+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनको क्यान्सर अस्पताल तीन महिनादेखि कार्यकारी निर्देशकविहीन, अध्यक्षलाई दिइयो आर्थिक अधिकार

सुवास पण्डित सुवास पण्डित
२०८० साउन ११ गते ७:१६
चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रशासकीय भवन । फाइल फोटो

११ साउन, चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक रिक्त भएको तीन महिना हुन लाग्यो । अस्पतालको दैनिक कामकाज सञ्चालन गर्ने कार्यकारी निर्देशक नै नियुक्ति हुन नसक्दा कर्मचारीले गत वैशाख महिनादेखिको तलब पाएका छैनन् ।

तीन महिनादेखिको तलब खान नपाएको भन्दै अस्पतालका कर्मचारीहरुले यसअघि प्रशासन घेराउ लगायतका विभिन्न दबावमूलक कार्यक्रम पनि गर्दै आएका थिए । अस्पतालको सामान खरिद, दैनिक कामकाज सञ्चालनमा पनि समस्या भएको छ । औषधी, अक्सिजन लगायतका अत्यावश्यक सामान खरिद, भुक्तानी जस्ता कामहरू पनि ठप्प छन् ।

अस्पताल जस्तो संवेदनशील ठाउँमा यतिका महिनासम्म कार्यकारी निर्देशक नियुक्ती हुन नसक्नुका पछाडि सत्ताधारी दलहरुबीच पदीय भागबण्डा नमिल्दाको परीणाम भएको अस्पतालका चिकित्सकहरु बताउँछन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्ला हो चितवन । अर्कोतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत छन् । दुवैले आफू अनुकूलका व्यक्तिलाई कार्यकारी निर्देशक बनाउन चाहेका छन् । तर सहमति जुटेको छैन । कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ हुनुको प्रमुख कारण यही नै रहेको अस्पतालका एक चिकित्सकले बताए ।

कार्यकारी निर्देशक नियुक्तिका लागि कांग्रेसबाट यसअघि कार्यकारी निर्देशक भएर काम गरिसकेका डा. विजयराज आचार्य, डा. शिवजी पौडेल तथा माओवादी केन्द्रबाट अहिलेका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्मा लागिपरेका छन् । पहिला कांग्रेसका तर पछि माओवादी प्रवेश गरेका डा. विजयराज न्यौपानेलाई सरकारले २०७९ चैत २० गते अस्पतालको अध्यक्ष बनाइसकेको छ । सोही कारण कार्यकारी निर्देशक कांग्रेस निकटका चिकित्सकले पाउनुपर्ने दावी एकाथरीको छ ।

अस्पताल नै ठप्प हुने गरी कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरेपछि अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नभइन्जेलका लागि अध्यक्ष डा. विजयराज न्यौपानेलाई नै आर्थिक अधिकार प्रदान गर्ने निर्णय मंगलबार गरेको छ ।

कांग्रेसकै भागमा कार्यकारी निर्देशक आउँदा पनि डा. आचार्य र डा. पौडेलमध्ये को हुने भन्ने तानातान उत्तिकै छ । एकाथरीले डा. आचार्य अनुभवी भएको र अस्पतालको विकासमा काम गरेकाले एकपटक पुनः मौका दिनुपर्ने भन्दै लबिइङ्ग गरिरहेका छन् । अर्को समूहले भने डा. आचार्य एकपटक कार्यकारी निर्देशक भैसकेकाले डा. पौडेललाई अवसर दिनुपर्ने मत राखिरहेको छ ।

कार्यकारी निर्देशक चयनका लागि क्यान्सर अस्पताल सञ्चालक समितिले अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि र बोर्डले तोकेको एक जना बोर्ड सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने प्रावधान छ । अहिलेसम्म बोर्डले सिफारिस समिति नै बनाउन सकेको छैन । सिफारिस समितिको संयोजकका विषयमा बोर्ड भित्र लफडा छ । एकथरीले डा. अनि विक्रम कार्कीलाई संयोजक बनाउनुपर्ने माग गरिरहेका छन् भने अर्काथरीले डा. कार्कीले एकलौटी गर्न सक्ने भन्दै उनलाई हुन नदिन जोड गरिहेका छन् ।

