 
																			२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।
छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी थिए ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारका समस्या समाधान गर्ने र त्यसलाई मर्यादित बनाउने विषयमा सुझाव मागेका थिए । सुझाव अर्को बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री प्रचण्डले भनेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न पनि निर्देशन दिएका थिए ।
छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको र यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोह समेत आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4