 
																			१३ साउन, पोखरा । स्थानीयको अवरोधका कारण ४ दिनदेखि उठाउन रोकिएको पोखरा महानगरको फोहोर आइतबारदेखि उठ्ने महानगरले जनाएको छ । महानगरले शनिबार एक भिडियो विज्ञप्ति जारी गरी सकेसम्म शनिबार साँझ, नभए आइतबारबाट फोहोर उठाउने जानकारी दिएका हुन् ।
‘स्थानीयसँग हाम्रो छलफल भइरहेको छ । उहाँहरुका २, ३ वटा इस्यु छन् । ती विषयलाई गम्भीर रुपमा लिएर हामीले काम गरिरहेका छौं’, महानगरबाट जारी भिडियो विज्ञप्तिमार्फत प्रवक्ता मोती तिम्सिनाले भनेका छन्, ‘सकेसम्म आज बेलुका नै नभए भोलिसम्म फोहोर व्यवस्थापन हुने सम्पूर्ण नगरवासीलाई जानकारी गराउन चाहन्छु ।’
महानगरले आफूहरुसँग गरेको सहमति ६ महिना बितिसक्दासमेत कार्यान्वयन नगरेको भन्दै स्थानीयले अवरोध गरेपछि पोखराको फोहोर ४ दिनदेखि उठ्न नसकेको हो । स्थानीयले बुधबारदेखि फोहोर बोकेका गाडी चल्न रोक लगाएका हुन् ।
पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । पोखरा महानगर सरसफाइ शाखाका अनुसार महानगरले दैनिक २ सय टन फोहोर व्यवस्थापन गर्दै आएको थियो । ४ दिनदेखि सडकमै फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ ।
महानगरले जारी गरेको भिडियो विज्ञप्तिमा प्रवक्ता तिम्सिनाले सडकमा फोहोर फ्याँकेर कतिपयले असभ्य व्यवहार देखाएकोसमेत बताएका छन् । ‘मुख्य बजार क्षेत्रका भित्री सडकहरूबाट चोक चोकमा फोहोर फ्याँक्ने काम भइरहेकाले त्यसको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने ।
महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो । ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4