जब दुई देशका सरकार तथा राष्ट्र प्रमुखहरू आपसमा भेटवार्ता गर्दछन् तब उनीहरुबीच विभिन्न विषयमा साझेदारी गर्नेलगायतका कुरामा सम्झौता पनि हुने गर्दछन् ।
उच्चस्तरीय भेटवार्ता त्यो समय हो जब दुवै देशको आपसी सम्बन्धको परख पनि हुन्छ र यो संसारसामु सार्वजनिक हुन्छ । तर कहिलेकाहीँ यस्ता उच्चस्तरीय भेटवार्ताका क्रममा निकै अविश्वसनीय घटना पनि हुन्छन् ।
हालै एउटा यस्तै घटना भएको छ । आफ्नो घरपालुवा कुकुरले अर्को मुलुकका राष्ट्रपतिलाई टोकेपछि आतिथ्य मुलुकका राष्ट्रपतिले माफी माग्नु परेको छ ।
हालै अष्ट्रिया र मोल्दोभाको बीचमा यो घटना भएको हो । यो सबै घटनाको कारक तत्व चाहिं मोल्दोभाको फर्स्ट डग अर्थात् राष्ट्रपतिले पालेको कुकुर हो ।
अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर भान दर बेलेन औपचारिक भ्रमणका लागि मोल्दोभा पुगेका थिए । त्यस क्रममा उनलाई मोल्दोभाकी राष्ट्रपति माइया स्यान्डुको कुकुरले टोक्यो ।
मोल्दोभाको राष्ट्रपति भवनको परिसरमा टहलिरहेको बेला अलेक्जेन्डरले समकक्षी राष्ट्रपतिको कुकुर देखे । कुकुर प्रेमी रहेका अष्ट्रियन राष्ट्रपतिले जब उक्त कुकुरलाई सुमसुमाउनका लागि झुकेका मात्रै के थिए उनलाई कुकुरले टोकिहाल्यो।
स्थानीय मिडियाहरुले सार्वजनिक गरेको भिडियो फुटेजमा मोल्दोभाको राजधानी चिशिनाउको यात्रामा अष्ट्रियन राष्ट्रपति आफ्ना समकक्षी स्याण्डुसँगै उभिएका छन् र उनीहरुसँगै राष्ट्रपतिको कुकुर पनि छ । जब अष्ट्रियन राष्ट्रपति उसलाई मुसार्नका लागि झुक्न थाल्छन् तब उनलाई सो कुकुरले टोक्दछ ।
अष्ट्रियन राष्ट्रपतिले गत शुक्रबार यो घटनाका विषयमा आफ्नो इन्स्टाग्राम पेजमा पोस्ट गरेका छन् । उनले भनेका छन्- मलाई चिन्नेलाई थाहा छ कि मैले कुकुरलाई कतिधेरै माया गर्छु भन्ने कुरा । मैले कुकुरको उत्साहलाई बुझ्न सक्दछु । यहाँ माइया स्याण्डुले यो घटनामा माफी माग्नुभएको छ । कोड्रट नामको उहाँको कुकुर मानिसहरुको भीड देखेर डराएको उहाँले बताउनुभएको छ ।
राष्ट्रपति निवासको पाल्तु कुकुरले कुनै पाहुनालाई टोकेको यो पहिलोपटक भने होइन । गत महिना मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले पालेको जर्मन शेर्फड कुकुरले ह्वाइट हाउसका कर्मचारी तथा गुप्तचरका कर्मचारीलाई टोकेपछि त्यसलाई घर निकाला गरिएको थियो ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4