 
																						१९ कात्तिक । अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहेपनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ । युद्धविरामले हमासलाई सहयोग पुर्याउने भन्दै उसले अस्वीकार गरिरहेको हो । लेबनन, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ती मुलुकका नेतालाइ भेट गरी तत्काल युद्धविराम गर्दा हमासलाइ सहयोग पुग्ने बताएको बीबीसीले जनाएको छ । तथापी गहिरँदो मानवीय संकटलाई मध्यनजर गर्दै केही पहल गर्ने पक्षमा अमेरिका रहेको ब्लिंकेनले बताएका छन् । त्यसका लागि उनी आजै टर्की पुग्दैछन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकी पहल सफलताउन्मुख भएको बताएका छन् । अरब राष्ट्रले तत्कालै युद्धविरामको माग गरिरहेको अवस्थामा अमेरिकाले भने हमास पुन: सक्रिय हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताएको छ ।
अमेरिकी विदेश मन्त्री ब्लिंकेनले जोर्डनको राजधानी अम्मानमा भनेका छन्- ‘निहत्था नागरिकको बचाउका लागि यो निर्णय निकै महत्वपूर्ण रहेकोमा अमेरिका जानकार छ । यसले विदेशी नागरिकलाइ त्यहाँबाट बाहिर ल्याउन पनि मद्दत पुग्छ नै । तत्काल युद्धविराम गर्दा हमास फेरि संगठित र सक्रिय हुने खतरा अझै छ । यो निर्णयले हमासलाइ सखाप पार्ने इजरायली योजनामा पनि असर पुग्ने भएकाले निकै संवेदनशील र सतर्क भएर निर्णय लिनुपर्ने अवस्था छ,’ उनको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ ।
युद्धविरामको माग र दबाब बढ्दै जाँदा इजरायली फौजले गाजामा हमला तीव्र पारेको छ । शनिबार गाजाबाट अन्यत्र जान चाहनेका लागि ३ घण्टाको समय दिइएपनि हमासले रोकेको आरोप इजरायली फौजले लगाएको छ।
गाजाबाट १० लाख ५० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ । तीमध्ये ७ लाख मानिस राष्ट्रसंघको आवास क्षेत्रमा रहेका छन् । राष्ट्रसंघले आवाज क्षेत्र खचाखच भएको र त्यहाँ स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएको छ । इजिप्ट जान मिल्ने राफ क्षेत्रमा विदेश नागरिकलाई प्रवेश गर्न दिइएको छैन । हमासले घाइतेहरुलाई मात्रै त्यस क्षेत्रबाट इजिप्ट पठाउने गरेको बीबीसीले उल्लेख गरेको छ।
गत साता टर्कीका राष्ट्रपति रिसेप तइप एड्रोगानले हमास मुक्ति समूह रहेको भन्दै इजरायलले हमासमाथ युद्ध अपराध मच्चाएको बताएका थिए । त्यहीँ पुगेर अमेरिकाले जटिल मानवीय संकटलाइ मध्यनजगर गर्दे माग भइरहेको युद्धविरामका लागि कुटनीतिक थालनी गर्न लागेको हो ।
अमेरिकाले इजरायलको सैन्य आक्रमणलाई आत्मरक्षा भनेको छ भने अरब मुलुकहरुले त्यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र युद्धअपराध भनेका छन् । अन्तर्राष्ट्रिय कानुन विपरीत इजरायलले सामूहिक दण्ड दिइरहेको उनीहरुको भनाइ छ ।
जोर्डनका उपप्रधानमन्त्री अयमन शफादीले इजरायलमा हमासको आक्रमण निन्दनीय भन्दै इजरायलको कारबाहीलाइ युद्धअपराध भनेका छन् । ‘इजरायली हमलाले समग्र अरबका भावी पुस्तालाई घृणाको दललमा फसाउन खोज्दै छ । अरब क्षेत्रको शान्ति र स्थायित्वमा समेत असर पर्नेगरी इजरायलले मच्चाएको सामूहिक दण्डलाई कुनैपनि हिसाबले आत्मरक्षा भन्न मिल्दैन ।’
यस्तै इजिप्टका विदेशमन्त्री समेह शुक्रीले इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकाले यसबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘वर्तमान परिस्थितिमा संयुक्त राष्ट्रसंघले कुनै पहलकदमी नलिँदा हामी स्तब्ध छौँ । अन्तर्राष्ट्रिय कानुन मिचेर इजरायलले जटिल मानवीय संकट निम्त्याएकोप्रति निष्पक्ष अनुसन्धान हुनैपर्छ’, उनको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ ।
अरब क्षेत्रमा संकट निम्तिँदा समेत अमेरिकाले कुनै पहलकदमी नलिएको भन्दै आलोचना बढ्दै गएपछि ब्लिंकेन जोर्डन पुगेर अरब मुलुकका नेताहरुसँग संवाद गरेका हुन् । अरबमा अमेरिकी प्रभाव यथावत राख्ने हो भने वर्तमान संकट समाधानका लागि उनसले तत्कालै नयाँ रणनीति अपनाउनुपर्ने माग त्यस क्षेत्रका नेताहरुले गरेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4