+
+
डिजिटल साक्षरता :

गाउँका महिलालाई उद्यमी बनाउने जियोकृषि एप

देशभर १० लाख महिला तथा साना किसानले जियो कृषि एपमा खेतको जीपीएस नक्सा, बालीहरूको विवरण, पशुपालनको तरिका, जलवायुमैत्री कृषि, कालिमाटीसहित देशका मुख्य शहरमा विक्री हुने तरकारीको मूल्यसूची सँगै मौसमलगायतका सम्पूर्ण विवरण समावेश छ ।

सहदेव चौधरी सहदेव चौधरी
२०८० भदौ ९ गते ६:२८

९ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ७३.२ प्रतिशत सर्वसाधारणले स्मार्ट फोन बोक्छन् । पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दै गएको छ ।

तर, स्मार्टफोनको प्रयोग कुराकानीका अतिरिक्त फेसबुक र टिकटक जस्ता सामाजिक सञ्जाल चलाउने धेरै हुने गर्छ । फुर्सद भयो कि सामाजिक सञ्जालमा व्यस्त हुने होइन मोबाइलको प्रविधि सदुपयोग गरेर उद्यमशील बन्ने महिलाको संख्या पनि बढ्दै गएको छ। उनीहरू मोबाइलकै माध्यमबाट आत्मनिर्भर हुन थालेका छन् ।

चितवनको कालिका नगरपालिका-४ की ३४ वर्षीया सुनिता बोट तिनैमध्येकी एक हुन् । कृषि पेशा गरिरहेकी उनी बजारमा तरकारीको भाउ घट्यो कि बढ्यो भन्ने मोबाइलबाटै थाहा पाउँछिन् । कुन समयमा कुन तरकारी लगाउने, मल, खाद र सिचाइँ कसरी गर्ने, मौसम कस्तो हुँदै छ भन्‍ने जानकारी पनि उनको मोबाइलमै आउँछ ।उनलाई यी सबै जानकारी जियो कृषि नामक एप्सले उपलब्ध गराइरहेको छ ।

उनी भन्छिन्, ‘पहिला गाउँघरमै ग्राहकले भनेकै भाउमा तरकारी बेच्थेँ । जियोकृषि एप्स चलाउन थालेपछि मेरो जीवनशैली नै परिवर्तन भयो । अहिले बजार भाउअनुरुप तरकारी बेच्न पाएकी छु । धेरै फाइदा भएको छ ।’

उनले जियोकृषि एप्स पनि श्रीमानको मोबाइल मागेर चलाउन थालेकी हुन् । उनी भन्छिन्, ‘पहिला मोबाइल किन चाहियो भनेर बोक्दिनथेँ। तर, जब जियो कृषिमा तरकारीलगायतका पशुपालनबारे जानरी पाइन्छ र फाइदा हुन्छ भन्‍ने थाहा पाएँ, श्रीमानको मोबाइल मागेर सिकेँ।’

आफूले यसको प्रयोग गर्न थालेपछि अरू छिमेकीहरूलाई पनि सिकाइदिन थालेको उनी बताउँछिन् । ‘कसैको बाख्रा बिरामी हुन्थ्यो भने कसैको गाइ/भैँसी। अस्पताल जाँदा समय धेरै खर्च हुन्थ्यो । तर यसले समय र पैसा दुवै बचत भयो’ उनी भन्छिन् ।

मोबाइलबाटै घरमै बसीबसी सूचना र जानकारी पाउन थालेपछि उनी हाल केरा खेती गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘ कोरोनाको समय त निक्कै अप्ठेरो थियो। घरबाहिर जानै नपाउने स्थिति थियो। मैले पनि यही मौकालाई मोबाइलबाटै हेरेर केरा खेती थालनी गरेकी हुँ । अहिले केरा खेतीले मनग्यै आम्दानी दिएको छ ।’

हाल उनी तरकारी र केरा खेती गरेर वार्षिक ५ लाख रुपैयाँ बचत गर्छिन् । उनी भन्छिन्, ‘ तरकारी खेती राम्रो भएको छ । विचौलियाले ठग्न पाएको छैन।’

मोबाइलबाटै घरमै बसीबसी सूचना र जानकारी पाउन थालेपछि सुनिता हाल केरा खेती गर्न थालेकी छिन् । उनी भन्छिन्, ‘ कोरोनाको समय त निक्कै अप्ठेरो थियो। घरबाहिर जानै नपाउने स्थिति थियो। मैले पनि यही मौकालाई मोबाइलबाटै हेरेर केरा खेती थालनी गरेकी हुँ । अहिले केरा खेतीले मनग्यै आम्दानी दिएको छ ।’

बर्दिया गुलरिया- ५ की ३५ वर्षीया उर्मिला नेपालीलाई पनि मोबाइल फोनबाटै जानकारी लिएर गाइपालन गर्दा सहज भएको छ । उनले अहिले पाँच वटा गाई थपेकी छिन् । उनलाई गाईको घाँस, खानेकुरा, भिटामीन र रोगहरू लाग्दा कसरी उपचार गर्ने र कहाँ लैजाने भन्नेबारे सबै जानकारी छ।

उनी भन्छिन्, ‘मैले पहिला गाईपालन गर्दा रोग लागेर हैरान भएकी थिएँ। समयमै गाईको औषधिउपचार नपाउँदा गाईले कम दूध दिन थालेको थियो। पछि जियो कृषि मोबाइल एप्स चलाउन थालेपछि गाईको उपचार गर्न सजिलो भयो। गाईले पहिलेभन्दा बढी दूध दिन थालेको छ। मैले गाई पनि थपेकी छु।’

एप्समा उपलब्ध ‘ईचौतारी’ मा गाईलाई कुनै रोग लागेमा कुराकानी गर्ने सुविधा छ । ‘त्यहीँ फोटो खिचेर पठाउँछौं। र त्यहाँ ई-चौतारीमा छलफल हुन्छ र पशु डाक्टरले समाधान दिनुहुन्छ,’ उनी भन्छिन् ।

ग्रामीण किसानलाई जियोकृषि एप्सको सुविधा अमेरिकी सहयोग नियोग (युएसएआईडी) को सहयोगमा हेफर इन्टरनेशनलले उपलब्ध गराएको हो । ग्रामीण महिलाको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर महिला उद्यमीलाई थप सशक्त गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हेफरका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी बताउँछन् ।

यसले गाउँघरका महिला किसानलाई सीप र ज्ञान प्रदान गर्ने र उद्यमशीलतामार्फत आत्मनिर्भर बनाउने उनको भनाइ छ ।

लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका एकेडेमिक सहायक निर्देशक डा. स्मृतिकला पन्त, काठमाडौं युनिभर्सिटीका प्रा.डा.विनोद श्रेष्ठ र तारा पन्थीले गरेको अध्ययनले ग्रामीण महिलाहरुमा स्मार्टफोनको प्रयोग बढ्दै गएकाले त्यसमार्फत उद्यमशीलता प्रवर्द्धन गर्न सकिने देखाएको थियो ।

उनीहरुले जियो कृषि एप्ससम्बन्धी कार्यक्रम कार्यान्वयन भएको क्षेत्रमा अध्ययन गरेकोमा त्यहाँ ९६ प्रतिशत ग्रामीण महिलाको घरमा स्मार्टफोन रहेको र ७५ प्रतिशतले स्मार्टफोनमा इन्टरनेट चलाउने गरेको देखिएको थियो। त्यस्तै ७० प्रतिशत महिलाहरूले प्रत्‍येक दिन १ देखि २ घण्टा नियमित स्मार्टफोन प्रयोग गर्ने गरेको पनि देखाइएको छ ।

ग्रामीण महिलाको पहुँचमा डिजिटल प्रविधि पुर्‍याएर महिला उद्यमीलाई थप सशक्त गर्ने उद्देश्यले डिजिटल साक्षरता कार्यक्रम लागू गरिएको हेफरका राष्ट्रिय निर्देशक डा. तीर्थराज रेग्मी बताउँछन् ।

उनीहरुको अनुसन्धान अनुसार ३९ प्रतिशत महिलाले स्मार्टफोनबाट कारोबार गर्ने गरेको तथ्यांक देखाइएको छ । यतिमात्रै नभएर व्‍यापारको लागि डिजिटल प्रविधिको प्रयोग ४४ प्रतिशत महिलाहरूले उद्यमशीलताबारेको जानकारी/ सूचना लिन स्मार्टफोनको प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै २७ प्रतिशत महिला किसानहरू कसरी उद्यमशीलताको पहुँचमा पुग्‍ने भन्‍नेबारेमा सोध्‍ने गरेको पाइएको छ ।

त्यस क्षेत्रमा ५५ प्रतिशत महिला तथा साना किसानले जियोकृषि एप्सको बारेमा थाहा पाएर उद्यम गर्न थालेको अध्ययनले देखाएको अध्ययन गर्ने पन्त र पन्थीले बताए ।

उनीहरू भन्छन्, ‘ यसले के देखाउँछ भने ग्रामीणमा महिलाहरू प्रविधिमा विस्तारै पोख्त हुँदैहुनुहुन्छ। यसबाट सीप विकास, आफ्नो बिजनेस गर्न सक्ने क्षमता र निर्णय तथा आर्थिक रुपमा आत्मनिर्भर भई अरूलाई पनि सहयोग गरिरहनु भएको छ।’

यसका साथै थप प्रविधिको दक्षता र साक्षरता बढाउन किसानहरूलाई प्रभावकारी रुपमा जनचेतना बढाउनुपर्ने, नीति निर्माता र कार्यान्वयनकर्ताहरूसँग समन्वय गर्नुपर्नेमा उनीहरूको जोड छ।

