+

एपीएफमाथि कर्णालीको रोमाञ्चक जित, हारसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल

२०८० माघ  १७ गते १५:५६ २०८० माघ १७ गते १५:५६
एपीएफमाथि कर्णालीको रोमाञ्चक जित, हारसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल

१७ माघ, काठमाडौं – ओपनर आसिफ शेखको शतकका बावजुद प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लब कर्णाली प्रदेशसँग पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा २१ रनले पराजित भएसँगै एपीएफ शीर्ष ४ मा पर्न असफल भएको छ ।

यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्ने भएका छन् ।

कर्णालीले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक विभागीय टोलीलाई हराएको हो ।

जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अल आउट भयो । एपीएफलाई जितको लागि ४२ बलमा २२ रन चाहिएको थियो । तीव्र गतिका बलर प्रकाश जैसीले ४ बलमा तीन विकेट लिँदै रोमाञ्चक जित दिलाए ।

तेस्रो बलमा चन्दन रामलाई १ रनमा क्याच आउट गराए । अर्को बलमा मौशम ढकाल बोल्ड भए । अन्तिम बलमा रमेश कुर्मीलाई बोल्ड गर्दै ऐतिहासिक जित दिलाए ।

एपीएफका ओपनर आसिफ शेखले ११६ बलमा १० चौका र २ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन । उनको प्रधानमन्त्री कपमा दोस्रो शतक हो । यसअघि २०२२ मा कर्णालीविरुद्ध नै १३० रन बनाएका थिए ।

एक समय ९२–६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले ८७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । अमर ७१ बलमा १ छक्कासहित २८ रनमा नट आउट रहे ।

लोकेश बम ११, सुमित मजर्हन ९,रोहित पौडेल १४, सन्दीप जोरा २ र भुवन कार्की ३ रनमा आउट भए ।

कर्णालीका प्रकाश जैसीले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्र रावत र युनिस सिंहले २-२ विकेट लिए । दीनेश अधिकारी र दिवान पुनले १-१ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णली ४४.१ ओभरमा २०६ रनमा अल आउट भएको थियो ।

कर्णालीको जितमा मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले । अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

एक समय ३०–३ को अवस्थामा पुगेको कर्णालीलाई हिमान्शु र अर्जुनले १११ रनको शतकीय साझेदारी गरेका थिए । टियु एन्डबाट आएका तीव्र गतिका बलर अमरसिंह राउटेला २८ औं ओभरको दोस्रो बलमा टप एज लागेर थर्डम्यानमा उनी रमेश कुर्मीबाट क्याच आउट भए ।

त्यसअघि कर्णालीका ओपनर निश्चल रावल स्पिनर रमेश कुर्मीको बलमा ६ रनमा एज लागेर आसिफ शेखबाट क्याच आउट भएका थिए । राजेश खड्का १ रनमा रन आउट भए ।

रविन्द्रजंग शाही ३० बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भएका थिए । दीपेन्द्र रावत २४ बलमा १ चौका र ३ छक्कासहित २७ रनमा आउट भए । दीनेश अधिकारी १९ बलमा ४ चौकासहित १९ र प्रकाश जैसी १० रनमा आउट भए ।

कर्णालीबाट हिमान्शु ७, रविन्द्र १, अर्जुन र दीपेन्द्रले ३–३ गरि कुल १४ छक्का हानेका थिए ।

एपीएफका मौशम ढकालले ९ ओभरमा २ मेडनसहित ३२ रन खर्चेर ३ विकेट लिए । अमर राउटेलाले ७.१ ओभरमा ४० रन खर्चेर २, भुवन कार्की र रमेश कुर्मीले १–१ विकेट लिए ।

फाइनलमा पुग्न आर्मीले गण्डकीलाई हराउनु पर्ने

पुलिस ७ खेलमा १४ अंकका साथ शीर्ष स्थानमा छ । आर्मी ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । आर्मीले अन्तिम खेल बिहीबार गण्डकीसँग खेल्नेछ । उक्त खेलमा आर्मी विजयी भएमा पुलिससँग फाइनल खेल्नेछ ।

आर्मी पराजित भएको खण्डमा बागमतीसँग नेटरनरेटमा भरपर्नुपर्ने हुन्छ । बागमती ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

मधेश ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा रहँदै इलिट ट्रफी खेल्ने भएको छ । एपीएफ भने ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष चारमा पर्न नसकेपछि साविक विजेता एपीएफले इलिट ट्रफी पनि खेल्न नपाउने भएको छ ।

प्रधानमन्त्री कप क्रिकेट हिमान्शु शाही
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय