 
																						२० पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का एक महिना अघि, १८ मंसिरमा होटल बाल्टिकमा प्रवेश गरे ।
विमानस्थलको गेट बाहिर रहेको होटलमा प्रवेश गर्नु अगावै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको पिछा गरिरहेको थियो । भिजिट भिसामा नेपाली युवालाई विभिन्न मुलुक पठाउने गिरोहसँग अध्यागमन अधिकृत खड्का जोडिएका आधारहरु फेला परेको भन्दै कार्यालयका अधिकृतले उनलाई पछ्याइरहेका थिए ।
नरवीर होटलबाट बाहिर निस्किनेवित्तिकै पक्राउ परे, साथमा दुई लाख रुपैयाँ पनि बरामद भयो । भिजिट भिसामा विभिन्न मुलुक पठाउँदै आएको निमा छिरिङ ट्राभल्सका कर्मचारी पदम लामाले नरवीरका लागि त्यो रकम छाडेका थिए ।
प्रहरीले पदमसँगै निमा छिरिङ ट्राभल्सका सञ्चालक काभ्रेका मनोज तामाङ (लामा) लाई पनि पक्राउ गरिसकेको छ । उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची फेला पार्यो, जो हालसालै विभिन्न मुलुक उडेका थिए ।
‘उनी पैसा लिँदालिँदै समातिएका हुन्, मोबाइलमा विदेश पठाउनुपर्ने भनिएकाहरुको सूची पनि बरामद भयो,’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘सूचीमा भएका व्यक्तिहरु कहिले उडेका थिए भन्ने विवरण अध्यागमनसँग मागेका छौं ।’
अपराध अनुसन्धान कार्यालयका अनुसार, नरवीरसँग मिलेर निमा छिरिङ ट्राभल्सले मात्र मात्र ३०० बढीलाई भिजिट भिसामा विभिन्न मुलुक पठाएको पाइएको छ ।
रुसी सेनामा पठाउने गिरोहसँग सम्बन्ध
भिजिट भिसा सहजीकरण समितिमा रहेका नरवीरले ट्राभल एजेन्सी सञ्चालक र विचौलियाले ह्वाट्स एपमा पठाउने सूची अनुसारका मानिसहरुलाई विदेश जान सहजीकरण गरिदिने गरेको पाइएको छ ।
‘अनुसन्धानका क्रममा खड्काभन्दा अगाडि समितिमा रहेका अधिकृत ताराबहादुर कुँवरले पनि ट्राभल एजेन्सीहरुबाट लाभ दिएर युवालाई कटाउने गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘कुँवरविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ, उनको खोजी गरिरहेका छौं ।’