पन्त भन्छिन्, ‘ अझै पनि डिजिटल साक्षरतामा खाडल देखिइरहेको छ। स्थानीय निकाय र विकासका साझेदार संस्थाहरूसँग सहकार्य गरी बजार विकासको पनि त्यति नै खाँचो छ। अनि बल्ल महिला तथा ग्रामीण किसानहरू आत्मनिर्भर बन्न सक्छन्।’

ग्रामिण महिलाहरूलाई उद्यमशीलताको सीप र दक्षतामा विकासका सबै साँझेदारहरूले सहयोग गरेमा मात्र दीगो विकासका लक्ष्य चुम्‍ने आट र सहास आउन सक्‍ने लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेल बताउँछन् ।

‘दीगो विकासका लक्ष्‍यहरूमा महिलाको समान सहभागिता हुनु जरूरी छ। अझ प्रविधिमार्फत महिला उद्यमीहरू नेपालले बढाउन सके दीगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान हुनेछ । साथै मर्यादित काम र आर्थिक वृद्धिले थप उचाइ लिनेछ ।’ पौडेल भन्छन् ।

ग्रामिण महिलाहरूलाई उद्यमशीलताको सीप र दक्षतामा विकासका सबै साँझेदारहरूले सहयोग गरेमा मात्र दीगो विकासका लक्ष्य चुम्‍ने आट र सहास आउन सक्‍ने लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेल बताउँछन् ।

आगामी दिनमा ग्रामिण महिलाको क्षमता वृद्धि र आर्थिक आत्मनिर्भरताका साथै समान सहभागितामा आफूहरूको सहयोग रहने योजना आयोगकी सदस्य अनिता शाह ढुंगाना बताउँछिन् ।

‘नेपाल कृषि प्रधान देश भएकाले यहाँ कृषिलाई उद्यममा रुपान्तरण गर्नु अहिले धेरै जरुरी छ। कृषिलाई प्रविधिको माध्यमबाट महिला दिदी बहिनीहरूले उकास्ने लक्ष्यमा लागेको देख्दा तीनै तहका सरकारले सहयोग, समन्वय र साथ दिनुपर्छ।’ ढुंगाना जोड दिन्छिन् ।

यता, देशभर  १० लाख महिला तथा साना किसानले जियो कृषि एप चलाउने गरेको जियोकृषि एप्सका  सञ्चालक विकास डंगोल बताउँछन् । उनी भन्छन्, ‘खेतको जीपीएस नक्सा, बालीहरूको विवरण, पशुपालनको तरिका, जलवायुमैत्री कृषि, कालिमाटीसहित देशका मुख्य शहरमा विक्री हुने तरकारीको मूल्यसूची सँगै मौसमलगायतका सम्पूर्ण विवरण समावेश छ । यसले किसान तथा कृषि उद्यमीलाई सहज बनाएको छ ।’

जियो कृषि एप्समा  बाली तथा पशु स्वास्थ्यको जाँच तस्वीर राखेर घरमै बसीबसी थाहा पाउने सुविधानसमेत रहेकाले कृषि उद्यमीहरूले बाली वा पशुमा कुनै रोग लागेमा एप्सबाटै पत्ता लगाउन सकिने डंगोल दाबी गर्छन् । उनी भन्छन्, ‘बाली तथा पशु स्वास्थ्य जाँचका लागि उहाँहरूले तस्वीर खिचेर वा बोलेर समस्या राखेमा हामीले सम्बन्धित विज्ञको प्रतिक्रिया वा सुझाव राखिदिन्छौं।  यसका लागि एस्पमै सहायता केन्द्रमा सम्पर्क नम्बर राखिदिएका छौं। ‘

यतिमात्रै  होइन कृषि एप्समा सरकारी कार्यालय (कृषि अनुसन्धान कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, कृषि विभाग अन्तर्गतका कार्यालयहरू, पशु सेवा विभाग अन्तर्गतका कार्यालयहरू, प्रादेशिक कृषि कार्यालयहरू, कृषि ज्ञान केन्द्र तथा भेटेनरी र प्रादेशिक कृषि मन्त्रालयहरू), कृषि शिक्षण संस्थान, गैर सरकारी संघ संस्थाहरू, नविनतम् कृषि प्रविधिहरू, समिति/ बोर्ड/संस्थान / मल खाद क्यालकुलेटर समेत राखिएको उनको भनाइ छ ।

‘कृषि उद्यमीहरुले आफूले कति क्षेत्रफलमा के तरकारी लगाउँदा कति मल, खाद चाहिन्छ  भनेर त्यही हिसाब किताब समेत गर्न सक्नुहुनेछ। साथै माटो अम्लीय छ की क्षारीय छ भनेर पनि सजिलै हिसाब गरेर माटोको परीक्षण गर्न सक्ने सुविधा एप्समा राखी दिएका छौं।’ डंगोल भन्छन् ।

लेखकको बारेमा
सहदेव चौधरी

समसामयिक र सूचना प्रविधिसम्बन्धी समाचार लेख्ने चौधरी अनलाइनखबर डटकमका वरिष्ठ उपसम्पादक हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?