 
																			काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव सम्पन्न शनिबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा भएको महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म निर्माता सहभागी थिए ।
शनिबार दिनभर चलेको महोत्सवको उद्घाटन संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले गरेकी थिइन् । समापन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन् ।
लघु फिल्म प्रतिस्पर्धाका विजेतालाई मन्त्री शर्माले पुरस्कार प्रदान गरिन् । महिलाद्वारा निर्देशित तीनदेखि १५ मिनेट लामा फिल्म सहभागी फेस्टिभलमा अनुष्का अर्याल निर्देशित ‘सङ्कुल’ पहिलो भयो । अनिता स्याङ्बो निर्देशित ‘वर्थ’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ’नोटबुक’ले विशेष लघु फिल्मतर्फ पुरस्कार जिते ।
डेलिगेट्सको रूपमा भारतीय फिल्ममेकर आराधना कोहली कपुर, बंगलादेशकी सुमी खान, तान्जानियाकी मारियम मोहम्मद हमादी, किर्गिस्तानकी जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापक बन्दना राणा, पूर्वअध्यक्ष अनुपा श्रेष्ठ, नेपाली फिल्ममेकर प्रसुना डंगोल लगायत उपस्थित थिए । डेलिगेटबीच प्यानल छलफल भएको थियो ।
महोत्सवमा नेपाली र विदेशी गरी १३ फिल्म स्क्रिनिङ गरियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाइन्ड मुन’, तान्जानियाको ‘मुहाली’, किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायत प्रदर्शन गरियो ।
कार्यक्रम उद्घाटन गर्दै उपसभामुख रानाले फिल्मले उठाएका कथाले समाज बदल्ने क्षमता राख्ने बताइन् । उनले भनिन्, ‘कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छन् । लैङ्गिक हिंसा महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ भन्ने चलचित्र हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौं ।’
उनले भनिन्, ‘महामारीका बेला महिलामाथि थुप्रै हिंसा भए । ती हिंसाका घटनालाई फिल्ममार्फत बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाले हाम्रो समाज परिवर्तन गर्न सक्छन् ।’

मन्त्री शर्माले समाज परिवर्तनमा महिला फिल्मकर्मीको प्रयास स्तुत्य रहेको बताइन् । ‘अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यास भइरहेको देखेका छौं । चलचित्र क्षेत्रमा समाजलाई सन्देश दिने ढंगले जसरी महिला चलचित्रकर्मीले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।’

रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारको छाता संगठन इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो । नेपाली चलचित्र क्षेत्रमा रहेका रचनात्मक र सिर्जनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गरिएको फेस्टिभल निर्देशक संगीता श्रेष्ठले बताइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4