डा. कार्की संयोजक भएमा डा. कृष्ण सागर शर्मा र डा.शिवजी पौडेलको मात्रै नाम सिफारिस गर्ने डर एक पक्षलाई छ भने कार्की पक्षलाई आफू संयोजक नभए डा. पौडेलको नाम फालेर डा. न्यौपाने र डा.शर्माको नाम मात्रै सिफारिस गर्ने भय छ । बोर्डमा डा. कार्कीको पक्षमा उनीसहित डा.रिता महासेठ, डा. रश्मी पुन र सिलादेवी अधिकारी छन् । सिफारिस समितिलाई ३ जनासम्मको नाम सिफारिस गर्ने अधिकार दिइए पनि एकले अर्कोलाई फाल्ने डर कांग्रेस भित्रका दुवै पक्षलाई छ ।

अस्पतालका अध्यक्ष डा. न्यौपानेले बोर्डबाट सिफारिस समितिको तयारी नपुगेको र अर्को बैठकबाट चाँडै नै सिफारिस समिति गठन गर्ने बताए । यसअघि दुईपटक बसेका बैठकले बोर्डबाट कार्यकारी निर्देशक नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने प्रयास गरे पनि सफल हुन सकेन । बोर्ड सदस्य पूर्ण भएपछिको पहिलो बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि मन्त्रालयमै बसेको बैठकमै पनि आएका थिएनन् ।

आर्थिक अधिकार अध्यक्षलाई

अस्पताल नै ठप्प हुने गरी कर्मचारीहरुले आन्दोलन गर्ने तयारी गरेपछि अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नभइन्जेलका लागि अध्यक्ष डा. विजयराज न्यौपानेलाई नै आर्थिक अधिकार प्रदान गर्ने निर्णय मंगलबार गरेको छ । डा. न्यौपानले कर्मचारीहरुलाई तलब खुवाउनेदेखि औषधि, अक्सिजन खरिद तथा विलहरुको भुक्तानी गर्नेछन् ।

‘अहिले अल्पकालीन रुपमा अस्पताल चलाउने आर्थिक अधिकार बोर्डले मलाई दिएको छ, अड्को मात्रै फुकाएर जाम भन्ने हो,’ अध्यक्ष न्यौपानेले भने, ‘सबै काम गर्नका लागि त कार्यकारी निर्देशक नै चाहियो, यसरी त सधैं सम्भव हुने कुरा पनि भएन ।’ अध्यक्ष न्यौपानेले विगत ६ महिनादेखि अस्पतालले राम्रोसँग आफ्नो काम गर्न नसकेको बताए ।

गत माघ १२ गते अस्पतालका अध्यक्ष डा. निर्मल लामिछानेको कार्यकाल सकिएपछि बोर्डको बैठक बस्न सकेको थिएन । डा. न्यौपानेलाई सरकारले २०७९ चैत २० गते नियुक्त गरेर २९ गते उनी अस्पतालमा हाजिर भएका थिए । तर, फागुनमै बोर्ड सदस्यहरुको समयअवधि सकिएपछि पूर्ण बैठक बस्न सकेको थिएन ।

कार्यकारी निर्देशक डा. देजकुमार गौतमको तीन वर्षे कार्यकाल गत वैशाख २४ गते सकिएपछि अस्पतालका दैनिक कामकाजहरु सबै लथालिंग बनेका छन् । लामो समयसम्म ६ जना बोर्ड सदस्य नियुक्त हुन नसक्दा अस्पतालको कार्यकारी निर्देशक नियुक्त गर्ने विषय नै अड्किएको थियो । गत असार २२ गते सरकारले रिक्त रहेका ६ जना बोर्ड सदस्य नियुक्त गरेको थियो ।

१४ सदस्यीय बोर्ड सदस्यमा डा. दिनेश विक, डा.रश्मी पुन, डा.रिता महासेठ, डा. अनिलविक्रम कार्की, दिलीप पौडेल र शीलादेवी अधिकारी छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?