
२९ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि सवा अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ ।
बजेटको तयारीका सिलसिलामा बोर्डले बिहीबार आयोजना गरेको छलफलका क्रममा बजेट समितिका संयोजक तथा बोर्ड सदस्य मिलन देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार बोर्डले निजी क्षेत्रसँगको छलफल र समन्वयमा बजेट ल्याउने तयारी गरेको छ ।
सोही सिलसिलामा बिहीबार निजी क्षेत्रका प्रतिनिधिमुलक संघसंस्थासँग बोर्डले सुझाव संकलन समेत गरेको छ । संयोजक देवकोटाका अनुसार आगामी आर्थिक वर्षको ८० प्रतिशत बजेट अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन तथा बाँकी रकम आन्तरिक पर्यटन प्रर्वद्धन तथा पूर्वाधारमा खर्चिने बोर्डको योजना छ ।
बोर्डको मुख्य काम नै पर्यटन प्रवद्र्धन रहेको भन्दै उनले निजी क्षेत्रबाट प्राप्त सुझावले बजेट कार्यान्वयन समेत सहज हुने उनले बताए ।
बोर्डले बिहीबार आयोजना गरेको छलफलमा विगत वर्षहरुको बजेटको समीक्षा सहित नयाँ बजेटबारे निजी क्षेत्रको राय सुझाव संकलन गरिएको थियो । छलफलका क्रममा पर्यटन क्षेत्रसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिले बोर्डको बजेटले डिजिटलाइजेशनलाई जोड दिनु पर्ने बताएका ।
उनीहरुले बजेटको प्रभावकारी कार्यान्वयनमा समेत प्राथमिकता दिन सुझाव दिए । उनीहरुले अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा परम्परागत भन्दा पनि नयाँ ढंगले गर्न बोर्डलाई सुझाव दिए । निजी क्षेत्रका प्रतिनिधिले बोर्डले आयोजना गर्ने आन्तरिक तथा अन्तरराष्ट्रिय कार्यक्रमहरुमा निजी क्षेत्रको सहभागितालाई बढि भन्दा बढि सहभागि गराउन पनि सुझाव दिए ।
बोर्डले निजी क्षेत्रको सुझावलाई समेटेर बजेट तर्जुमा गर्ने र बजेट निजी क्षेत्रमैत्री हुने बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बताए । उनले छलफलका क्रममा निजी क्षेत्रबाट रचनात्मक सुझाव आएको समेत जानकारी दिए । ती सुझावलाई समेटेर बजेटलाई अन्तिम रुप दिइने उनको भनाई छ ।
बोर्डका सदस्य मदन आचार्यले निजी क्षेत्रसँग गरिएको छलफल फलदायी भएको र यसले बजेट निर्माण तथा कार्यान्वयन सहज हुने बताए । छलफलका क्रममा होटल संघ नेपाल (हान), प्यासिफक एशोसिएसन अफ ट्राभल एजेन्टस (पाटा) ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्सिज (नाटा), नेपाल र्याफटिङ एजेन्सिज (नारा) नेपाल माउण्टेनियरिङ एशोसिएसन (एनएमए) एनटीभिए, एनटीबीए, सोट्टो, लयायतका संस्थाका प्रमुख सहभागी भए ।
प्रतिक्रिया 4