इन्टर छाडेर टर्किस क्लब फेनरबाचे पुगे जेको
८ असार, काठमाडौं । बोस्नियन फरवार्ड इडिन जेको फ्री ट्रान्सफरमा इटलीको इन्टर मिलान छाडेर टर्कीको फेनरबाचे पुगेका छन् ।
दुई साताअघि च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीसँग १–० को हार नै जेकोको इन्टरका लागि अन्तिम खेल बन्न पुग्यो ।
३७ वर्षीय यी स्ट्राइकरले टर्किस क्लबका लागि २ वर्षको सम्झौता गरेका छन् ।
‘बाइबाई इन्टर, यो दुई वर्ष शानदार रह्यो,’ जेकोले इन्स्टामा लेखेका छन्, ‘यो यात्रा अद्भूत थियो ।’
सन् २०२१ मा रोमाबाट इन्टर आएका जेकोको सम्झौता जुनको अन्तिमसम्म थियो ।
उनले इन्टरमा रहँदा १०१ खेलमा ३१ गोल गरेका छन् ।इन्टरका लागि उनले दुईपल्ट कोपा इटालिया उपाधि जिते ।
त्यसअघि यी स्ट्राइकरले म्यानचेस्टर सिटीबाट प्रिमियर लिग र वुल्फवर्गका लागि बुण्डेसलिगा उपाधि जितेका छन् ।
उनले आफ्नो क्लब करिअरमा ३०० भन्दा बढी गोल गरेका छन् । जेकेको फेनरबाचेमा प्रतिसिजन ३.६ मिलियन पाउण्ड पाउने क्लबले जानकारी दिएको छ ।
प्रतिक्रिया 4