ भन्छु– कच्चा पदार्थमा दिएको छुट र निर्यात अनुदानका कारण शून्यबाट १५० करोडको निर्यात भइसकेको छ’, पूर्वअर्थमन्त्री शर्माले भने, ‘सिमेन्ट, स्टील, जुत्ता आदिको निकासी क्रमशः वृद्धि हुँदै जाने कुरामा हामी हेर्ने नै छौं ।’
नेपालको इतिहासमा पहिलो पटक सिमेन्ट निर्यात भएको भन्दै उनले यो सुखी नेपाली, समृद्ध नेपालको नारासँग मेल खायो कि खाएन भनेर प्रश्न गरे । बन्द उद्योग सन्चालनमा ल्याउने आफ्नो नीतिअनुसार राष्ट्रिय आविष्कार केन्द्रको व्यवस्थापनमा वीरगञ्जको कृषि औजार कारखाना पुनः सन्चालनमा ल्याएको उनले बताए । यद्यपि सम्झौता अनुरूपको बजेट व्यवस्था नहुँदा अपेक्षा बमोजिम कृषि औजार उत्पादन हुन नसकेको उनले बताए ।
कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ आफूले बजेट बढाउनुका साथै कृषि पेन्सन, सस्तोमा ऋण लगायतका योजना अघि सारेको बताए । तर १० पुसपछि बनेको नयाँ अर्थमन्त्रीको पहिलो निशाना नै कृषि क्षेत्र बनेको भन्दै उनले भने, ‘कृषिमा आत्मनिर्भर हुन छुट्टाइएको विनियोजित १० अर्ब बजेट काटिदिनुभयो ।’
‘अनि श्रृंखलावद्ध हमला सुरु भयो’
अधिकांश समय ओलीको प्रतिवादमा खर्चिएका शर्माले केही गम्भीर आरोप समेत लगाए । सुपारी तस्करी रोकेको र खैनी चुरोटमा कर बृद्धि गरेकै कारण आफूमाथि श्रृंखलाबद्ध हमला भएको उनको दाबी छ ।
आफू अर्थमन्त्री बन्नुपूर्व २५ हजार मेट्रिक टन सुपारीको कोटा वितरण भएको र निकासी चोरबाटोबाट गर्दा केही तस्कर र तिनका संरक्षकले १२०० करोड कमाएको उनले उल्लेख गरे । यसले देशको डलर संचितिमा ह्रास आउनुका साथै कालोधनले अर्थतन्त्रमा जोमिख निम्त्याउने भएपछि आफूले भारतमा सुपारीको मूल्य बराबर हुने गरी कर र अन्तशुल्क बढाएको उनले बताए ।
छिमेकी देशको मूल्य बराबर गर्न सुर्तीजन्य पदार्थ र चुरोटमा १९ प्रतिशतसम्म कर बढाएको पनि कतिपयलाई मन नपरेको भन्दै पूर्वअर्थमन्त्री शर्माले भने, ‘अनि ममाथि श्रृंखलाबद्ध हमला सुरु भयो ।’
‘मलाई हमला गरेको मुख्य कारण खैनी, चुरोट र सुपारीमा कर वृद्धि नै हो । यसका पछाडि के थिए भन्ने त्यसबेलामा मिडिया रिपोर्टमा उनीहरुका अनुहार प्रष्ट देखिएकै थिए’, उनले भनेका छन् ।
बजेट निर्माणलाई लिएर पनि आफ्नोबारे दुश्प्रचार गरेको र चिन्दै नचिनेको नासुलाई अगाडि सारेर संसदमा हंगामा गरेको पूर्व अर्थमन्त्री शर्माको दाबी छ । संसदीय समितिले सबै आरोप निराधार भनेर खारेज गर्दा पनि आफूलाई लान्छना लगाउने गरिएको भन्दै उनले भने, ‘मैले बनाएको बजेटको म पुरा जिम्मा लिन्छु ।’
आफूले ल्याएको बजेटमा गर्व गर्ने भन्दै उनले त्यो बजेटका कारण देशलाई कुनै हानि भएको रहेछ भने आफूले जिम्मा लिने समेत बताए ।
हालसम्म बजेट निर्माण गर्दा कहाँ–कहाँ सूचना चुहावट भएका छन् भन्ने छर्लंग रहको भन्दै उनले भने, ‘मेरो प्रस्ताव छ– २०४६ सालपछि ८० सम्मको सबै राजनीतिज्ञ, कर्मचारी, सेना, प्रहरी, आयोग र न्यायपालिकाको सम्पत्ती छानबिन आयोग बनाऊ । तर ललिता निवासको जग्गा फिर्ता गरेर उन्मुक्ति दिएको नाटक नगरौं ।’
 
                









 
                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4