
४ कात्तिक, काठमाडौं । आइतबार विहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एकाएक भूकम्पले हल्लायो । दशैंको बेलामा घरमा बसिरहेका धेरैलाई अत्यायो । काठमाडौं उपत्यकाका साथै धादिङ, गोरखा, नुवाकोट, मकवानपुर, चितवन लगायतका जिल्लासम्म भूकम्पको धक्का महसुस भयो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विहान ७ बजेर ३९ मिनेटमर धादिङको खरी आसपासलाई केन्द्र बिन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिनभरमा ४ वा सोभन्दा माथि म्याग्निच्युडको थप ६ वटा पराकम्प गएको छ, जसध्ये साँझ ५ बजेर ३१ र ३३ मिनेटमा गएको पराकम्प क्रमशः ५ र ५.१ म्याग्निच्युडको थियो । ४ म्याग्निच्युडभन्दा साना पराकम्प जोड्ने हो भने १२५ नाघिसक्यो ।
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार यो २०७२ कै भूकम्पको पराकम्प हो ।
१२ वैशाख २०७२ मा गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका पराकम्पमा परी झण्डै ९ हजारको मृत्यु भएको थियो भने २२ हजार भन्दा बढी घाइते भएका थिए । भूकम्पबाट १२ लाख घर तथा झण्डै चार हजार सार्वजनिक संरचनामा पूर्ण वा आंशिक क्षति पुगेको थियो । करिव ३ हजार सांस्कृतिक तथा धार्मिक सम्पदाहरुमा असर गरेको थियो ।
त्यो विनाशकारी भूकम्पबाट कुल ८८१ अर्ब रुपैयाँ भन्दा बढीको क्षति तथा नोक्सानी भएको सरकारी रेकर्डमा उल्लेख छ ।
भूकम्प गएको ८ वर्ष भइसक्दा पनि यसको पराकम्प रोकिएको छैन । वरिष्ठ भूकम्पविद् अधिकारी भन्छन्, ‘चार वा सोभन्दा माथिका पराकम्प नै झण्डै ६ सय पुगन लाग्यो । ससाना पनि जोड्ने हो भने ५० हजार नाघिसक्यो होला ।’
उनका अनुसार ठूलो भूकम्प गएपछि त्यसको पराकम्प कहिलेसम्म रहन्छ भन्ने यकिन हुन्न । २०० वर्षसम्म पनि पराकम्प गएको रेकर्ड रहेको भन्दै उनले भने, ‘यदि भूकम्पको रक्चर बाहिर आयो भने पराकम्प थोरै जान्छ । रक्चर बाहिर आएन, जमिनभित्रै एडजस्ट भयो भने लामो समयसम्म पराकम्प गइरहन्छ ।’
नेपालमा भने भूकम्प प्रतिरोधी संरचनाहरु नभएका कारण पराकम्प जाँदा पनि धेरैलाई डर लाग्ने गरेको उनले बताए ।
प्रतिक्रिया 4