वयस्क व्यक्तिको तुलनामा बच्चाहरुले धेरै नै बान्ता गर्ने गर्छन् । शिशुले दूध, खाना खान सक्ने बच्चाले खानेकुरा नै बान्ता गरेर निकालिरहेका हुन्छन् । नवजात शिशुले दूध बान्ता गरेमा त्यसलाई सामान्य रुपमा नै लिनुपर्छ । शिशुले आमाको दूध खाने बेलामा मुखमा हावा छिर्दा बच्चाले वान्ता गर्छ । त्यस्तै धेरै दूध खुवाउँदा बान्ता हुनसक्छ ।
दूधबाहेक अन्य खानेकुरा खान थालेका बच्चामा बान्ता गर्ने समस्या अलि बढी देखिन्छ । किनकि यतिबेला बच्चाले भुईंको जे भेटाए पनि मुखमा हाल्ने हुन्छ, जसकारण कीटाणुको संक्रमण भएर बान्ता हुन्छ । त्यस्तै बच्चालाई धेरै खाना खुवाएमा पनि बान्ता हुन्छ । पाचन प्रक्रियामा समस्या भएमा र दिसा-पिसाबको समस्या भएमा पनि बच्चालाई बान्ता हुन्छ ।
यसबाहेक भाइरस, ब्याक्टेरिया कारण बान्ता हुने सम्भावना अधिक हुन्छ । त्यस्तै उमेर बढ्दै जाँदा अपचका कारणले पनि बान्ता हुन सक्छ । अत्यधिक जंकफुड सेवन गरेमा पनि बान्ता हुन सक्छ ।
लामो समयसम्म बान्ता रोकिएन भने के गर्ने ?
लामो समयसम्म बान्ता भयो भने के कारणले बान्ता भयो भन्ने पत्ता लगाउनुपर्छ । त्यसका लागि चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । जस्तै, ब्याक्टेरियाको संक्रमण, आन्द्राको समस्या, मधुमेह, इपेन्डिसाइटिस (पेट दुखेर बान्ता भएमा), पाचन प्रक्रियाको समस्या, मेनिनजाइटिस संक्रमण (दिमागको संक्रमण), युरिन इन्फेक्सन, मिर्गौलामा पत्थरीका कारणले बान्ता हुन सक्छ । आन्द्रा बटारियो भने आन्द्राको नियमित चालमा अवरोध सिर्जना भएर पनि बान्ता हुन सक्छ । के कारणले भएको हो त्यहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । कमजोर, अचेत, खान नखाने भएमा चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ ।
बालबच्चालाई औषधि खुवाउँदा किन औषधि नै बान्ता गर्छन् ?
यदि बान्ता नहुने औषधिको सेवन गराएर पनि बान्ता रोकिएन भने चिकित्सकलाई जाँच गराइहाल्नुपर्छ । कतिपय अवस्थामा बच्चालाई औषधि दिंदा पनि बान्ता हुन सक्छ । यस्तो एउटा कारण औषधि तीतो भएर अर्को बच्चालाई एकैचोटि औषधि खुवाउनाले पनि बान्ता हुने गर्छ । त्यसैले यदि बच्चालाई औषधि पाँच एमएल खुवाउनुपर्छ भने थोरै थोरै केही मिनेटको समयमा खुवाउने गर्नुपर्छ । जसकारण बान्ता गर्ने सम्भावना न्यून हुन्छ ।
बच्चाले बान्ता गरेमा के गर्ने ?
शिशुलाई दूध खुवाउँदा सुतेर नभई बसेर दूध खुवाउने, दूध खुवाउने बित्तिकै बच्चालाई नसुताउने, बान्ता भएर शरीर काम्ने, बेहोस वा अचेत भएमा बच्चालाई दाहिने वा देब्रे कोल्टा पारेर सुताउने, उत्तानो पारेर नसुताउने गर्नुपर्छ ।
यदि बान्ता गरे पनि बच्चाले खाना राम्रोसँग खान्छ, हिंडडुल गर्छ भने त्यस्तो अवस्थामा झोलिलो खानेकुरा खुवाउने, जीवनजल खुवाउन सकिन्छ । त्यस्तै चिकित्सकलाई देखाएर तौल अनुसार बान्ता नहुने औषधिको सेवन गराउने गरिन्छ ।
जोखिम
यदि बान्ता हरियो रंगको, पेट फुलेमा, ज्वरो आएमा, शरीर सुस्त, कमजोर, काम्ने, बेहोस हुने, ज्वरो आएमा, बान्तासँगै झाडापखाला भएमा, खान खान छोडेमा, जोखिम हुन सक्छ । त्यस्तै बान्ता नहुने औषधि खाएपछि पनि निरन्तर बान्ता भएमा तुरुन्तै चिकित्सकलाई जाँच गराउनुपर्छ ।
प्राथमिक उपचार
यदि शिशुलाई दूध खुवाउँदा बान्ता हुन्छ भने यसका लागि शिशुलाई दूध खुवाइसकेपछि कम्तीमा १५-२० मिनेट बच्चालाई ठाडो पारेर राख्ने, बच्चाको पिठ्यूँमा थम्थमाउने गर्नुपर्छ । यस्तो गरेमा बच्चाले बान्ता गर्ने सम्भावना कम हुन्छ । त्यसैले बच्चालाई दूध खुवाउने बित्तिकै नसुताउने गर्नुपर्छ । यदि बान्ता भयो भने पानीको मात्रा शरीरमा बढाउने, जीवनजल खुवाउने जस्ता प्राथमिक उपचार गर्न सकिन्छ ।
उपचार
बच्चालाई बान्ता भएमा चिकित्सकलाई जाँच गराएर बच्चाको तौल अनुसार बान्ता नहुने औषधि खुवाउने, जीवनजल खुवाउने, झोलिलो खानेकुरा जस्तै दाल खुवाउनुपर्छ । बान्ता गरेको कपडा फेरिदिने, मुख कुल्ला गराउने गर्नुपर्छ । घरमै प्राथमिक उपचारतर्फ लाग्नुभन्दा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।
(बालरोग विशेषज्ञ डा. चिकंबञ्जार भक्तपुरको च्याम्हसिंहस्थित ख्वप: अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)
                            
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                                        
                            
                            
                            
                            
                                        
                            
                                        
                        
                        
                        
                        
                            
                            
                            
                                        
                            
                            
                                        
                            
प्रतिक्रिया 4