विमानस्थल स्रोतका अनुसार, आफूविरुद्ध अनुसन्धान भइरहेको थाहा पाएपछि उनले काज सरुवा लिएका थिए । अहिले बुबा वितेपछि उनी पश्चिम रुकुममा रहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार, अध्यागमन अधिकृतहरुले विमानस्थल कटाइदिएवापत प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म लिने गरेका थिए । ‘पुरुष भए ३० देखि ३५ हजार र महिला भए ५० हजारसम्म रुपैयाँ लिने गरेको खुलेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।
खड्काको सम्बन्ध नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहसँग पनि देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली युवालाई रुसमा पठाएको आरोपमा पक्राउ गरेका गोविन्द रिमाल (राजीव) सँग खड्का जोडिएपछि उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा पनि मुद्दा दर्ता भएको छ ।
नेपाल प्रहरीका एक पूर्वजवानलाई रुस पठाउन सहजीकरण गरिदिएवापत उनले ५० हजार रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार, पीडितलाई विमानस्थलमा पठाउनुअघि रिमालले खड्कालाई ह्वाट्स एपमा उनको विवरण पठाएका थिए । त्यसवापत रिमालले नरवीरका बहिनी भावनाको नेपाल बैंकमा रहेको खातामा पैसा जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।
नरवीरको साथबाट प्रहरीले सत्तारुढ नेकपा माओवादी निकट कर्मचारी संगठनको कार्ड समेत फेला पारेको थियो । उनी एक माओवादी नेताका ज्वाइँ समेत हुन् ।
नक्कली कागजातको अनुसन्धान गर्दा समातिएको गिरोह
भिजिट भिसामा गएका नेपाली नागरिक यूएई, थाइल्याण्ड लगायतका मुलुकमा समस्यामा पर्न थालेपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमा डेस्क राखेर जाँच गरिरहेको थियो । ब्यूरोले डेढ वर्षमा ७ हजार कागजात फिर्ता पठाएको थियो ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार, उनीहरु फेरि केही समयपछि सेटिङ मिलाएर विदेश जान थाले । त्यहीबेला अध्यागमन कार्यालयले पनि आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गरेको भनेर प्रश्न उठाउन थालेपछि मानवबेचबिखन अनुसन्धान ब्यूरोको टोली फर्कियो ।
त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले यो मामलामा जाँच थाल्यो । त्यसक्रममा १५ भदौदेखि २७ मंसिरसम्म संकलित १ हजार ५१३ शंकास्पद राहदानी विमानस्थल प्रहरीले छानबिनका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयलाई बुझायो ।
कार्यालयले गरेको छानबिनका क्रममा २४६ वटा कागजात नक्कली फेला पर्यो । भिजिट भिसामा जानका लागि आवश्यक पर्ने कक्षा १२ उत्तीर्ण गरेको प्रमाण पत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्टदेखि बैंक स्टेटमेन्टसम्म नक्कली फेला परेको थियो ।
‘नक्कली कागजातको आधारमा अनुसन्धान गर्दै जाँदा यसमा अध्यागमन अधिकृतसम्मको संलग्नता फेला परेको हो’, कार्यालयका एक अधिकृतले भने, ‘सुरुमा कन्सल्टेन्सी सञ्चालकहरुलाई पक्राउ गरेर थालेको अनुसन्धान कर्मचारीसम्म पुगेको हो ।’ हालसम्म यो प्रकरणमा ३७ जना पक्राउ परेका छन् ।
अध्यागमनका कर्मचारीमाथि अनुसन्धान सुरु भएपछि प्रहरीमाथि अनुसन्धान रोक्न दबाब बढेको स्रोत बताउँछ । प्रहरीले विमानस्थलमा आएर यात्रुको कागजात जाँच गरी कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै अध्यागमनका कर्मचारीले बिहीबार केहीबेर काम रोकेका छन् । ‘काम गर्ने वातावरण नभएको’ भन्दै उनीहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
‘यात्रुको राहदानी र भिसाको चेकजाँच गर्ने कानूनी अधिकार अध्यागमन अधिकृतलाई मात्र भएको अवस्थामा नेपाल प्रहरीबाट विमानस्थलको मुख्यद्वारमा समय–समयमा कहिले मानव बेचबिखन ब्यूरोको नाममा त कहिले अन्य युनिटबाट समानान्तर प्रकृतिको अध्यागमनको झल्को दिने गरी सेवाग्राहीलाई सोही विन्दुबाट फिर्ता पठाउँदा अध्यागमन बदनाम हुने गरेको छ’, ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझेपछि गृहमन्त्री श्रेष्ठले भने यो विषयमा प्रहरी अधिकृतहरुलाई बोलाएर कुरा गर्ने बचन दिएका छन् ।
प्रहरी र वायुसेवा नियमका कर्मचारी पनि जोडिए
उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने गिरोहमा प्रहरीको समेत संलग्नता देखिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत जीवराज तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । यद्यपि, उनी अदालतमा धरौटी बुझाएर छुटेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, प्रहरीले लिखत कीर्तेको कसुरमा ३० वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको थियो ।
अनुसन्धान अधिकृतहरुका अनुसार, उनले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर ५ लाख रुपैयाँ लिएर एक व्यक्तिलाई विदेश पठाउन लागेका थिए । श्रेष्ठको बयानमा तामाङको नाम खुलेपछि उनी पक्राउ परेका थिए ।

जागिरबाट स्वेच्छिक अवकाश रोजेका जवान ज्ञानेन्द्र खड्का पनि यसमा मुछिएका छन् । उनीहरुले प्रतिव्यक्ति ५ देखि १० हजार रुपैयाँसम्म लिने गरेको पाइएको अनुसन्धान अधिकृतहरुको दाबी छ ।
स्रोतका अनुसार, भिजिट भिसामा पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा एक जना प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि समेत छानबिन भइरहेको छ । स्रोतका अनुसार, उनको एक ट्राभल एजेन्सीका सञ्चालकसँग सम्बन्ध देखिएको छ ।
प्रहरीले नेपाल वायु सेवा निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, छैठौं तहका होम पोखरेलसहित १४ जना कन्सल्टेन्सीसँग जोडिएका व्यक्तिहरुलाई कानूनी दायरामा ल्याएको छ । नेपाल वायु सेवा निगमका कर्मचारीले पनि प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म लिएको पाइएको अधिकृतहरु बताउँछन् ।
 
                









 
                     
                                     
                                 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4